नेभिगेशन
आमनिर्बाचन २०७९

कर्णालीका मतदाता भन्छन्ः ‘नेता ज्यू ! नमस्कार गर्न नआउँदा हुन्छ’

काठमाडौं । आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन अब ठीक एक साता बाँकी छ । यस चुनावमा कर्णाली प्रदेशका १० जिल्लाको प्रतिनिधिसभा सदस्यको १२ सिटमा ७६ र प्रदेशसभा सदस्यको २४ सिटका लागि एक सय १६ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

चुनावको दिन नजिकिँदै गर्दा सबै दलका उम्मेदवारहरु आफ्नो जितका लागि मतदाताका घरदैलो गरिरहेका छन् । उनीहरु त्यसमा मात्र सीमित नभएर धारापँधेरा र खेतबारीसम्म पुगेर मतदातासँग भोट मागिरहेका छन् ।

उम्मेदवारहरु निकै जोशका साथ चुनावी प्रचारप्रसारमा लागे पनि मतदातामा त्यस्तो उत्साह देखिँदैन । विभिन्न दलसम्बद्ध उम्मेदवारले जिल्लाका आकर्षक ठाउँमा आमसभा गरिरहँदा मतदाता खेतबारीमै काम गर्न व्यस्त छन् । यतिबेला धान थन्क्याउन किसान व्यस्त छन् ।

सूचना र प्रविधिको तीव्र विकासले होला, एकदशकदेखि अधिकांश नागरिक विभिन्न सञ्चार माध्यमले प्रवाह गर्ने समाचार र सामाजिक सञ्जालबाटै विभिन्न दल, नेता, व्यक्ति र उनीहरुले गरेका कामका बारेमा सहजै जानकारी राख्दछन् । चुनावका बेला दल तथा उम्मेदवारहरुले सार्वजनिक गर्ने घोषणापत्र, प्रतिबद्धता र दिने आश्वासन कागजमा होइन, उनीहरुले मस्तिष्कमै कैद गरेको पाइन्छ ।

एकातिर नागरिकमा राजनीतिक चेतनास्तर वृद्धि हुँदै जानु अर्कोतिर चुनावका बेला प्रतिबद्धता व्यक्त गर्दै भएभरका आश्वसन दिएर चुनाव जितिसकेपछि सिन्को नभाँच्ने नेताहरुको प्रवृतिप्रति मतदाताहरुको चरम वितृष्णा नै छ । चुनावी नारा, भाषण, आश्वासन दिने संस्कारप्रति उनीहरु राम्रैसँग परिचित भएका छन् ।

व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न कुनै पनि नेतृत्व सही काम नगरेकोप्रति मतदाताको आक्रोश छ । संविधान र सङ्घीय व्यवस्था राम्रो लाग्दा लाग्र्दै त्यसको सही व्यवस्थापन एवं कार्यान्वयन हुन नसकेकाले भुइँ मान्छेहरुका आधारभूत आवश्यकता परिपूर्ति भएका छैनन् । हिजो जितेकाहरुको पाँच वर्षीय अवधि सकिएपछि यो चुनावमा फेरि भोट माग्ने नेताहरु भने घरदैलो गर्दैछन् ।

गठबन्धन दल, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सबै दलका उम्मेदवारहरु मतदाता कहाँ पुग्ने गरेका छन् । कर्णालीमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका १५ दल यतिबेला चुनावी मैदानमा छन् ।

दलहरुको चुनावी प्रचारशैली विगतभन्दा खासै फरक देखिँदैन । उनीहरुका घोषणापत्र, प्रतिबद्धता र वाचाप्रति मतदाताले विश्वास गर्न छोडेका छन् । भोट माग्नैका लागि मात्र यो समयमा घरदैलो तथा खेतबारीमा पुगी नमस्कार गर्ने उम्मेदवारलाई भने मतदाताहरुले तीतो महसुस गर्ने गरी जवाफ दिएर फर्काउने गरेका छन् ।

पश्चिम सुर्खेतको अत्यन्तै विकट मानिने चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिकाका मतदाता अमर सारु मगरले घर तथा खेतबारीमा आएर नमस्कार गर्न आउने उम्मेदवारलाई नमस्कार नगरेरै उत्तैबाट फर्कन सुझाव दिनुभएको थियो । उहाँ जस्तै धेरै मतदाताहरु चुनावका बेला आएर नमस्कार गर्ने नेताहरुको नमस्कार खाएर केही नहुने बताउँछन् ।
राप्रपा नेपालबाट सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएका भीमबहादुर शाहीले मतदातालाई उम्मेदवारप्रति कुनै मतलब नभएको बताउनुभयो । उहाँका अनुसार चुनावलाई मात्र केन्द्रित गरेर घरमा आउने र नमस्कार गर्ने भन्दै आफूजस्ता थुप्रै उम्मेदवारलाई ठाडै अस्वीकार गरेका थिए ।

शाहीले भन्नुभयो, “हामी नमस्कार गर्दै भोट माग्न मतदाताहरुको घरदैलोमा पुग्यौँ तर उहाँहरुले नेताज्यू ! नमस्कार नगर्दा हुन्छ भन्दै ठाडो जवाफ दिनुभयो ।” मत माग्न जाँदा उम्मेदवारप्रति उनीहरुको दृष्टिकोण नै आक्रोशपूर्ण भाव देखिएको उहाँले बताउनुभयो । विगतका उम्मेदवारले गरेका वाचा र प्रतिबद्धता पूरा नगरेपछि अहिले त्यसको सजाय आफूजस्ता नयाँ उम्मेदवारहरुले भोग्नुपरेको उहाँले दुखेसो गर्नुभयो ।

शाहीका अनुसार मतदाताहरुले नयाँ उम्मेदवार जितिसकेपछि त्यही ‘सड्या आलु त हुन्या’ होलान् भनेर प्रतिप्रश्न गर्ने गर्दछन् । सामान्य नागरिकहरु आफ्ना आधारभूत आवश्यक परिपूर्ति गर्ने नेतृत्व भइदिए हुन्थ्यो इच्छा व्यक्त गर्दछन् । राजनीति बुझेका कार्यकर्ताहरु आफ्नै दलबाट पीडित भएको अभिव्यक्ति दिन्छन् । - राससबाट साभार

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्