नेभिगेशन
नेपाल समाचार

काठमाडौँ १मा प्रकाशमान बिजयी

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आउनुभएको छ ।

नेता सिंहको यो त्यस क्षेत्रबाट चौथो जीत हो । यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गर्नुभएका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री हुनुभएको थियो ।

सिंहले यस निर्वाचनमा सात हजार एक सय ४० मत ल्याएर विजयी हुनुभएको हो । सिंह उहाँका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा एक सय २९ मतले अगाडि रहँदै निर्वाचित हुनुभएको हो । मिश्रले सात हजार ११ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्