नेभिगेशन
बिचार/ब्लग

राजा ज्ञानेन्द्र र गिरिजाबाबुबीचका ऐतिहासिक वार्ता

चन्द्रमणि गौतम

निकै मिहिनेतका साथ बटुलिएको फरक समय र सन्दर्भका यी वार्ताहरू तत्कालीन राष्ट्रिय राजनीतिलाई चिहाउन सहायक-
स्थान : वीरेन्द्र सैनिक अस्पताल, छाउनी । दिन : २०५८ साल जेठ २१ गते आइतबार । समय : अपरान्ह अन्दाजी ४ बजे । बादल लागेको मौसम तर पानी नपरिहाल्ला भन्न सकिने अवस्थामा छ । तत्कालीन अधिराजकुमार (राज्य सहायक) ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सैनिक अस्पतालको प्राङ्गणमा लगाइएको सामियाना नजिक उभिएका छन् । सामियानामा यतिखेर कोही छैन । सैनिक सुरक्षा अत्यन्त कडा बनाइएको छ । दरबारका सचिब, एडीसी र अन्य स्टाफ अलि पर स्ट्याण्डबाई छन् । प्रधानमन्त्री भर्खर गाडीबाट ओर्लिएर सिधै अधिराजकुमार ज्ञानेन्द्र छेउ पुगेका हुन् । अधिराजकुमार शोकमग्न, तनाबग्रस्त र केही हडबडाएको देखिन्छन्। उल्लेखित वार्तामा ‘ज्ञ’ ले ज्ञानेन्दलाई र ‘ग’ ले गिरिजालाई बुझाउँछ :

ज्ञ : मूमाज्युबाट ममाथि एन्थ्रोन (राज्यारोहण) हुनैपर्ने जोड गरिबक्सँदै छ, प्रधानमन्त्रीजी, तर मलाई एन्थ्रोनमेन्टमा कुनै मन छैन। बेटर के गर्न सकिएला ?
ग : सरकारबाट राज्यारोहण नगर्ने हो भने कसले गर्छ त ? राजपरम्परामा त्यस्तो कुनै विकल्प छ र ? म के पनि सुन्दैछु भने सरकारले राज्यारोहण नगर्ने हो भने मुमाबडामहारानी (रत्न) बाट म पनि प्वाइजन खाइदिन्छु भन्ने कुरा भो रे !
ज्ञ : त्यसलाई (विष खाने कुरालाई) बाहिर नल्याउँ । मलाई त लाग्दैछ दाजु (राजा वीरेन्द्र) लाई दागबत्ती दिनेलाई श्रीपेच लगाइदिऊँ ।
ग : त्यसो होइन सरकार, राज्यारोहण गर्ने सरकारबाटै हो । मोनार्की पनि रहेन भने मोनार्की उखेलिएको डोबमा भरिन आउने तत्व खतरनाक हुन्छ, म भन्छु कुनै हालतमा त्यो डेमोक्रेट् हुनेछैन । मलाई कसैले भनेको त छैन, तर म अनुभूति गर्दैछु, यो हत्याकाण्डमा कसैको अल्टेरियर मोटिभ (भित्री स्वार्थ) ले ग्रान्ड डिजाईनका साथ खेलिरहेको छ । याँ कसको के इन्ट्रेस्ट छ, त्यसको अनुभव पनि मलाई छ । त्यसलाई ख्याल गरेर पनि सरकारबाट राज्यारोहण गर्नुपर्ने जिम्मेवारी छ । मैले र राजपरिषदले के गर्नुपर्छ थाहा पाउँ, सबै म मिलाउँछु ।

स्थान : निर्मल निवास, महाराजगञ्ज । राजा ज्ञानेन्द्र नारायणहिटी राजदरबारमा बस्न थालेका छैनन् । दिन : २०५८ साल असार २९ गते शुक्रबार । समय : अपरान्ह अन्दाजी २ बजे । रोल्पाको होलेरी इलाका प्रहरी कार्यालयका ७२ जना प्रहरीको अपहरण गर्ने माओवादीका विरूद्ध परिचालन गरिएको शाही नेपाली सेना परिचालन त भयो तर त्यसले माओवादीविरूद्ध कुनै सैनिक अपरेशन गरेन । यही विषयलाई लिएर राजा ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाका वीच कुराकानी भइरहेको छ । प्रधानमन्त्री कोइराला आज निकै मुडअफ देखिन्छन् ।

ज्ञ : प्रधानमन्त्रीलाई स्वागत छ, बस्नुहोस् ।….होलेरीमा भइरहेको काम कसरी गइरहेको छ ?
ग : आर्मीले गभर्न्मेन्टको आदेश पालन गरेको छैन सरकार । (प्रधान) सेनापति (प्रज्वल्ल शम्शेर) को गतिविधिबाट म सन्तुष्ट छैन, के गर्न खोजेको हो उनले, मलाई त शङ्का बढ्दैछ। कसैको केही आसय पाएर यसो गरेको हो कि जस्तो लाग्दैछ । यताबाट बेग्लै आदेश त गएको छैन आर्मीलाई ? म कन्फ्युज्ड् भएँ सरकार !
ज्ञ : प्रधानमन्त्री किन कन्फ्युज्ड् हुने ? क्याबिनेटलाई बाइपास गरेर हामीले यताबाट अलग्गै आदेश दिन मिल्दैन । प्रज्वल (प्रधानसेनापति) को बानी नै त्यस्तै छ । होलेरीमा क्याबिनेटले आर्मीलाई के जिम्मेवारी दिएको हो ?
ग :
त्यहाँ यतिखेर माओवादीका सबै टप लिडर पुगेका छन् । उनीहरूले होलेरी थाना (इप्रका) कब्जा गर्न देशभरि उनीहरूसँग भएभरका कमाण्डो टाइपका सार्पसुटर लडाकुहरूलाई पनि बटुलेर पुर्याएका छन् । एयर स्ट्राइक (हेलिकोप्टरबाट बमबारी) गरेदेखि माओवादीको फिप्टी पर्सेन्ट स्ट्रेन्थ त्यहीँ समाप्त हुन्छ । सबैजसो टप लिडर हताहत हुन्छन् । क्याबिनेटले आर्मीलाई सम्पूर्ण जिम्मेवारी पूरा गरोस भनेर मार्च गराएको हो, उनीहरूलाई त होलेरीमा माओवादीको रमिता हेरेर पिकनिक मनाउन पठाएजस्तो पो भयो ।
ज्ञ : प्रज्वल (प्रधानसेनापति) ले त्यहाँ के गर्न खोज्दैछ, त्यसको जानकारी मकहाँ आइपुगेको छैन । म पनि बुझुँला । प्रधानमन्त्रीकै कुरालाई आधार मानेर हेर्दा म केही कठिनाइ देखिरहेको छु । एउटा त, आन्तरिक गडबडी दबाउन एयर स्ट्राइक गर्ने कुरा सुरक्षा कारवाहीको रूपमा भन्दा पनि ब्रुटल र मानब अधिकारको हनन् भएको भनेर विश्वभरि प्रचार हुनेछ, अनि भएभरका सबै हामीतिर खनिन्छन् । अर्को कुरा, राजनीतिक दलका नेताहरूमा यो (माओवादी) समस्याबारे एउटै भनाइ देखिन्न । कोही राजनीतिक समस्या हो राजनीतिक रुपबाट समाधान गर्नुपर्छ भन्छन् कोही आर्मी लगाएर ठीक गर्नुपर्छ भन्छन् । प्रज्वलले भन्थे आर्मी परिचालन गर्ने भए सर्वदलीय सहमती हुनुपर्छ, त्यसो भएको छैन । अर्को कुरा सैनिक ऐनमा समस्या रहेछ । ४० वर्षभन्दा अघिका दुईटा ऐन रहेछन्, त्यसले पुग्दैन भन्छन् आर्मीका मान्छे (जनरल) हरू । अर्को कुरा मेरो पर्सनल हो भनेर लिइदिनुस् कि हामीकहाँ यत्रो कार्नेज (नरसंहार) भयो हामीकहाँ (दरबार हत्याकाण्ड) । म अझै त्यसको शोकबाट मुक्त भएको छैन । त्यत्रो घटना भएको एक महिना नबित्दै जनतालाई मार्ने काममा लागौँ, मलाई त कसोकसो गाह्रो लागिरहेको छ । तर यो मेरो नितान्त पर्सनल र पारिवारिक पीडाको कुरा प्रधानमन्त्रीसँग शेयर गरेको मात्र हो । जे गर्ने हो त्यो त तपाईँहरूले नै गर्ने हो ।
ग : ए, भनेपछि आर्मी परिचालन हुन नसक्ने यतिका कारण रहेछन् । मेरा पार्टीका साथीहरूले मलाई भनेका थिए, माओवादीहरू निर्मल निवासलाई परमधाम मान्छन् । कुरा यसो हो भने ठीकै छ ।
ज्ञ : (अलिक उत्तेजित हुँदै) कसले के सुनाए, कसले कहाँ परमधाम देख्यो, त्यसको सत्य पत्ता लागोस्, हामी यहीँ छौँ । सत्यको दर्शन गर्न हामी पनि लालायित छौँ । प्रधानमन्त्रीलाई पनि बाहिर ‘करप्ट’ (भ्रष्ट) भने अरे !
ग : सुनेकै कुरा गर्न थाल्ने हो भने त सरकारलाई पनि दरबार हत्याकाण्डको सूत्रधार भन्छन्, त्यसैका पछि लाग्ने ?
ज्ञ : भयोभयो, यस्ता गसिप (हल्ला) मा नजाऔँ । अब के गर्नुहुन्छ ? पार्लियामेन्ट चलिरहेको छ, त्यहाँ पनि छलफल चलाउन सकिन्छ होला । चिफ (प्रधानसेनापति) लाई आदेशमा कानुनी स्पष्टता पुगेन कि ? त्यो सुल्झाउन लाग्नु उचित हुन्छ होला । मलाई त लाग्छ, कुनै समस्या भए चलिरहेको पार्लियामेण्टमा छलफल गराएर त्यसको डिसिजन लिँदा बढी इफेक्टिभ होला । डेमोक्रेटिक पनि त्यही हुन्छ ।
ग : म अब यस्ता ह्यानत्यानमा लाग्नेछैन । यहाँ म ग्राण्ड डिजाइन भइरहेको देख्दैछु । त्यसैले मैले त रिजिग्नेशन दिने मन बनाएर आएको छु । धोका हुन्छ भने म किन जोकर बनेर बसिरहुँ !
ज्ञ : अब त्यो त प्रधानमन्त्रीले नै डिसाइड गर्ने कुरा भयो । रिजिग्नेशन दिने निष्कर्ष लिएर आउनुभएको हो भने दिनुहोस् ।
प्रधानमन्त्री कोइरालाले त्यहीँ राजिनामा लेखेर दिए । राजाबाट स्वीकृत भयो ।

नेपाली काँग्रेस फुटेर दुईफ्याक भएको अवस्था छ । पार्टीको संख्याबल दुवैतिर हाराहारीमा रहेको र दुबैपक्षले चुनाबचिन्ह (रुख) आफूले पाउनुपर्ने दाबी गरिरहेको बेला छ । गिरिजाप्रसाद कोइराला सरकारको नेतृत्वमा छैनन् । शेरबहादुर देउवा प्रधानमन्त्री छन् । भेटवार्ता नारायणहिटी राजदरबारमा भइरहेको छ ।

ग : आज म एकदुईवटा इम्पोर्टेन्ट कुरा लिएर आएको छु सरकार, मैले यो भेटवार्ताबाट एउटा डिसिजन लिएरै जानु पनि छ ।
ज्ञ : के होला त्यस्तो, गो अन प्लिज ।
ग : पहिलो त निर्वाचन आयोगले कसको इसारामा हो, नेपाली काँग्रेसको चुनाब चिन्ह हामीलाई दिएको छैन । त्यो राजभण्डारी (प्रमुख निर्वाचनआयुक्त केशबराज राजभण्डारी) बदमास रहेछ । समस्यालाई टाँगेर राखेर रमिता हेरिरहेको छ । मलाई अरू कुरा थाहा छैन, चुनाब चिन्ह मैले नेतृत्व गरेको नेपाली काँग्रेसले नै यथाबत पाउनुपर्छ । दोस्रो कुरा पार्टीले कारवाही गरेको यो प्रधानमन्त्रीलाई हटाइबक्सियोस् । यी दुई काम भए भने सरकारका हर कदममा नेपाली काँग्रेसले समर्थन गर्नेछ, म भएँ ।
ज्ञ : गिरिजाबाबु, मेरो एउटा प्रोब्लेम छ । नेताहरू मसँगको भेटमा कुरा गर्दा असल कुरा गर्नुहुन्छ । तर बाहिर गएर उहाँहरू ठीक उल्टो कुरा गरेको म पाउँछु । त्यसैले म आजकाल वार्ता रेकर्ड गरेर राख्न थालेको छु । यो वार्ता पनि रेकर्ड गर्छु है !
ग : हुन्छहुन्छ, यसमा मलाई के आपत्ती छ र ! नो प्रोब्लेम ।
ज्ञ : डेमोक्रेटिक फोर्स कमजोर हुनजाँदा शक्ति सन्तुलन खल्बलिन्छ । विदेशीहरू बड्ता जान्ने हुन थाल्छन् । त्यसैले गिरिजाबाबु मलाई तपाईँहरूको पार्टीमा विभाजन आएको ठीक लागेको छैन । डेमोक्रेटिक फोर्स विभाजित हुनु भएन ।
ग : सरकारबाट कुरा त सुन्दर गरिबक्सियो । सत्य भए झन् कति राम्रो हुन्थ्यो । तर पार्टीले कारवाही गरेको र पार्टी फुटाएको मानिसलाई किन सरकारको नेतृत्वमा कायम राखेर पुरस्कृत गरिबक्सेको हो सरकार ! संकटकाल नलम्ब्याउ भनेर प्रधानमन्त्रीलाई भन्दा उसले नटेरेपछि कारवाही भयो । पार्लियामेन्टरी पार्टीले पनि त्यसैलाई मान्छ ……….।
ज्ञ : (बीचैमा) राख्ने वा नराख्ने मेरो ब्यक्तिगत रुचिको कुरा हुँदैन यस्ता मामिलामा । कन्स्टिच्युसनल प्रोसेसबाट आएको कुरालाई चाहे जोसुकै होस् मैले डिनाइ गर्नै मिल्दैन । यहाँ त के भएको छ भने जे गर्दा पनि हामीतिर शंका गर्ने र दोष तेस्र्याइदिने गरिन्छ । तपाईँले भनेका दुई कुरालाई म सिरियसली अनि एफरमेटिभ्ली सोच्छु ।

समय : साँझ । स्थान : नागार्जुन दरबार । मिति : २०६० सालको कुनै साँझ । आन्दोलनरत पाँचदलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यक्रममा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष बद्रीप्रसाद मण्डल र नेपाली काँग्रेस (प्रजातान्त्रिक) सभापति शेरबहादुर देउबालाई पनि समावेश गरिएको दृश्य त्यहीँ पुगेर देखेपछि गिरिजाप्रसादको मुड अर्कै भयो :
ज्ञ : अब कुरा गिरिजाबाबुबाटै शुरू गरौँ ।
ग : के कुरा शुरू गर्ने ? आन्दोलनकारी पार्टीहरूसँग कुरा गर्ने भनेर कार्यक्रम बनाएपछि यी दुई कहाँबाट ल्याइए ? यस्तै कामले गर्दा मिसअन्डरस्ट्यान्डिङ् बढेर जान्छ । हामीलाई आन्दोलन गर्न बाध्य बनाउने काम सरकारबाटै भएको छ । अब सरकारसँग वार्ता गर्ने भनेपछि हामीले धेरै चोटी सोच्नुपर्ने भयो । यस्तो हठ काम लाग्दैन सरकार, हामीसँग बेइमानी गर्नु ब्यर्थ हुनेछ ।
वार्तामा केहीबेर सन्नाटा छायो ।
ग : यहाँ कुरा गर्नुको कुनै अर्थ छैन ।
वार्ता बिना निष्कर्ष समाप्त हुन्छ ।

मिति : २०६१ साल माघ १९ गते शुक्रबार । राती माघे झरी परेर बिहान रोकिएको हुनाले मौसम सफा छ । स्थान : महाराजगञ्जस्थित गिरिजाप्रसाद बस्नेगरेको डा. शशाङ्कको घर । राजाले देउबालाई प्रधानमन्त्रीबाट हटाएर आफूलाई प्रधानमन्त्री हुन बोलाउँछन् भनी गिरिजाप्रसाद कोइराला दौरा–सुरवाल कोट टोपी लगाएर भेट्न आउने कसैलाई नभेटी घरीघरी घडी हेर्दै प्रतीक्षाको मुडमा बसिरहेका छन् । राजाको शाही संवोधन उनले त्यही प्रतिक्षामै सुने । तर दरबारबाट कुनै फोन नआएपछि मनाही गरिएको भए पनि एउटा चुरोट सल्काए र यतिमात्र भने “फेरी धोका भयो…….।”

फेसबुकबाट साभार

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...
आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...