नेभिगेशन
आमनिर्बाचन २०७९

मधेश प्रदेश सभा निर्वाचनमा मन्त्री पराजित; नयाँ अनुहार विजयी

काठमाडौं । मधेस प्रदेश सभामा यस पटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा चयन गरेका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व यस पटक मधेस प्रदेशसभा देखिने भएको छ।
प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ र समानुपातिक ४३ गरी जम्मा एक सय सात प्रदेशसभा सदस्य चुनिने छन् । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनः दोहोरिनुभएको छ भने केहि मन्त्री भउसक्नुभएकाहरु पराजित हुनुभएको छ । विसं २०७४ मा निर्वाचित भई प्रदेशका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका केही मन्त्रीहरू भने यसपटक पराजित हुनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हुँदै हाल अर्थमन्त्री रहेका शैलेन्द्र साह सप्तरी–२ प्रदेशसभा (१) बाट पराजित हुनुभयो ।

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहनुभएका योगेन्द्र राय यादव पनि पराजित हुनुभएको छ । उहाँ रौतहट–१ प्रदेशसभा (२) मा उम्मेदवार हुनुहुन्थ्यो । प्रदेश मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर निर्वाचनमा होमिएका दीपेन्द्र झाले पनि पराजय व्यहोर्नु परेको छ ।

पहिलो अनुभव लिनेको सङ्ख्या पनि उल्लेख्य छ । मुख्यमन्त्री लालबाबु राउत फेरि दोहोरिनुभएको छ । उहाँ जनता समाजवादी पार्टी (जसपा) का राउत पर्सा–१ को प्रदेशसभा (२) बाट निर्वाचित हुनुभएको छ ।

कांग्रेस नेता रामसरोज यादव धनुषा–३ को प्रदेशसभा (१) बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत भइसक्नुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल पनि  बारा–४ प्रदेशसभा (२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको छ । सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री  भइसक्नुभएको छ ।

पर्सा–२ को प्रदेशसभा (२) बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित हुनुभएको छ । विसं २०७४ को निर्वाचनमा कुर्मी तत्कालीन राजपाबाट निर्वाचित हुनुभएको थियो । पर्साकै अर्को क्षेत्र–४ प्रदेशसभा (१) बाट कांग्रेसका शङ्करप्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । रौतहट–४ प्रदेशसभा (२) बाट जसपाका शेषअबुल कलाम आजाद पनि दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

यसैगरी, सर्लाहीबाट चारजना प्रदेशसभा सदस्य दोस्रो पटक निर्वाचित हुनुभएको छ । सर्लाही–१ प्रदेशसभा (१) बाट लोसपाका उपेन्द्र महतो, १ प्रदेशसभा (२) बाट वेंची लुङेली, ३ प्रदेशसभा (२) बाट जसपाका सञ्जयकुमार यादव र ४ प्रदेशसभा (१) बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ । कांग्रेसका सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीसमेत भइसक्नुभएको छ ।

त्यस्तै महोत्तरी–३ प्रदेशसभा (१) मा लोसपाबाट उम्मेदवार बन्नुभएका अभिराम शर्मा र ३ को प्रदेशसभा (२) बाट रानी शर्मा पुनः निर्वाचित हुनुभएको छ । धनुषा–२ प्रदेशसभा (२) मा जसपाका रामाशिष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सप्तरी–३ प्रदेशसभा (१) मा कांग्रेसका मोहमद समिम पनि दोस्रो पटक निर्वाचित हुनुभएको छ । 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्