नेभिगेशन
झटारो

त्यो आरोप
जसले हाम्रो शिर निहुर्यायो ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई उनकै भूतपूर्व ड्राइभर वाञ्छु शेर्पाले मानब तस्करीका बारेमा लगाएको आरोपले यतिखेर अस्ट्रेलियामा मात्रै होइन यत्रतत्र सर्वत्र महत्व पाएको छ । नोभेम्बर २९ तारिख बिहीबार नेपालबाट प्रसारण हुने एक टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा वाञ्छुले राजदुतलाई उक्त आरोप लागाएपछि उनीहरु बीच वाकयुद्ध नै चलेको छ । यो आरोपले सम्बन्धित दुई पक्षलाई भन्दा पनि नेपालको अन्तर्रास्ट्रिय छविलाई धमिल्याउने हो कि भन्ने चिन्ता यहाँको नेपाली समुदायले ब्यक्त गर्नुलाई कदापी नराम्रो मान्न सकिंदैन । त्यसैले राजदूतमाथि लागेको यो आरोपको सत्यतथ्यलाई जति सक्दो चाँडो बाहिर ल्याउन दूताबास र सम्बन्धित पक्ष लाग्नुपर्ने देखिन्छ । रबि लामिछानेद्वारा संचालित उक्त कार्यक्रममा स्काइप भिडियोमार्फत् आफ्ना कुराहरूलाई सार्वजनिक गरेका वान्चु पोट्रेक्सन भिसामा यही अस्ट्रेलियामा छन् । नेपाल न्युज अस्ट्रेलियासँग कुरा गर्दै राजदुत शेर्पाले राजदूतको पदभार सम्हाल्न आउँदा धेरै नै विश्वास गरी आफूसँगै ल्याएको वान्चुले पीआरको लोभमा बदमासी गरेको बताउने लक्की अब यो बिषय अदालतसम्म पुगिसकेकोले छिनोफानो भएपछि यथार्थ कुराहरु बाहिर आउने बताइन् । राजदुत माथि लागेको यो आरोप ब्यक्तिब्यक्ति बीचको झगडामा सीमित देख्नु कदापि राम्रो हुँदैन । यो आरोपको सत्यतथ्य र दशीसहित छिनोफानो नभएसम्म राजदूतको भूमिका कस्तो रहन्छ भन्ने बिषयलाई यहाँको नेपाली समुदायले विशेष चासोका साथ हेरेको छ । अदालतमा पुगिसकेको यो मुद्दाका बारेमा यहाँको नेपाली समाज र सामाजिक संजालमा जुन रुपले प्रतिक्रियाहरु देखिएको छ त्यसलाई सम्बोधन मात्रै होइन राजदूत पदको गरीमालाई बचाइराख्न पनि लक्की शेर्पाले आफूलाई निस्कृय बनाउने छिन् भन्ने आशा राख्नु अन्यथा हुने छैन । किनकि लक्कीले नेपालको मात्रै होइन अन्तर्रास्ट्रिय राजनीति र कुटनीतिलाई राम्रोसँग बुझेकी छिन् पढेकी छिन् । त्यति मात्रै होइन यो गम्भीर विषय हो, यहाँ कुरा आरोपको होइन, नेपाल र नेपालीको प्रतिष्ठा र ईमानको हो । भोलि यहाँका संचार माध्यामले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा मानव तस्करमा संलग्न भनेर पत्रिकामा लेखेको पढ्न र टेलिभिभिजनमा देखाएको हेर्ने दिन नआओस् भन्ने हो । नेपालको अन्तर्राष्ट्रिय छवि जोगाउँदै यहाँका नेपालीको स्वाभिमानको सम्मान कसरी गर्न सकिन्छ भन्नेतर्फ राजदूत गम्भीर भएर सोंच्नुपर्ने वेला आएको छ । राजदूतावासले २०७५ साल मङ्सिर १४ को मितिमा बेनामी प्रेस बिज्ञप्ति निकालेर यहाँको नेपाली समाजलाई गुमराहमा राख्ने कोशिस गरेको देखिन्छ । बिज्ञप्तिमा वान्छु शेर्पालाई आफ्नो निवासबाट बहुमूल्य सामान चोरी गरेको र अस्ट्रेलियामैं लुकेर बसेको आरोप लगाइएको छ । यस्ता पत्रहरुलाई सामाजिक संजालमार्फत् नै सार्वजनिक गर्नुलाई दूताबासको अपरिपक्व कार्य मानिन्छ । विज्ञप्तिको पूर्णअंश– अर्कोअर्फ भने आरोपी वाञ्छु शेर्पाले आफ्नो अवस्थाको बारेमा अस्ट्रेलियन सरकारलाई आवश्यक सबै जानकारी गराएको र आपूु निर्दोष ठहरिएको दावी गरेका छन् । आफू निर्दोष ठहरिएको बताउने वान्छु आफूले खतराको महसुस गरेर नेपाली समुदायमाझ सार्बजनिक हुन नसकेको गोप्य स्रोतमार्फत् जानकारीमा आएको छ । हाल उनी प्रोटेक्सन भिसामा छन् । राजदूताबासको लुकेर बसेको भन्ने आरोपलाइ झुटो साबित गर्न किन उनले आफ्नो प्रोटेक्सन भिसा सार्वजनिक गर्न सकेका छैनन् ? भन्ने तर्कहरु अहिले उब्जिन थालेका छन् । वान्छुले आफू यहाँ आउदा तेत्तिस लाख रुपैयाँ तिरेर आएको बताए । उनीसँग सम्बन्धित लिखतको पूर्णअंश– मलाई (राजदूतलाई) “कुटनीतिक प्रतिरक्षा“ (Diplomatic Immunity) हुन्छ र ममाथि उपर साधारण कानून, जस्तो पक्राउ गर्ने, थुन्ने, अपराधिक कार्य गर्यो भनेर मुद्दा चलाउन सक्दैन भन्ने मनसाय नराखी आफूमाथि लागेको आरोपको जतिसक्दो चाँडो टुंगो लगाउनेतर्फ राजदूत र राजदूताबास सक्रिय बनोस् । किनकि देशको आधिकारिक प्रतिनिधि राजदूत हो, जसको आचरण र ब्यबहारले मुलुकको पररास्ट्र मामिलामा मात्रै होइन प्रतिष्ठामा समेत प्रभाव पार्दछ । धेरैको चाहना र कामना छ कि राजदूतमाथि लागेका आरोप झुटो प्रमाणित होस् । अनि नेपाल र नेपालीको ठाडो शिर झुक्न नपरोस् । हो लक्की शेर्पा कसैकी छोरी, कसैकी श्रीमती त कसैकी दिदीबहिनी र कसैकी आमा हुन् । परिबार र आफन्तसँगको आफ्नै खालको समन्ध र सामिप्यता सबैको नै हुन्छ तर सावर्बजनिक ओहोदामा बसेकाहरुले आफ्नो पद अनुसारको जिम्मेवारीलाई काँधमा बोक्न सके भने मात्र कार्यकाल सफल भएको मानिन्छ । हामीले आशा गरौं यो सवालमा नेपाली राजदुतलाई सफलता मिल्नेछ । संबिधान सभा सदस्य (सन् २००८–२०१२) को भूमिका निर्बाह गरिसकेकी शेर्पा पहिलो जनजाती महिला राजदूत पनि हुन् । नेपालको वर्तमान परिप्रेक्ष्यमा अगाडी बढ्न प्रसस्त सम्भावना बोकेकी लक्की शेर्पामाथि लागेको यो आरोपका बारेमा यहाँको केही नेपाली संघ सस्थाहरुले आफ्नो धाराणा सार्बजनिक गरिसकेका छन् । यस्तो स्थितिमा राजदुतलाई केही समूहले उक्साउन खोज्लान् त कुनै समूहले मुद्दाको टुङ्गो नलाग्दासम्म निस्कृय हुनुपर्छ भनेर आवाज निकाल्लान् यस्ता सवालहरु आआफ्नै ठाउँमा ठिक होला । तर राजदूतले कसको तर्कलाइ ठिक मान्नेभन्दा पनि कानुनी राज भएको राष्ट्र यो अस्ट्रेलियामा आगामी दिनमा अझ कसरी राजदूतावासको भूमिका र प्रभावकारिता बढाउन सकिन्छ भन्नेतर्फ आफू र दुताबासलाई केन्द्रित गर्दा उत्तम देखिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्