नेभिगेशन
आमनिर्बाचन २०७९

झापा १ मा विश्वप्रकाश र अग्नीबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ ।

चुनावलाई आफ्नो पक्षमा पार्न उहाँहरु घरदैलोमा व्यस्त हुनुहुन्छ । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बन्नुभएको छ । उहाँहरु सहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । ती मध्ये तीन जना स्वतन्त्र उम्मेदवार छन् ।

दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोग्नुभएका शर्मा तेस्रोपटक चुनावी मैदानमा हुनुहुन्छ भने एमाले स्थायी कमिटी सदस्य खरेल आफ्नो गृहक्षेत्र झापा–२ भए पनि झापामा इन्ट्री गर्नुभएको छ । संसद् छिर्ने प्रयासलाई मूर्तरुप दिन जनताको ‘म्याण्डेड’का लागि शर्मा र खरेल दुवै अहोरात्र खटिरहनुभएको छ ।


शर्मा र खरेल दुवैले स्थानीय अवस्था, आवश्यकता र केन्द्रीय घोषणापत्रलाई आधार बनाएर प्रतिबद्धता जनाइरहनुभएको छ ।
महामन्त्री शर्मा सुकुम्बासी समस्या समाधान, पुल निर्माण, नदी कटान नियन्त्रण, पर्यटकीय केन्द्रका स्तरीकरण, झापा–१ जोड्ने रिङरोड निर्माणलगायतका स्थानीय विकास र चासोको विषयलाई समेट्ने मतदातासमक्ष प्रतिबद्धता जनाउँदै हुनुहुन्छ ।

पदमा नरहँदा पनि झापा क्षेत्र नं १ को सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रमा काम गरेको शर्माको भनाइ छ । संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन अपिल गर्नुभएको छ ।

एमाले–राप्रपा तालमेलका उम्मेदवार खरेलले आफू जहिले विकास र निर्माणको संसदीय प्रक्रियामा आफू गाँसिएको बताउनुहुन्छ ।

मेची, निन्दा, हडियाखोलमा बर्सेनि आउने बाढीले त्यहाँका स्थानीय समस्यामा पर्ने भएकाले तटबन्धन निर्माण गर्न आफू प्रतिबद्ध रहेको खरेलको भनाइ छ ।

। दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहे पनि परिणाम आफ्नो पक्षमा पार्न त्यति सहज भने छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्