नेभिगेशन
कला/शैली

सिड्नीमा गोर्खा बिनिथ द ब्रभरीको प्रिमियर सो गरिने

सिड्नी । बीर गोर्खालीहरुको जीवन गाथा र संघर्षमा आधारित ऎतिहासिक चलचित्र "गोर्खा बिनिथ द ब्रभरी "को आउदो सेप्टेम्बर ३ तारिख शनिबार सिड्नीको बरुड स्थित इभेण्ट सिनेमाहलमा प्रदर्शन गरिने भएको छ । सिड्नीमा हालै आयोजित प्रेस मिटमा सो प्रदर्शन एनआरएनए न्यु साउथ वेल्स राज्य समिति ,गोर्खा नेपाली कम्युनिटी र निर्माता टिमको संयुक्त पहलमा हुन लागेको जानकारी दिइयो । प्रदिप शाहीको निर्देशना र लेखनमा बनेको उक्त चलचित्रमा गौमाया गुरुङ, एगिस्टिनो ओबरहोफर, ओली बस्सी,समीर गुरुङ, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्टुअर्ट वाल्कर,स्योन शाहीलगायतले अभिनय गरेका छन् । विनोद सुवेदी खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ रहेका छन् । नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै गोर्खालीको ईतिहास समेटिएको यो चलचित्रमा पहिलो र दोस्रो बिस्व युद्धमा गोर्खालीले बगाएको रगत ,पसिना र योगदानलाई जस्ताको तस्तै रुपमा प्रस्तुत गरिएको ले यो चलचित्र बाट नया पुस्ताले गोर्खाली को बारेमा धेरै कुरा जानकारी लिन सक्ने बताए । चलचित्र प्रदर्शनबाट उठेको रकम गोर्खा वेलफेयर ट्रस्टलाई प्रदान गरिने छ । भिक्टोरिया क्रस प्राप्त गरेका पहिलो गोर्खाली बीर सपुत कुलवीर थापाको वास्तविक कथामा चलचित्र निर्माण भएको यो जीवनी चलचित्र जर्मन नेपाली र अंग्रेजी भाषामा तयार पारिएको छ । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिस सेनाहरूले लुस, फ्रान्समा गरेको आक्रमणमा गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते भएका थिए । घाइते भएको भोलिपल्टै थापा पीडितहरूको उद्धारमा खटिएर आफ्नो डिउटी र कर्तब्यलाई इमान्दारीपूर्बक  पुरा गरेकोले उनलाई भिक्टोरिया क्रस प्रदान गरिएको थियो  । चलचित्रमा गोर्खा सैनिकहरुले आफ्नो विरता कसरी प्रर्दशन गर्दछन् र किन बहादुर मानिन्छन् भन्ने विषयलाई जस्ताको तस्तै रुपमा प्रस्तुत गरिएको छ । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माताका रूपमा विनोद सुवेदी खत्री र निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्