नेभिगेशन
नेपाल समाचार

प्रत्यक्षमा महिला निर्वाचित संख्या कम भएपछि दलहरुको टाउको दुखाई - अब मिलाउने कसरी ?

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा महिला उम्मेदवार विजयी नभए पछि अब संविधानमा रहेको संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधान के हुने भन्ने विषयमा चर्चा शुरु भएको छ । एक त उम्मेदवारी नै कम त्यस माथि उम्मेदवारी दिएकाबाट पनि निकै कम निर्वाचित भएपछि अब ३३ प्रतिशत महिला प्रतिनिधित्व कसरी पुर्याउने भन्ने विषय दलहरुको टाउको दुखाइ बनिसकेको छ ।

नेपाली कांग्रेसका तर्फबाट एक जनामात्र महिला प्रत्यक्षबाट निर्वाचित भएर संसदमा आउनुभएको छ । तेह्रथुम जिल्लाबाट निर्वाचित कांग्रेस केन्द्रीय सदस्य सिता गुरुङ कांग्रेसबाट प्रत्यक्ष निर्वाचन लडेका पाँच जना मध्ये एक मात्र महिला नेत्री बन्नुभएको छ । कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा कुल ९१ उम्मेदवार उठाएको थियो । उता नेकपा एमालेले १ सय ४१ सिट मध्ये ११ महिला उम्मेदवार उठाएकोमा तीन जना मात्रै निर्वाचित भए भने माओवादीले ४६ स्थानमा उम्मेदवारी दिँदा १ जना मात्रै निर्वाचित हुनुभयो ।  

यस्तै १ सय ३१ क्षेत्रमा उम्मेदवारी दिएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले १२ महिलालाई उम्मेदवार बनाएकोमा दुई जना मात्रै विजयी भए । सत्तारुढ दल माओवादीबाट दाङ क्षेत्र नं २ बाट रेखाशर्मा, एमाले बाट धनुषा क्षेत्र नम्बर ३ मा जुली कुमारी महतो, बारा क्षेत्र नम्बर ३ मा ज्वालाकुमारी साह र कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराई निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम र ललितपुर क्षेत्र नम्बर ३ मा तोसिमा कार्की तथा कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले विजय हासिल गर्नुभएको छ ।

निर्वाचनमा २ हजार ४ सय १२ उम्मेदवारमध्ये २ सय २५ जना महिला थिए । त्यसमध्यपनि अहिले सम्मको परिणाम अनुसार ८ जनाले मात्र विजय हासिल गर्न सफल भएका छन् ।

प्रत्यक्षतर्फ कम महिला निर्वाचित हुँदा संसद्मा महिला प्रतिनिधित्व विगत भन्दापनि कमजोर हुन सक्ने संभावना बढेको छ । प्रत्यक्ष तर्फ कम संख्या निर्वाचित भएकाले त्यसको दवाव अव समानुपतिक निर्वाचन प्रणालीमा पर्नेछ । जसले गर्दा समानुपातिकतर्फ सीमान्तकृत समुदायका पुरुषले समेत अवसर नपाउने सम्भावना बढेको छ ।

अझ ३ प्रतिशत थ्रेसहोल्ड पार नगर्ने दलको हैसियत स्वतन्त्र सरह हुने भएपछि अबको प्रतिनिधि सभामा महिला उपस्थिति निकै कम हुने अहिले नै अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्