नेभिगेशन
व्यक्ति/व्यक्तित्व

मेमोरी किङको विश्व कीर्तिमानी यात्रा

काठमाडौं । ‘मेमोरी किङ’का नामले परिचित अर्पण शर्मा (कट्टेल) आफ्नो स्मरणशक्तिको लागि विश्वमै चिनिनु भएको छ । झापाको भद्रपुर–८ मा विसं २०४६ माघ २३ गते मोहनप्रसाद कट्टेल र आमा खीना शर्माको तेस्रो सन्तानका रूपमा जन्मिनुभएका शर्माले झापाबाटै स्नातकसम्मको अध्ययन पुरा गर्नुभएङ्को छ । जीवनमा स्मरणशक्तिकै प्रयोग गरेर विश्व रेकर्ड राख्न सक्छु भन्ने कल्पना उहाँले गर्नुभएको थिएन ।
सानैदेखि धार्मिक परिवारमा जन्मिएका शर्मालाई पूजापाठ गर्दा ध्यान गर्ने बानी परेको थियो । तर स्मरणशक्ति बढाउन ध्यानले मद्दत गर्छ भन्ने चाहिँ थाहा थिएन । “मैले दशजोड दुई पढ्दा एउटा दुई मिनेटको भिडियो हेरेको थिएँ, स्मरणशक्ति बढाउनेसम्बन्धी थियो”, उहाँले त्यो भिडियो स्मरण गर्दै सुनाउनुभयो, “दशवटा रटेर गर्ने र दशवटा टेक्निक लगाएर याद गर्ने थियो, मैले त्यो रटेर गर्ने तरिका र टेक्निक लगाएर गर्ने दुवै गरेँ, तर टेक्निक लगाएर याद गरेको धेरै लामो समयसम्म याद आइरहयो ।” उहाँले त्यसपछि १५, २०, ३० हुँदै याद गर्दै जानुभयो । उहाँले यस्तो सम्भव छ भनेर अध्ययन गर्दा १८औँ शताब्दीदेखि नै राजा–महाराजाका बौद्धिक सल्लाहकारले यस्तो टेक्निक प्रयोग गरेको अध्ययनमा पाउनुभयो । “धेरै वर्ष पहिला अहिलेजस्तो प्रविधिको जमाना थिएन”, उहाँले थप्नुभयो, “लेख्ने मात्र जमाना थियो, जसले प्रयोग गरे, त्यो व्यक्तिमा मात्र रह्यो ।” प्रत्येक व्यक्ति जन्मँदा स्मरणशक्ति ९९ प्रतिशतको उस्तै हुने तर एक प्रतिशतको मात्र जन्मजात नै स्मरणशक्ति लिएर जन्मने उहाँको अनुभव छ ।

साथीहरूसँग व्यवस्थापन विषयमा अध्ययन गर्दैगर्दा साथीहरूबीच स्मरणशक्तिको प्रतिस्पर्धा गर्ने कुरा चल्यो । पहिलोपटक ३०–३० वटा शब्द याद गर्ने सहमति भयो । “मैले सबैभन्दा छिटो याद गरेँ तर, साथीहरूलाई धेरै समय लाग्यो”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “यो तरिकाले विश्व रेकर्ड राख्न सकिन्छ भनेर साथीहरूले भने, हेर्दै जाँदा एक मिनेटमा २२ वटाको रेकर्ड थियो, मलाई अहिले नै सक्छु जस्तो भयो, अनि प्रक्रिया अगाडि बढाइयो ।”

प्रक्रिया अगाडि बढाउँदा केही समय लाग्यो । शर्माले पहिलोपटक गिनिजबुक अफ वल्र्ड रेकर्डको सेप्टेम्बर २६, २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरी स्मरणशक्तिमा विश्व कीर्तिमान कामय गर्नुभएको थियो । दोस्रोपटक जुन ३, २०२२ मा एक मिनटमा ८३ वस्तुको क्रम स्मरण गरी स्मरणशक्तिमा विश्व कीर्तिमान कायम गर्नुभएको हो । झापाको भद्रपुर सानोगाउँमा जन्मिएका सामान्य परिवारमा हुर्किएका शर्मालाई जीवनमा यति राम्रा मोड आउँलान् भन्ने लागेको थिएन ।

अद्भुत स्मरणशक्ति भएका शर्माले गिनिजबुक अफ वल्र्ड रेकर्डमा कीर्तिमान कायम गरेपछि उहाँ विश्व चर्चित हुनुभयो ।

आफ्नो अद्भुत स्मरणशक्तिको प्रयोगकै कारण उहाँले धेरै पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा पुरस्कार–२०७२, नेपाल जेसिस वर्ष, २०७६ को उत्कृष्ट युवा पुरस्कार, स्वर्ण पदकद्वारा पुरस्कृत हुनुभएको थियो । त्यस्तै युवा प्रतिभा सम्मान, २०७८ प्राप्त गर्नुभएको थियो ।

हिमालय इन्टरनेशनल अवार्ड, २०७८, विश्व कीर्तिमानी युवा प्रतिभा तथा समाजसेवी सम्मान–२०७८, युवा प्रतिभा सम्मान–२०७८, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाद्वारा वर्ष उत्कृष्ट प्रतिभा–२०७४ प्राप्त गर्नुभएको छ ।

उहाँको जीवनी र सफलताको कथालाई अष्ट्रेलियाको एक प्रतिष्ठित विश्वविद्यालयले साउथेन क्रस युनिभर्सिटीले सन् २०२० जुनमा आफ्नो ब्लगमा पनि सम्मानजनक स्थान दिएर लेखेको थियो । राससको सहयोगमा ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्