नेभिगेशन
नेपाल समाचार

आज मतदान

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तरगत आज मतदान हुदैछ । अहिले विहान ७ बजे देखि देशभर रहेका सबै १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै साथ मतदान शुरु भएको हो । मतदाताहरुले अपरान्ह ५ बजेसम्म आफ्नो मत खसाल्न सक्नेछन् । यसका लागि उनीहरुले आफ्नो मतदाता सूचीमा नाम रहेको निर्वाचन क्षेत्रमा गई भोट हाल्न पाउनेछन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा ती परिचयपत्रको सक्कलप्रति लिएर मतदान गर्न सक्नेछन् ।

बाइस हजार दुई सय २७ मतदान केन्द्र

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै हुनुहुन्छ । यसैगरी एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायकपर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नुहुनेछ ।

निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

प्रदेशसभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुुहुन्छ भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।

यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड छ लाख पाँच हजार गरी कूल आठ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ ।

सात हजार दुई सय १९ पर्यवेक्षक

निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट सात हजार दुई सय सात र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना जरी सात हजार दुई सय १९ जनाले पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको तीन सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नुहुनेछ । आयोगले हालसम्म करिब सात हजार पाँच सयलाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ ।

आयोगको निमन्त्रणामा भारत, भूटान, बङ्गलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलङ्का र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको निर्वाचन व्यवस्थापन गर्ने निकायको टोली मतदानको दिनको अवलोकन गर्न आउनुहुने भएको छ । नेपालस्थित १८ वटा कूटनीतिक नियोगबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्