नेभिगेशन
आमनिर्बाचन २०७९

प्रमुख निर्वाचन आयुक्तसँग प्रधानसेनापतिको भेटवार्ता

काठमाडौं । यही मंसिर मङ्‍सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा आज नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग भेटवार्ता गर्नुभएको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।

सो अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीहरूको जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्रीहरू एवं खटिएका कर्मचारीहरूसमेत पु-याउन नेपाली सेनाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भनी सराहना गर्नुभयो ।

सो अवसरमा निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुन शम्सेर जबराको उपस्थिति रहेको थियो । उहाँहरूले निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना र निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको र आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्