नेभिगेशन
LEADING_MAIN

१७ लाख नेपाली कार्यरत खाडी र मलेसियाको कोरोना कहर

१० जनाले ज्यान गुमाए,हजारौ संक्रमित कोरोनाभाइरसले विभिन्न व्यवसाय बन्द हुन पुग्दा खाडीमा रहेका कैयौँ नेपालीलाई प्रत्यक्ष प्रभाव परेको छ । वैदेशिक रोजगारका लागि विदेश पुगेका थुप्रै नेपालीहरूले रोजगारी गुमाएका छन् । अहिले ४० लाखभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीमा कार्यरत रहेको अनुमान गरिन्छ । तर यकिन तथ्यांक भने छैन । नेपाली श्रमिकका मुख्य रोजगार गन्तव्य भनेको खाडीका ६ देश र मलेसिया हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रारम्भिक आँकडामा अनुसार खाडीका देश र मलेसियामा १७ लाख नेपाली युवाहरु कार्यरत छन् । त्यहाँ अवैध रूपमा काम गर्ने नेपालीहरू पनि ठूलो संख्यामा रहेको बताइन्छ । खाडीका देश र मलेसियामा कोरोना भाइरस सङक्रमितको संख्या दिनहुँ बढिरहेको पाइन्छ । जसले गर्दा लाखौं नेपालीहरु जोखिमपूर्ण अवस्थामा छन् । कतिपय नेपालीहरूले रोजगारी गुमाइसकेका छन् । कतिपय नेपाली श्रमिकहरु काममा नै खटिएका छन् । पछिल्लो तथ्यांकानुसार खाडीका देश र मलेसियामा ५ हजार ८ सय २२ जना नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् भने कोरोनका कारण १० जनाले ज्यान गुमाएका छन् । कतार कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत छन् । पछिल्लो समय त्यहाँ कोरोना संक्रमणको दर उच्च रहेको पाइएको छ । अहिलेसम्म त्यहाँ २९ हजार ४ सय २५ जना कोरोनाबाट संक्रमित भएका छन् भने १४ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै त्यहाँ १ हजार १ सय ५३ जना कोरोना संक्रमित भेटिएका छन् । २ हजार ५ सय भन्दा बढी नेपाली पनि कोरोना संक्रमित रहेको एनआरएनएले जनाएको छ । अहिलेसम्म कोरोनाका कारण त्यहाँ कुनै पनि नेपालीले ज्यान गुमाउनु परेको छैन । यद्दपि संक्रमित नेपालीहरुको संख्या यो भन्दा बढी रहेको अनुमान छ । कतारले आप्रवासी कामदारको प्रमुख बासस्थान रहेको सनैया क्षेत्रमा लगाइएको लकडाउन झन्डै डेढ महिनापछि बुधाबारदेखि खुला गरेको छ । कतारको सञ्चार कार्यालय अनुसार सनैया क्षेत्रमा भित्रिने र बाहिरिने सम्बन्धी नयाँ मापदण्ड लागू गरी लकडाउन हटाइएको हो । सनैयाको केही क्याम्पमा कोरोना संक्रमित भेटिएपछि लकडाउन गरिएको थियो । जोखिमूर्ण रुपमा रहेका ६ हजार ५ सय कामदारलाई क्वोरन्टाइनमा राखेपछि कतारले भित्रिने र बाहिरिने सम्बन्धी नयाँ मापदण्ड गरी सनैयालाई सुचारु गर्न थालिएको हो । यसैबिच कतारले मास्क अनिबार्य रुपमा लगाउन निर्देशन जारी गरेको छ । मास्क नलगाएमा २ लाख रियाल जरिवाना सहित जेल सजाय हुनसक्ने कतार सरकारले जनाएको छ । यूएई संयुक्त अरब इमिरेट्स (यूएई) मा पनि नेपाली कामदारको ठूलो हिस्सा हरेको छ । नेपाली दुताबासले दिएको पछिल्लो तथ्यांक अनुसार २ लाख ७५ हजार नेपालीहरु यूएईमा रहेका छन् । त्यहाँ अहिलेसम्म २ सय भन्दा बढी नेपाली कोरोना संक्रमित भएका छन् । गत हप्ता शनिबार मात्रै त्यहाँ सारहजको सफाइ कम्पनीमा कार्यरत ६१ संक्रमित मध्ये २२ जनामा संक्रमण पुष्टि भएको थियो । यूएईमा कोरोनाका कारण ९ जना नेपालीको मृत्यु भइसेको एनआरएनएले जनाएको छ । अधिकारिक रुपमा कति नेपालीहरु संक्रमित भए र कति नेपालीहरु उपचार पाएर निको भए भन्ने यकिन तथ्यांक छैन । शुक्रबार सम्मको तथ्यांक अनुसार यूएई २१ हजार ८ सय १९ जना कोरोना संक्रमित भएका छन् भने कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय १० पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ३ सय २८ जना भने पूर्णरूपमा निको भइसकेका छन् । बहराइन नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म ३ सय ११ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २२ जना महिला रहेका छन् । हालसम्म बहराइनमा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय १८ पुगेको छ भने मृत्यु हुनेको संख्या १० पुगेको छ । संक्रमितमध्ये २ हजार ६ सय ३७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । त्यहा एक जना नेपालीको ज्यान गएको समाचार प्राप्त भएको छ । कुवेत पछिल्लो समय कुवेतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार मात्रै कुवेतमा ८ सय ८५ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै कुवेतमा कोरोना संक्रमित हुनेको संख्या १२ हजार ८ सय ६० पुगेको छ । कुवेतमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने ९६ पुगेको छ । त्यहाँ शुक्रबार मात्रै ६ जनाको मृत्यु भएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । कुल संक्रमितमध्ये ३ हजार ६ सय ४० जना भने पूर्णरूपमा निको भइसकेका छन् । १९० जनाको अवस्था चिन्ताजनक रहेको छ । त्यहाँ अहिलेसम्म ८४ जना नेपालीमा कोरोना पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्म कुनै पनि नेपालीको मृत्यु भने भएको छैन । कोरोना भाइरसको सङ्क्रमण बढेपछि कुवेतमा मे १० आइतबारदेखि तीन हप्तासम्म पूर्ण रुपमा लकडाउन गरिएको छ । अत्यावश्यकबाहेक सामान ओसारपसारको कामसमेत गर्न पनइने छैन । साउदी अरब हालसम्म साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण भएको जनाईएको छ । त्यहाँ कोरोनाका कारण २ जना नेपालीको मृत्‍यु भएको छ भने १३ जना नेपाली पूर्णरुपमा निको भएका छन् । शुक्रबार सम्ममा त्यहाँ कोरोना संक्रमितको संख्या ४९ हजार १ सय ७६ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २९२ पुगेको छ । शुक्रबार मात्रै त्यहाँ २ हजार ३ सय ७ जना कोरोना संक्रमित भेटिएका छन् भने ९ जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये २१ हजार ८ सय ६९ जना भने पूर्णरूपमा निको भइसकेका छन् । १ सय ६७ जनाको अवस्था चिन्ताजनक रहेको छ । ओमान ओमानमा शुक्रबार सम्म ४ हजार ६ सय २५ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये १ हजार ३ सय ५० जना निको भएका छन् । ३ हजार २ सय ८८ जनाको अस्पतालमा उपचार भइरहेको छ भने २० जनाको ज्यान गएको छ । तर ओमानका कार्यरत नेपालीमा सङ्क्रमण भए, नभएकोबारे दूतावासमा जानकारी छैन । ओमानले कोरोना सङ्क्रमितको राष्ट्रियता नखुलाउने नीति लिएको छ । दूतावासका अनुसार ओमानमा झण्डै १७ हजार नेपाली श्रमिक कार्यरत छन् । यस्तै, ओमानमा कोरोनाको कारण समस्यामा परेका नेपाली श्रमिकको दूतावासले तथ्याँक सङ्कलन गर्न थालेको छ । ओमानमा मे २९ सम्म लकडाउन छ । मलेसिया करिब ५ लाख नेपाली कामदार कार्यरत मलेसियामा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६ हजार ८ सय ७२ पुगेको छ । त्यहाँ १ सय १३ जनाको मृत्यु भइसकेको छ । शुक्रबार मात्रै त्यहाँ ३६ जना कोरोना संक्रमित भेटिएका छन् भने १ जनाको मृत्यु भएको छ । त्यहाँ ४९ जना नेपालीमा पनि कोरोना संक्रमण भएको छ । मलेसियामा कोरोनाको कारण अहिलेसम्म नेपाली मृत्यु भने भएको छैन । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि जुन ९ सम्म पुर्‍याएको छ ।यसअघिको लकडाउन आज (मे १२) सकिँदैछ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८मा लकडाउन घोषणा गरिएको थियो । मे ४ देखि भने लकडाउन केही खुकुलो बनाइएको छ । मलेसियामा आर्थिक गतिविधि लगभगजसो सुरुवात भइसकेको छ । होटल, कलकारखाना लगायतका क्षेत्रहरु खुलेका छन् । तर निश्चित सुरक्षा सतर्कता अपनाइएको छ । खाडीका अधिकांश मुलुकहरुले राष्ट्रियता नखुलाउने नीति लिएकोले एनआरएनएले आफ्नो बिभिन्न श्रोतहरु मार्फत तथ्यांक संकलन गरेको प्रवक्ता डीबी क्षेत्रीले बताएका छन । यी देशहरुमा रहेका नेपाली दुताबासले नेपालीहरुको बारेमा कुनै जानकारी नरहेको जनाउँदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्