नेभिगेशन
आमनिर्बाचन २०७९

निर्वाचनमा खटिने कर्मचारीलाई प्रमुख निर्वाचन आयुक्तको विशेष निर्देशन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी कुनै पनि किसिमको आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक ढंगले निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिनुभएको छ । उहाँले मतदान तथा मतगणनाको कार्यलार्इ मर्यादित र व्यवस्थित बनाउने सङ्कल्प गर्न अनुरोध गर्नुभयो साथै संविधान, प्रचलित ऐन, कानून, आचारसंहिता, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्णरूपमा पालना गर्न निर्देशन दिनुभएको हो ।

निर्वाचनमा खटिएका कर्मचारीले गरेको काम आयोग स्वयमले गरे जस्तो हुँदा कर्मचारी आफू व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी कार्य सम्पादन गर्न उहाँले निर्देश दिनुभएको छ । निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की आउन सक्ने भएकाले सचेत रही निष्पक्ष रुपमा काम गर्न समेत निर्दिष्ट गर्नुभएको छ।
निर्वाचन केन्द्रहरुमा निर्वाचन सामग्रीको समुचित सदुपयोगको सुनिश्चितता गर्ने र साथै कसैले अवाञ्छित कार्य गर्न खोज्यो भने कानूनबमोजिम प्रतिकार गरी कदापि यस्ता कार्यको मतियार नबन्न समेत निर्देशन दिनुभएको हो ।

मतदान तथा मतगणनासम्बन्धी विवाद निरूपण गर्दा पक्षहरुबाट पर्नसक्ने प्रभावबाट स्वतन्त्र रही समाधान गर्न आग्रह गर्दै उहाँले राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा नपर्न समेत भन्नुभएको छ ।मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, नागरिक समाज मिडियाकर्मी मतदातालगायत सबैप्रति आदरभाव र समान व्यवहार गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

यो सँगसँगै आयुक्त थपलियाले सम्पूर्ण राजनैतिक दलहरु, उम्मेदवार तथा राजनैतिक दलका कार्यकर्ताहरुलार्इ पनि संयमित भइ मर्यादापूर्ण ढंगले निर्वाचन सुसम्पन्न गर्न सहयोग गर्न अनुरोध गर्नु भएको छ । निर्वाचन आचारसंहिता पूर्ण रुपले पालना गर्न गराउन आग्रह गर्नुभएको छ।
मतदाताहरुलाइ पनि निसंकोच तोकिएको मतदान केन्द्रमा गइ बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न अनुरोध गर्नुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्