नेभिगेशन
अन्य

ब्रिजबेनको नेपाल महोत्सव नोभेम्बर १३ मा

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया क्विन्सल्याण्ड राज्य समितीको आयोजनामा ‘नेपाल महोत्सव २०२२’ आउदो नोभेम्बर महिनाको १३ तारिखमा हुने भएको छ । नेपाल फेस्टिभलको तयारीका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नोभेम्बर १३ तारिख (आइतबार) का दिन ब्रिजबेन शहरको मध्यभागमा रहेको किंगस जर्ज स्क्वायरमा महोत्सवको आयोजना हुने क्वीन्सल्यान्ड राज्य समितीका संयोजक बिनोदभक्त आचार्यले बताए ।
झण्डै ९० हजार अष्ट्रेलियन डलर खर्च लागत अनुमान गरिएको नेपाल महोत्सवको तयारी तिब्र रुपमा अगाडि बढिरहेको एनआरएन क्विन्सल्याण्डका संयोजक आचार्यले जानकारी दिए । उनले यस पटकको नेपाल महोत्सवका लागि क्विन्सल्याण्ड सरकारले पनि आर्थिक सहयोग गरेको जानकारी दिए । साथै उनले मुख्य प्रायोजकका रुपमा एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेज रहेको र कार्यक्रम सम्पन्न गर्न चाहिने थप रकमका लागि अन्य पा्रयोजक खोज्ने कार्य भइरहेको बताए । १० हजार जना सहभागी हुने अनुमान गरिएको ब्रिजबेनको नेपाल महोत्सव मुलककै पहिचानको बिषय भएकोले पनि यसको प्रचार प्रसारलाई क्वीन्सल्यान्डभरीनै तीव्र पारिने संयोजक आचार्यले बताए ।
नेपाली भाषा, कला, संस्कृती, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका बिभिन्न समुदायवीच प्रर्बद्धन गर्ने उदेश्यले हरेक दुई बर्षमा आयोजना हुने यो महोत्सव एनआरएनको महत्वपुर्ण कार्यक्रममा रुपमा रहेको एनआरएन आइसीसी सचिब अभिमानसिंह बस्नेतले बताए ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल प्रमुख अतिथि हुने कार्यक्रम नेपाल महोत्सवमा राज्य सरकारका मन्त्री देखि स्थानीय सरकारका प्रमुखलाई निमन्त्रणा गरिएको एनआरएन अस्ट्रेलियाका प्रवक्ता उमेश खड्काले बताए । अस्ट्रेलिया र नेपालवीचको सांस्कृतिक सम्बन्धलाई जोड्ने र पर्यटन प्रवर्धन गर्न महत्वपुर्ण माध्यम बनेको महोत्सवलाई भब्य र सभ्य बनाउन औपचारिक कार्यक्रम सुरु हुनु भन्दा अगाडी नेपाली समुदायको भेषभुषा सहितको परेड आयोजना गरिने क्वीन्सल्यान्ड राज्य समितीका सचिब अतुल खड्काले सुनाए ।
कार्यक्रम अवधिभर नेपाली भाषासहितका सांगीतक नाच गान हुने र कार्यक्रममा दिपक बज्राचार्य सहितको नेपाली ब्यान्डले कार्यक्रममा आफ्नो प्रस्तुति दिने तय भएको खड्काले बताए महोत्सवमा स्थानीय कलाकारहरुको पनि बिशेष प्रस्तुती रहने छ ।
नेपाली कला सांस्कृतिक र नेपाली परिकारको प्रवर्द्धनको हेतुले गरिने उक्त कार्यक्रममा सहभागी हुन एनआरएन ब्रिसबेनले सबैलाई अनुरोध गरेको छ। यस पटक नेपाल महोत्सव ब्रिसबेनको मुख्य प्रायोजक स्पोन्सर एक्सपर्ट एजुकेशन रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्