नेभिगेशन
अन्य

बेलायत र न्यूजील्यान्डका युवाहरू एकअर्को मुलुकमा लामो समय काम गरी बस्न पाउने

लन्डन । बेलायत र न्यूजील्यान्डले धेरै युवाहरूलाई दुवै देशमा लामो समयसम्म बस्न र काम गर्न अनुमति दिने भएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनका न्यूजील्यान्डकी समकक्षी जसिन्दा अर्डेनले ‘युवा गतिशीलता तथा कामकाजी छुट्टी योजनाहरू’ विस्तार गर्न सहमति जनाएका हुन् ।

अबदेखि यी मुलुकमा यस योजनाका लागि आवेदन दिन चाहनेको उमेर हद ३० बाट बढाएर ३५ वर्ष पुर्‍याइने भएको छ । साथै, यस्तो उद्देश्यले बेलायत तथा न्यूजील्यान्डमा अधिकतम तीन वर्षसम्म एकअर्को मुलुकमा बस्न सक्नेछन् । यसले अष्ट्रेलियामा युवाहरूलाई घुम्न र काम गर्न दिने यस्तै खाले सम्झौतालाई अनुसरण गर्दछ ।

बेलायतका गृहमन्त्री प्रिति पटेलले यस कदमले दुई देशका थप युवालाई आफनो सीप विकास गर्न र आफ्नो आयोजक राष्ट्रसँग जीवनपर्यन्त सम्बन्ध राख्ने र योगदान दिने अवसर प्रदान गर्ने विचार व्यक्त गरेकी छन् ।

जोन्सन र अर्डेनबीच वार्ताका लागि लन्डनस्थित डाउनिंग स्ट्रिटमा भेट भएको हो । अर्डेनले न्यूजील्यान्डले लामो समयदेखि कामकाजी छुट्टी मनाउने भिसामा सुधार ल्याउन आवाज उठाउँदै आएको बताएकी छन् ।

न्यूजील्यान्ड लेबर पार्टीकी नेतृ अर्डेनले राजनीतिमा प्रवेश गर्नुअघि लन्डनमा बसेर ह्वाइटहलमा वरिष्ठ नीति सल्लाहकारको हैसियतले काम गर्ने गरेकी थिइन् ।
अर्डेनले भनेकी छन्, “लन्डनमा बसेर काम गर्दै रमाइलो गर्ने थुप्रै न्यूजील्यान्डका नागरिकमध्ये एक म पनि हुँ । र, हामी बेलायतीहरूलाई पनि न्यूजील्यान्डमा त्यस्तै गजबको अनुभव लिने अवसर प्रदान गर्न चाहन्छौँ ।”

बिहीबार स्पेनको राजधानी म्याड्रिडमा सम्पन्न नेटोको शिखर बैठक पछि यी दुई प्रधामन्त्रीको डाउनिंग स्ट्रिटमा भेटवार्ता भएको हो । अर्डेनले युक्रेनमा भइरहेको युद्धको सिलसिलामा गतवर्ष हस्ताक्षरित स्वतन्त्र व्यापार सम्झौतामाथि पनि छलफल हुने बताएकी छन् ।

बीबीसीबाट ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्