नेभिगेशन
LEADING_MAIN

स्थिर समय आज मध्यरातबाट; उम्मेदवार अन्तिम प्रचारमा

काठमाडौं- आम निर्वाचनको मिति मंसिर ४ गते आउन अब ३ दिनमात्र बाँकी छ । निर्वाचन ऐनमा भएको व्यवस्था अनुसार राजनीतिक दल र तिनका उम्मदवारहरुले आज मध्यरातिबाट स्थिर समयको पालना गर्नुपर्नेछ र निर्वाचन लक्षित कुनै पनि किसिमका प्रचार प्रसार गर्न पाउने छैनन् । मौन अवधि समेत भनिने निर्वाचनको स्थिर समय बिहिबार मध्यरातिबाट लागू हुदैछ । यस अवधिमा ऐन र आचार संहिता प्रतिकुल हुने गरि कुनैपनि किसिमका गतिविधि नगर्न आयोगले सचेत बनाएको छ ।

आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदातालाई आफूले रोजेको र खोजेको उम्मेदवारकाबारेमा शान्तसंग सोच्न र निर्णय लिन सहयोग पुगोस भन्ने अभिप्रायले स्थिर समयको व्यवस्था गरिएकोले यसको पालना गर्नु सबै राजनीतिक दल, उम्मेदवार सहित सबैको कर्तव्य भएको बताउनुभएको छ ।

मौन अवधि लागू हुने स्थिर समयमा निर्वाचन प्रचार प्रसार गर्न नपाइने, गरेका प्रचार प्रसार पनि सार्वजनिक स्थानबाट हटाउनु पर्ने, सामाजिक सञ्जाल लगायतबाट प्रचार गर्न, पोष्टहरु शेयर र लाइन गर्न एवम् फर्वार्ड गर्न नपाइने लगायत व्यवस्था छ । यसको उल्लङ्घन गरे कानूनी कारबाही हुने तर्फ पनि आयोगले सचेत बनाएको छ । त्यसैले उम्मेदवार र राजनीतिक दलहरु अन्तिम चुनावी प्रचारमा कस्सिएर लागिरहेका छन् ।

यसअघी आयोगले १७ दिन आमसभा कोणसभा लगायत समेत गर्न पाउने गरी बिहिवारसम्म प्रचारका लागि समय दिएको थियो । त्यसअघि पनि दल र उम्मेदवारहरुले सानो संख्यामा घरदैलो अभियान गरेका थिए ।

यसैबीचमा स्थिर समय शुरु हुनै लाग्दा र मतदानको मिति नजिकिदै जाँदा निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । आयोगले मतदानस्थलहरुको पनि निर्धारण गरि सकेको जनाएको छ । आयोगले एक सय वटा अपाङ्ग मैत्री र कारागारमा रहेका कैदीबन्दीहरुलाई समेत मतदान गर्न सक्ने ब्यवस्था गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित बातावरणमा सम्पन्न गर्न सवै प्रबन्ध भइसकेकोले तोकिएको मतदान स्थलमा गई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई निर्वाचन आयोगले आग्रह गरे‍को छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्