नेभिगेशन
LEADING_MAIN

नेपाली नयाँ वर्षमा अस्ट्रेलियामा आतिसबाजी

सिड्नी । नयां वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ । नयां वर्षको पहिलो दिन वैशाख १ गते (१४ अप्रिल, २०२२) अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिसबाजीसहित नया वर्ष मनाउन लागिएको सनातन समाज अस्ट्रेलियाले नेपाल न्यूज अस्ट्रेलियालाई बताए । अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपालीहरु बस्दै आइरहेका छन ्। तर, भारतसग सीमाना र संस्कृति दुवै जोडिएका कारण अधिकांश नेपाल र नेपालीको छुट्टै पहिचान नरहेको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले बताए । त्यसैकारण नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर आतिसबाजी गर्न लागिएको उनले बताए । ‘नेपाली र भारतीयको संस्कार, संस्कृती र चाडपर्वहरु समान छन् र उनीहरुको शारिरिक बनोट पनि लगभग उस्तै हुन्छ । जसकारण यहा नेपालीलाई पनि भारतीय नै मान्नेहरुको जमात ठूलै छ, र हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन,’ आयोजक सनातन समाज अस्ट्रेलियाका अध्यक्ष मल्लले भने ‘त्यसैले नेपाली र भारतीय फरक हुन ्। हाम्रो आफ्नै संस्कृति छ, चालचलनहरु छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिसबाजीसहित विशेष दिनको रुपमा, सांस्कृतिक पात्रोको पहिलो दिनको रुपमा मनाउन लागेका हौं।’ दसैं, तिहार,फागु पूर्णिमा लगायतका पर्व नेपाल र भारत दुवैतिर मनाइन्छ। यसले नेपाली र भारतीय एकै हुन् भन्ने छाप परेको अध्यक्ष मल्लको अनुभव छ। तर, नयाँ वर्ष भने भारतमा इस्वी संवत् अनुसार जनवरीमा मनाइन्छ भने नेपालले विक्रम संवत् अनुसार वैशाखमा मनाउने गरेको छ । चीन, इरानलगायत छुट्टै क्यालेन्डर मान्ने देशहरुले नया वर्षमा विशेष कार्यक्रम आयोजना गर्दै आफ्नो पृथकता र विविधता अन्तर्राष्ट्रिय वृत्तमा प्रस्तुत गर्दै आएका छन्। त्यसैले, वैशाख १ गते आतिसबाजी गर्दै नेपालीहरुको आफ्नो छुट्टै सार्वभौम पहिचान छ र नेपाल र भारत फरक देश भएको सन्देश दिन लागिएको सनातन समाजले जनाएको छ । ‘नेपालीको आफ्नै मौलिकता छ, आफ्नै पात्रो, नयाँ वर्ष र आफ्नै संवत् छ, हाम्रो संस्कृतीका पक्ष पाटाहरु बिषिष्ट छन्, हाम्रो अनुष्ठान बिषेष छन्, र हाम्रो बिषिष्टताको जानकारी मुलक सन्देश सम्पुर्ण अष्ट्रेलीयालाई दिनु हाम्रो मुख्य ध्येय हो,’ अध्यक्ष मल्लले बताए। ‘सो लगायत हाम्रो आऊदा पुस्ताले भौगोलिक हिसावले जता बसोबास गरेपनि संस्कृतीलाई सदैव माया गरुन् र हाम्रो बिषिष्ट पहिचानलाई निरन्तरता दिउन् भन्ने अर्को ध्येय हो’, अध्यक्ष मल्लले थपे। नेपाली नयाँ वर्ष अस्ट्रेलियामा मात्र नभएर नेपालीको बसोबास रहेको सबै देशमा धुमधामसँग मनाउनु पर्ने सनातन समाज अस्ट्रेलियाको तर्क छ । विदेशमा नेपालीको आफ्नै मौलिक पहिचान स्थापित गर्न पनि यो आवश्यक रहेको संस्थाले जिकिर गरेको छ। अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरुको क्यानबेरामा उल्लेख्य बसोबास रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्