नेभिगेशन
बिचार/ब्लग

इतिहास र वर्तमानमा वैशाख १ गतेका घटना

चन्द्रमणि गौतम बैशाख १ गते, नेपालमा नयाँवर्ष प्रारम्भ हुने दिन । भारतवर्षका प्राचीन सूर्यवंशी प्रतापी सम्राट विक्रमादित्यको नाममा ई.पू.५७ देखि चलेको यो संवतलाई राणा प्रधानमन्त्री चन्द्र शम्शेरले वि.सं. १९६० देखि नेपालमा प्रचलित गराएका हुन् । बिक्रमादित्यको राजधानी भारत मध्यप्रदेशको उज्जैनमा थियो भनिन्छ । त्यसअघि नेपालमा पृथ्वीनारायण शाहले शक संवत चलाएका थिए । मल्लकालमा काठमाडौँ उपत्यकाभित्र शंखधरकृत नेपाल संवत चल्तीमा थियो । नेपालका अन्य भागमा चाहिँ त्यो जमानामा सूर्यको गति मापक गतेभन्दा चन्द्रमाको गतिमापक तिथिको प्रचलन थियो । बैशाख १ का ऐतिहासिक घटना २०६३ मा आजैको दिन लोकतान्त्रिक जनआन्दोलन उत्कर्षमा पुगेको अवस्था थियो । राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानले सम्पूर्ण सत्ता आफ्नो हातमा लिएका तत्कालीन राजा ज्ञानेन्द्रबिरुद्ध एउटा निकै कडा वक्तब्य दिँदै “राजाले रक्तपात रोकेर अहिलेको स्थिति हटाउनु पर्छ” भनेका थिए भने चितवनमा जनआन्दोलनको क्रममा शहीद भएकी तुलसी क्षेत्रीको विशाल शवयात्रा वा गुल्मीका महिलाहरूको अभुतपूर्व विशाल जुलूस, देशैभरि विशाल जुलूस प्रदर्शनको अवस्था थियो । २०५५ मा आज उपभोक्ता संरक्षण ऐन लागु भयो भने २०५१ मा काठमाडौँको महाराजगञ्जबाट नेपाल प्रहरीले सामुदायिक सेवाको प्रारम्भ गरेको थियो । २०४५ को आजै प्रधामन्त्री मरिचमान सिंहले राणा प्रधामन्त्री देव शम्शेरका पालादेखि चलाएको १२ बजे तोप पड्काउने चलन हटाईदिए । २०३४ सालमा आजैको दिन नेपालबाट बिफर उन्मूलनको घोषणा गरियो । २०१९ सालबाट थालिएको यो कार्यलाई २०२४ सालमा देशब्यापी उन्मूलन कार्यको रुपमा अपनाएर २०३१ फागुन २२ गते बिफरको अन्तिम बिमारी पाइएपछि अरु कसैलाई बिमार नदेखिएकोले उन्मूलनको घोषणा गरियो । २०३१ सालमा आज, त्यो बेलाका ४ विकास (पछि ५ विकास क्षेत्र बनाईएको) क्षेत्रमा ४ वटा (पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल) क्षेत्रीय अदालत गठन गरियो । २०२३ सालमा आजै हुलाकद्वारा मनी अर्डरको व्यवस्था शुरूआत गरियो । राजतन्त्रकालमा आजैदेखि राजाको एडीसी (शाही पाश्र्ववर्ती) नेपाल प्रहरीका अधिकृतबाट पनि लिने चलन शुरू भयो । २०२८ मा आज, कीर्तिनिधि विष्टको प्रधानमन्त्रित्वमा १४ सदस्यीय मन्त्रिमण्डलको गठन भयो । २०१९ मा साल आज राजा महेन्द्रले नवलपरासीको गैंडाकोटमा चाँदीको गैंतीले खनेर पूर्वपश्चिम (महेन्द्र) राजमार्गको शिलान्यास गरे। त्यसअघि यो राजमार्ग बनाउन देशभित्र सर्वसाधारणबाट चन्दा उठाइएको थियो । शिलान्यास समारोहमा राजा महेन्द्रले लामो भाषण दिए । वास्तबमा यो राजमार्ग निर्माणको प्रतिबद्धता २०१६ साउन ९ गते तत्कालीन संसदको दुवै सदनमा बीपी कोइराला नेतृत्वको कांग्रेस सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रममा “नेपाल अधिराज्यको पूर्व र पश्चिम इलाकालाई जोड्ने निर्माण गर्ने भएको राजमार्गको निमित्त समुचित सर्वेक्षण यसैपाली शुरु हुनेछ” भन्ने ब्यहोराका अतिरिक्त र आम निर्वाचन २०१५ का लागि काँग्रेसको चुनाबी घोषणापत्रमा समावेश भईसकेको कार्यक्रमलाई महेन्द्रले अघि बढाएका हुन् । राजमार्ग शिलान्यास भएकै दिन महेन्द्रले नेपालमा पहिलो स्वचालित टेलिफोनको उद्घाटन गरे । २०१८ मा आज, नेपाल ३८ जिल्लाबाट ७५ जिल्ला भयो । राजा राजेन्द्र र भीमसेन थापाको पालामा १० जिल्ला र वीर शम्शेरको पालामा ३२ जिल्ला र धनकुटा, पाल्पा र डोटी, ३ गौँडामा विभाजित थियो । २०१६ मा आज नेपालकै हुलाक टिकट टाँसेर विदेशमा (स्विट्जरल्याण्डका राष्ट्रपतिलाई) चिठी पठाउने पहिलो नेपालीको रुपमा राजा महेन्द्र हुनपुगे । २०१४ सालको आजै यस्तो सुविधासहितको हुलाक सेवा शुरू भयो । २०११ साल आजै सर्वप्रथम राजा त्रिभुवनका चित्राङ्कित टिकटहरू प्रचलनमा आए । साथै नेपालको नक्सा अंकित १२ वटा टिकट निवेदन दस्तुरको रुपमा सर्वप्रथम प्रचलनमा ल्याईएको हो । २०१२ मा साल आज गुन्जमान सिंहको अध्यक्षतामा ‘शाही सल्लाहकार सरकार’ (सल्लाहकार समिति) गठन गरे । यसले मध्यमाघ (करिब १० महिना) सम्म काम गर्यो । आजैको दिन शाही आयोग नामक जिल्ला निरिक्षण गर्ने संयन्त्रको गठन भएको थियो । यसअघि २०११ साल आजै राजा त्रिभुवनले दोस्रो सल्लाहकार सभाको घोषणा गरेका थिए, जसलाई पछि ‘राजपरिषद’ मा रुपान्तरण गरियो । २००९ मा आज, राजा त्रिभुवनले आफूलाई सल्लाह–परामर्श दिन २००८ असोज १६ मा गठित प्रो. रत्नबहादुर विष्ट लगायतको ३५ सदस्यीय सल्लाहकारसभा विवादित र अपूर्ण भएपछि पुनर्गठन र उन्नत गरेको । २००८ मा आज, राजा त्रिभुवनले प्राईममिनिस्टर मोहन शम्शेरमा रहेको सुप्रिम कमाण्डर इन्चिफ (परमसेनाधिपति) को हैसियत आफैँले ग्रहण गरेको । कारण देखाईयो खुकुरी दल भनिने गोरखा दलको आक्रमण हुने खतरा । २००८ मा सिंहदरबारमा रहँदैआएको सेनाको बिजुली गारत, पार्श्वदल, कालीबहादुर गणलाई यसै दिनदेखि नारायणहिटी राजदरबारमा हुलियो । साथै बारुदखाना, हतियारखाना, खरखजाना घरहरूमा तीनवटा साँचो लगाई एउटा साँचो राजासँग रहन थाल्यो । नारायणहिटी दरबारलाई सिंहदरबारभन्दा बलियो एउटा शक्तिकेन्द्र बनाउने श्रीगणेशमा यो घटना निकै महत्वपूर्ण मानिन्छ । २००८ सालमा आजैको दिन समाजसेवी रामलाल श्रेष्ठ संस्थापक रहेको ‘नेपाल जनकल्याण संस्था’ को स्थापना । यसको पूर्वनाम ‘मृत्यु संस्था’ थियो। यसले एम्बुलेन्स सेवा, मृतकको दाहसंस्कार गराउने लगायतका परोपकारी काम गर्दथ्यो । २००५ मा आज, प्राईममिनिस्टर मोहन शम्शेरले २००४ सालमा पद्म शम्शेरको पालामा बनेको नेपालको पहिलो संविधान मानिएको ‘नेपाल सरकार वैधानिक कानुन’ लागु भएको घोषणा गरे । सो कानुनले व्यवस्था गरेको स्थानीय निकायको रुपमा दुईशय पञ्चायतहरू क्रियाशील भएको थियो । २००४ मा आज, नेपालमै पहिलो सत्याग्रह प्रारम्भ भयो । काठमाडौँमा विशाल जुलुस निस्क्यो । देशका विभिन्न स्थानमा सत्याग्रह भयो । मुद्दा थियो, राणा शासनको विरोध गर्दा पक्राउ परेका विभिन्न नेता तथा कार्यकर्ताहरूको अविलम्ब रिहाई । १९८३ सालमा आज, चन्द्र शम्शेरको खड्गनिशानाद्वारा महात्मा गान्धीका अनुयायी तुलसीमेहर श्रेष्ठको ‘चन्द्र कामधेनु चर्खा प्रचारक महागुठी’ लाई स्वीकृति मिलेको । तर भीम शम्शेरको पालामा यो संस्थामा प्रतिबन्ध लाग्नुको साथै तुलसीमेहरलाई पक्राउ गरी बन्दी बनाईयो, जो २००७ सालको क्रान्ति सम्पन्न भएपछि मात्र रिहा भएका थिए । १९८२ मा आज, नेपालमा रहेका ६० हजार कमारा–कमारीमध्ये ५२ हजारलाई अमलेख (मुक्त) गरिएको । यस कामका लागि पशुपतिनाथको गुठीबाट रू. ३७ लाख झिकिएको थियो । १९४१ मा आज, काठमाडौैँको रानीपोखरी तीनधारामा राजकीय संस्कृतप्रधान पाठशाला (बाल्मिकी क्याम्पस) का विद्यार्थीहरूलाई भोजन र बसोबासको प्रबन्धका रुपमा ‘पाकशाला’ को स्थापना गरियो । यहाँ ५४ विद्यार्थीलाई निःशुल्क खाने बस्ने व्यवस्था थियो । **** बैशाख १ (आज अप्रिल १३) का प्रमुख विदेशी घटना - सन् २०१३, बेईजिङ्मा पहिलो बर्डफ्लू बिमारी देखा परेको । - सन् १९७०, अमेरिकी चन्द्रयान ‘अपोलो–१३’ को दुखद विष्फोट । - सन् १९३३, सगरमाथामाथिबाट पहिलो हिमालपार हवाई उडान । - सन् १९२८, अमेरिका–युरोप पहिलो ट्रान्स एट्लान्टिक हवाई सेवाको प्रारम्भ (नागरिक उडान) । - सन् १९१९, ब्रिटिश गोर्खा फौजले जनरल डायरको कमाण्डमा भारतको अमृतसरस्थित जालियाँवाला बागमा निहत्था सर्वसाधारणमाथि गोली चलाएर करिब १५०० जनाको नरसंहार गरेको । -सन् १७४३ पहिलो अमेरिकी राष्ट्रपति थोमस जेफरसनको जन्म । चन्द्रमणि गौतमको फेसबुकबाट साभार
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...
आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...