नेभिगेशन
कला/शैली

सिड्नीमा गजल मुशायरा २०१८ आयोजना हुँदै

सिड्नी । सन् २०१४ देखि हरेक वर्ष मोती जयन्तीको अवसरमा सिड्नीमा आयोजना गरिदै आएको सम्पूर्ण गजल कार्यक्रम “गजल मुशायरा”को पाँचौ श्रृंखला “गजल मुशायरा २०१८” आगामी २३ सेप्टेम्बर आइतबारका दिन गजल मुशायरा परिवारको आयोजनामा र बाबा एजुकेशन कन्सल्टेन्सीको टाइटल स्पोन्सरसिपमा सिड्नी हर्स्टभिल स्थित सिभिक थिएटरमा आयोजना हुँदैछ । नेपाली गजल लेखन र वाचनको एउटा साझा र लोकप्रिय थलोको रुपमा गजल प्रेमी माझ लोकप्रिय रहेको गजल मुशायराको यो नियमित शृंखला यहाँसम्म आइपुग्दा सिड्नीमा ४ वटा र सिड्नी बाहिर ब्रिसबेनमा सन २०१७ मा र एडिलेडमा सन २०१८ मा एक एक वटा गरि ६ वटा कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भैसकेका छन । “गजल मुशायरा परिवार” ले यी कार्यक्रमहरु आयोजना गर्दै आएको छ । गजल मुशायरा परिवार बिश्वभरि छरिएर रहेका गजलप्रेमीहरुको एउटा संजाल हो, जस्ले गजल मुशायराका हरेक कृयाकलापहरुको व्यबस्थापन गर्दै यिनलाई गतिशीलता दिने काम गर्दै आएको छ । गजल मुशायरा परिवारका कार्यक्रम र नियमित गतिविधिहरु लगायत सिड्नीमा हरेक बर्ष आयोजना हुने “गजल मुशायरा” को संयोजन हाल अष्ट्रेलियाको सिड्नीमा रहदै आउनुभएका गजलकार जितेन्द्र मल्लले गर्दै आएका छन् । यस अघि सम्पन्न ब्रिसबेनको कार्यक्रमको संयोजन केशव शर्माले गरेका थिए भने एडिलेडमा सम्पन्न कार्यक्रम अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाले मिलन दाहालको संयोजनमा भएको थियो । हिजोआज समुदायमा हुने धेरै कार्यक्रमहरु अनावश्यक औपचारिकताले थलिएर कार्यक्रमको मुख्य बिषय नै ओझेलमा पर्ने गरेको छ । उदाहरणको लागि कुनै एउटा सांगीतिक कार्यक्रम गरियो भने आशन ग्रहण र भाषण धेरै गरिन्छ र सांगीतिक कार्यक्रमसम्म पुग्दा दर्शकहरुमा त्यो कार्यक्रमप्रतिको आकर्षण हराई सकेको हुन्छ । गजल मुशायरा यस्तो कार्यक्रम हो जसमा कुनै पनि अनावश्यक औपचारिकता समाबेश गरिएको हुँदैन । ’गजल मुशायरामा गजलकारहरु मात्र स्टेजमा जान्छन किनकि यो गजल कार्यक्रम हो । आयोजक मध्येका एक सुरेन्द्र दवाडीले भने । सन् २०१४ मा पहिलो पटक गजल मुशायरा कार्यक्रम आयोजना गर्दा साहित्यिक कार्यक्रम संधै परम्परागत शैलीमा गर्नु पर्छ भन्ने छैन भन्ने उदेश्यका साथ फरक र आकर्षक शैलीमा कार्यक्रम प्रस्तुत गरिएको थियो । गजल प्रश्तुत गर्ने गजलकारहरुको नाम कार्यक्रम अघि नै सार्वजनिक गर्नु , गजल कार्यक्रम भएकाले गजलकारहरुलाई नै स्थान एवं सम्मान दिनु , गजलको स्तरीयतालाई प्राथमिकता दिनु र गजल वाचन, गायन र नृत्य सहितको सम्पूर्ण गजल कार्यक्रम प्रस्तुत गर्नु गजल मुशायराका बिशेषता हुन ्। हाल विश्वका विभिन्नठाउँमा गरिने नेपाली गजल कार्यक्रमहरु गजल मुशायारा कै मोडेलमा गर्ने गरिन्छ। गजल मुशायरा एउटा ट्रेन्ड कायम गर्ने कार्यक्रम बनेकोमा हामी धेरै खुशी छौं । कार्यक्रमका संयोजक जितेन्द्र मल्लले बताए । त्यस्तै बिगतका केहि शृंखला देखि नै गजल मुशायरामा भूटानी नेपाली समुदायको सहभागिता रहँदै आएको छ । गजल मुशायराले अस्ट्रेलियामा नेपाली भाषी भूटानी समूदायलाई नेपाली समुदायसंग जोड्ने साहित्यिक सेतुको काम गरेको छ । अल्बेरी निवासी भूटानी नेपाली गजलकार तथा गजल मुशायराका अभियन्ता दुर्गा रिमालले भने । गजल मुशायराको सिड्नीमा आयोजना हुने बार्षिक शृंखलामा सिड्नी बाहिरका गजलकारहरुलाई समेत समाबेश गर्ने प्रयास हुँदै आएको छ र फलस्वरूप अहिले सम्म वेस्टर्न अष्ट्रेलियाको पर्थ, भिक्टोरियाको मेलबर्न, तास्मनियाको लंसेस्टन, न्यू साउथ वेल्सको अल्बेरी एवम क्विन्सल्याण्डको ब्रिसबेन र सनसाइन कोष्टबाट गजलकारहरुले सहभागिता जनाइसक्नु भएको छ । यो अभियानमा अष्ट्रेलियाका विभिन्न शहरमा बसोबास गर्ने नेपाली भाषी भुटानी सर्जकहरुको सहभागिता र सहयोग उल्लेखनीय रहेको छ । यो अभियानलाई स्थानीयतहसम्म लान अझ प्रभावकारी र सशक्त बनाउन सिड्नी बाहिर ब्रिसबेन र एडिलेडमा आयोजित शृंखलाहरुमा धेरै स्थानीय गजलकारहरुको सहभागिता रहिआएको छ, र यसले गजलमा सामान्य रुचि भएका धेरै साहित्यप्रेमीहरुलाई गजल लेखन तर्फ आकर्षित गरेको प्रतिक्रिया प्राप्त भएको छ । गजल मुशायरा ब्रिसबेन संस्करणका संयोजक केशव शर्माले भने । यो बाहेक अष्ट्रेलियाका अन्य शहरहरु र अन्तराष्ट्रिय रुपमै ‘गजल मुशायरा’ को बिस्तारको लागि बिशेष अनुरोधहरु प्राप्त भएका छन । गजल मुशायरा परिवारका सदस्यहरू अहिले मलेशिया, कतार, युएई, अमेरिका, नेपाल लगायतका देशहरूमा सकृय हुनुहुन्छ । यस अर्थमा एउटा बिशेष संरचनामा संचालन हुने यो कार्यक्रम बिश्वब्यापी अभियानको रुपमा स्थापित हुने क्रममा रहेको छ । जुलाई २०१७ देखी गजल मुशायराको फेसबूक पेज (www.facebook.com/ghazalmushayara) मा शुरु गरिएको 'गजल मुशायरा लाइभ' ले विश्वभरि छरिएर रहेका नेपाली गजल सर्जकहरुलाई लाईभ प्रस्तुत गरिरहेको छ । सबैबाट राम्रो प्रतिक्रिया प्राप्त भैरहेको यो जमर्कोले एक बर्ष पुरा गरि सक्दा चौध देशमा छरिएर रहनुभएका करिब ८० जना सर्जकहरु फेसबूक लाईभमा प्रस्तुत भैसक्नु भएको छ र यो क्रम जारी छ । गजल मुशायराको यो पाँचौ श्रृंखला एउटा बिशेष श्रृंखला हुनेछ, जसमा अस्ट्रेलियामा रहेका २५ जना गजलकारहरुले दुई दुई वटा गरी ५० वटा गजल बाचन गर्नु हुनेछ ।गजल मुशायरा २०१८ मा सहभागीहुने गजलकारहरुमा सिड्नीबाट गणेश गौतम, गणेश कंडेल, शिवजी भण्डारी, सुशील शर्मा सापकोटा, गोविन्द दवाडी, निष्प्रभ सजी, नैना निर्झरा, सजल नयन, दिपक निरौला, राज गुरुङ, सिर्जना थापा, बुद्धिसागर दवाडी, निमेष भण्डारी, प्रेम अधिकारी, जितेन्द्र मल्ल, आदर्श कार्की, ककमकार अधिकारी, र बिष्णु प्रसाद अधिकारी, बौरल, न्यू साउथ वेल्सबाट निरज जोशी, अल्बेरी न्यू साउथ वेल्सबाट दुर्गा प्रसाद रिमाल, क्यानबेराबाट विनायक अधिकारी, ब्रिसबेनबाट केशव शर्मा र मन्दिरा सापकोटा, मकाई, क्विन्सल्याण्डबाट सन्तोषी लामिछाने, र एडिलेडबाट प्रकाश धमला रहेका छन् । कार्यक्रममा गजल बाचनको अतिरिक्त निखिला चापागाईं, मनिषा न्यौपाने र शमिका जि. सि. को गजल नृत्य एबम निशान ढकाल रियाजको गजल गायन पनि समाबेश गरिएको छ । सुरेन्द्र दवाडी र रामकान्त न्यौपानेको सञ्चालन रहने यस कार्यक्रममा सहभागी भै गजल बाचन, गायन र नृत्यको मज्जा लिनुका साथै नेपाली गजलको प्रबर्धन गर्ने हाम्रो सानो प्रयासमा सहभागी भैदिनुहुन गजल मुशायरा परिवार सबैमा सादर अनुरोध गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्