नेभिगेशन
नेपाल समाचार

नेपालका पत्रकारलाई अस्ट्रेलियाका नेपाली पत्रकारको ५ लाख सहयोग

सिड्नी । कोरोनाबाट प्रभावित नेपालका पत्रकारहरुका लागि अष्ट्रेलियाका नेपाली पत्रकारहरुले ५ लाख रुपैया सहयोग प्रदान गरेका छन् । अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसियसन एन्जाको नेतृत्वमा गत अगष्ट ८ तारिखमा ५ लाख नेपाली रुपैया नेपाल पत्रकार महासंघको खातामा जम्मा गरिएको हो । कोरोनाको महामारीले आक्रान्त बनेका पत्रकारहरुलाई राहत दिन महासंघले सहयोगको अपिल गरेपछि एन्जाले अष्ट्रेलियामा रहेका आफ्ना सदस्यहरुबाट सहयोग संकलन सुरु गरेको थियो । जसमा संस्थाका २५ जना पत्रकार सदस्यहरुले २७ सय ५५ डलर सहयोग गरेका थिए । सो रकममा कोभिड १९ कोरोना प्रभावितहरुको लागि अष्ट्रेलियामा र नेपालमा काम गर्न नेपाली दूतावासको पहलमा बनाइएको अष्ट्रेलिया स्ट्याण्ड टुगेदर नामक अभियानले ४ हजार डलर एन्जालाई प्रदान गरेको थियो । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको नेतृत्वमा, महावाणिज्यदूतका कार्यालय, सामूदायिक र सामाजिक संघसंस्था तथा एन्जा समेत संलग्न रहेर यो अभियान सञ्चालित छ । अस्टेलियामा कार्यरत नेपाली पत्रकारहरुबाट रकम संकलनका लागि एन्जाका कोषाध्यक्ष कृष्ण तिवारी, उपाध्यक्ष निरु त्रिपाठी लगायत सदस्य छत्र शंकर सहित तीन सदस्यीय संयोजन टिम बनाएको थियो । कोरोना प्रभावित नेपालका पत्रकारहरुलाई सहयोग उपलब्ध गराउन एन्जाले अभियानका संयोजक संस्था एनआरएनए अष्ट्रेलियालाई अनुरोध गरेको थियो कोरोना प्रभावितका लागि राहत र सहयोग अभियानको तर्फबाट प्राप्त सहयोग र अस्ट्रेलियामा कार्यरत नेपाली पत्रकारहरुबाट संकलित रकम मध्येबाट ५ लाख सहयोग गरिएको एन्जाका अध्यक्ष ऋषि आचार्यले बताए । अध्यक्ष आचार्यले आगामी दिनमा पनि महासंघ समाजिक कार्यमा अग्रसर रहने बताउदै अष्ट्रेलिया स्ट्याण्ड टुगेदर अभियानका सबै सामाजिक संघसंस्था, सहयोगी व्यक्तिहरु र शुभचिन्तक सबैलाई धन्यवाद दिए । नेपालका पेशाकर्मी पत्रकारहरुको दुख, पेशागत हकहितका लागि एन्जाले सधै साथ दिने महासचिव चिरञ्जिवी देवकोटाले बताए । एन्जाका कोषाध्यक्ष कृष्ण तिवारीले रकम संकलन संयोजन टीममा रहेर काम गर्न पाउदा खुसी लागेको बताउ“दै एन्जाको अभियानमा सहयोग गर्ने सबै पत्रकारहरुलाई धन्यवाद व्यक्त गरेका थिए । एन्जाले दिएको सहयोगबाट ज्यान गुमाएका पत्रकारका परिवार र उपचार गर्न समस्या परेका संक्रमित पत्रकारलाई सहयोग उपलब्ध गराउन एन्जाले महासंघसंग अपिल गरेको छ ।नेपालमा कोरोनाका कारण हालसम्म २१ जना पत्रकारले ज्यान गुमाएको तथा १ हजारभन्दा बढी पत्रकार कोरोना संक्रमित भएको नेपाल पत्रकार महासंघले जनाएको छ । साथै नेपालका मिडिया संचालक, मिडिया हाउस तथा नेपाल सरकारलाई कोरोनाको महामारीका बेला ज्यान जोखिम मोलेर जनतालाई सुसुचित गर्ने काममा अहोरात्र खटिने पत्रकारहरुलाई समयमै खोप, नियमित पारिश्रमिक तथा कोरोना संक्रमण भइहाले निशुल्क उपचारको प्रत्याभूति गर्न एन्जाले हार्दिक अपिल समेत गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्