नेभिगेशन
खेलकुद

विश्वकप फुटबलः रोमाञ्च, राजनीति र ईतिहास

- डिल्लीराज पाण्डेय

विश्वव्यापी रूपमा फुटबलको ज्वरो आएको छ, फुटबलप्रियताको यो ज्वरोले सबै देश, जाति, वर्ण र सम्प्रदायलाई एउटै भावनामा समाहित गरेको छ । विश्वलाई एकताको सन्देश दिनु यो प्रतियोगिताको चमत्कार नै हो भन्दा अन्यथा मान्नु पर्दैन । विश्वकप खेल्नु नै फुटबल खेलाडीको पहिलो र अन्तिम सपना हुन्छ । यही विश्वकपले फुटबलका सर्वकालीन महान् खेलाडीहरूलाई आफ्नो अंश समेत बनाएको छ । ब्राजिलका गल्लीमा मोजाको बल बनाएर खेल्ने आरान्तोस डि नासिमोन्तो एउटा यस्तै अंश हो जस्ले विश्व फुटबलमा स्वर्णिम इतिहास रच्यो र कालान्तरमा पेले भनेर चिनियो । उरुग्वेदेखि रसियासम्म आइपुग्दा यसले ८८ वर्ष लामो यात्रा तय गरेको छ जस्ले यसलाई महान् अभियान पनि बनाएको छ । विश्व फुटबलको चर्चा गर्नेबित्तिकै अर्जेन्टिनाका डिएगो माराडोनाको हातेगोलको प्रसंग छुट्दैन । मेक्सिकोमा सन् १९८६ मा भएको विश्वकपको क्वार्टर फाइनलमा इंग्ल्याण्डविरुद्ध गरेको हातेगोलको चर्चा सर्वदा भइरहन्छ । यो यस मानेमा पनि अर्थपूर्ण थियो कि दुवै मुलुक एकअर्काका कट्टर दुश्मन थिए । उक्त विश्वकपभन्दा दुई वर्षअघि इंगल्याण्डले अर्जेन्टिनाको टापु फोकल्याण्डमा आक्रमण गरेर नियन्त्रणमा लिएको थियो । तेल र प्राकृतिक ग्यासमा कहलिएको उक्त टापु अर्जेन्टिनाबाट नजिक र इंगल्याण्डबाट कोसौं टाढा पर्छ । आज पनि फोकल्याण्ड अर्जेन्टिनालाई फिर्ता गरिरहने चर्चा चलिरहन्छ । इंगल्याण्डले गोर्खा सैनिकको सहयोगमा फोकल्याण्ड आफ्नो नियन्त्रणमा लिएको थियो । म्याराडोनाको त्यही हातेगोल प्रतिशोध बिसाउने भरपर्दो सहारा बन्यो अर्जेन्टिनाका लागि । रेफ्रीले हातले गोल गरेको नदेखेपछि म्याराडोनाले त्यसलाई ‘भगवान्को हात’ भन्ने प्रतिक्रिया दिएका थिए । बेलायती प्रशिक्षक बबी रब्सनले भने त्यसलाई ‘दुष्टको हात’ भनेर आफ्नो रीस शान्त पारेका थिए । त्यो खेलमा दोश्रो गोल पनि म्याराडोनाले नै गरेका थिए जुन शताब्दीकै उत्कृष्ट गोल मानिन्छ । उनले गोलकिपरसहित ६ खेलाडीलाई छक्याएर ऐतिहासिक गोल गरेका थिए । इंगल्याण्डले गरेको १ गोलले उसलाई सान्त्वनाबाहेक केही दिएन । खेल अर्जेन्टिनाले २–१ ले जित्यो । फाइनलमा अर्जेन्टिनाले जर्मनीलाई ३–२ ले पराजित गरी उपाधी जित्यो । खेल पनि विना हतियारको एउटा युद्ध हो । हतियारको युद्धमा अर्जेन्टिना पराजित भए पनि खेलयुद्धमा इंगल्याण्डले पराजयको स्वाद चाख्न परेको थियो । इंगल्याण्डलाई परास्त गरेर नायक बनेका म्याराडोनाले खेलयुद्धमा गोर्खाली नभएकाले जितेको प्रतिक्रिया दिएका थिए । होंचा कदका नायक म्याराडोना त्यस वेलादेखि नै नेपालीको मन, मष्तिष्कमा सधैंका लागि अविष्मरणीय बने । सन् १९८६ को विश्वकपमा फाइनल खेलभन्दा इंगल्याण्डविरुद्ध अर्जेन्टिनाले खेलेको क्वार्टर फाइनल कालजयी बन्यो । २२ जुन १९८६ मा मेक्सिकोको अजतेक रंगशालामा खेलिएको त्यो खेल हेर्न करिब लाख जति दर्शक उपस्थित थिए । मध्यान्तर अघिसम्म खेल चुस्त चल्यो तर खेलको ५१ मिनेटमा अर्जेन्टिनाका जर्ज बान्दानोले दायाँ कर्नरबाट मध्यपंक्तिमा बल फ्ँयाके जुन बल म्याराडोनालाई पास दिइएको थियो । बलले सही दिशा लिएको थिएन । बल इंगल्याण्डका कप्तान स्टिभ हजले सजिलै नियन्त्रणमा लिने अवस्था थियो तर उनीबाट बल फुस्किएर डिएरियामा पुग्यो । बललाई झम्टन ६ फुट १ इन्च अग्ला गोलरक्षक पिटर सिल्स पुगे । त्यही मौकामा होंचा कदका म्याराडोनाले बललाई हेड गरेजस्तो गरी हातले पोस्टको दिशा देखाइदिए । खेलपछि म्याराडोनाले भने– ‘वास्तवमा रेफ्रीले उक्त गोललाई मान्दैनन् जस्तो लागेको थियो । हामी गोलको खुशी चिच्याइ चिच्याइ मनाइरहेका थियौं । यो गोलमा मेरो टाउको थियो भने केही हदसम्म भगवान्को हातले काम ग¥यो ।’ भोलिपल्ट छापिएका अखबारका तस्वीरमा हातले बल छोएको स्पष्ट देखिन्थ्यो । ट्युनिसियाका रेफ्री आली बेनासुरले आफ्नो निर्णय परिवर्तन गरेनन् । यो गोल भएको ३ मिनेटपछि नै म्याराडोनाले आफ्नो प्रतिभाप्रति न्याय गरे जसलाई शताब्दीकै उत्कृष्ट गोल मानिन्छ । खेलको ५४ औं मिनेटमा मध्य भागमा हेक्टर एनरिकले म्याराडोनालाई बल पास गरे । म्याराडोनाले मात्र १० सेकेन्डमा रक्षा र मध्य पंक्तिका चार खेलाडी हर्ज बेयडेस्ली, बुचर र फेलविकलाई छक्याएर बल अगाडि बढाए । त्यसपछि ठीक अगाडि रहेका रक्षक सिल्टनलाई छक्याएपछि गोलकिपरलाई हल्का बायाँ छाडेर बललाई जाली चुमाइदिए । यो गोल देखेर रंगशालामा दर्शकहरू अलमलमा परे भने पहिलोपटक रंगीन टेलिभिजनबाट फुटबलको स्वाद लिइरहेका दर्शक समेत तीनछक्क परे । विश्व २०१८ को समापनसँगै फुटबल जगत्मा केही तरंगहरू उत्पन्न भएका छन् । व्यवसायिक फुटबलमा मात्र कहाँ हो र विश्वकप फुटबलमा समेत युरोपको दबदबा देखिएको छ । युरोपलाई चुनौती दिन सक्ने दक्षिण अमेरिकी राष्ट्रहरूको प्रदर्शन अपेक्षाकृत कमजोर हुनुले फुटबलको शक्ति सन्तुलनमा गम्भिर बदलाव आएको छ । कुरा ब्राजिलबाट गर्रौं । भन्ने गरिन्छ फुटबल इंगल्याण्डमा जन्मियो र त्यसलाई हुर्काउने काम ब्राजिलले ग¥यो । ब्राजिलमा फुटबलको प्रियता बेजोड छ । ब्राजिक एक मात्र त्यस्तो देश हो जस्ले विश्वकपका सबै संस्करण खेलेको छ । यो आफैमा एउटा गर्विलो ईतिहास हो । ब्राजिल विश्वकपको सबैभन्दा सफल टीम पनि हो । ५ पटक विश्वकप जितेको छ – १९५८, १९६२, १९७०, १९९४ र २००२ को विजेता हो । २०१४ को पीडा बिसाउने एउटा सुनौलो अवसर ब्राजिलका लागि २०१८ को विश्वकप थियो परन्तु त्यो आशा निराशामा परिणत भयो । ब्राजिल, बेल्जियमको हातबाट पराजित भयो । युरोपलाई चुनौती दिन सक्ने राष्ट्र भनेकै दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र ब्राजिल हुन् । यी दुवै टीमको असफलताले फुटबल शक्ति नजानिँदो ढंगले एकध्रुवीय हुने खतरा उत्पन्न भएको छ । अर्जेन्टिनाको विश्वकप छनोट नै शंकट नै शंकटबाट गुज्रिएको थियो । छनोट चरणको अन्तिम खेलको नतिजाले अर्जेन्टिनाको विश्वकपको बाटो जुरेको थियो । छनोट चरणमा लियोनल मेसीको ह्याट्रिकको कारणले अर्जेन्टिना विश्वकप फुटबल २०१८ मा छनोट भएको थियो । ‘फुटबल त्यति साह्रो कहालिलाग्दो परिस्थितिमा पनि हुँदोरहेछ । खासमा फुटबलले मानिसलाई दुःखको बेलामा पनि केही क्षण हाँस्ने बहाना दिन्छ । मानिस जति नै बूढो होस् अथवा युवा फुटबलले सबैको मनमो खुशी दिन सक्छ ।’ माथिका भनाइहरू रुसी राष्ट्रपति भ्यादिमिर पुटिनका हुन् । पुटिनको जन्म दोश्रो विश्वयुद्ध लगत्तै लेनिनग्रादमा भएका थियो । अचेल यसलाई सेन्ट पिटर्सवर्ग भनिन्छ । उनले सानो छँदा दोश्रो विश्वयुद्धताका त्यस शहरमा कस्तो भयावह स्थिति थियो भनेर धेरै सुने । जाडोमा रुसतिर कति धेरै जाडो हुन्छ त्यो अनुमान नै गर्न सकिन्न तर युद्धका वेला ९ सय दिनसम्म लेनिनग्रादमा बत्ती र पानीको आपूर्ति ध्वस्त भएको थियो । मान्छेको जीवन त्यतिवेला निकै कष्टकर थियो तर त्यस्तो दुःख र अभावको वेला पनि मानिसले फुटबल खेल्न भने छाडेनन् । खेल र राजनीतिको सन्दर्भमा नचाहेर पनि इतिहासको प्रसंग कोट्याउनुपर्ने नै हुँदो रहेछ । सन् १९८० को ओलम्पिक तत्कालीन सोभियत संघमा भएका थियो । राजधानी मस्कोले त्यस गृष्मकालीन ओलम्पिकको आयोजना गरेको थियो । सोभियत संघ त्यतिवेला आफ्नो अस्तित्वको उत्कर्षमा थियो । अनि त्यही समय थियो जतिवेला तेश्रो विश्वयुद्ध आज हुने हो कि भोलि हुने हो भन्ने डरलाग्दो स्थिति थियो । शीतयुद्धको चरम विन्दु थियो त्यो । ओलम्पिकअगाडि सोभियत संघले अफगानिस्तानमा हस्तक्षेप गर्दै आफ्नो सेना पठाएको थियो । यही निहुँ देखाएर अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरूले त्यो ओलम्पिक बहिष्कार गरेका थिए । यस्तोमा पूरा ओलम्पिक विवादित बन्यो । साँच्चै त्यो सोभियत संघ र त्यसका समर्थक देशको खेल महोत्सव जस्तो मात्र रह्यो । त्यतिवेला अमेरिका तथा पश्चिमी देशहरूले सोभियत संघलाई वास्तवमा एक्लै पार्न सफल भएकै थिए । अब पनि शायद पश्चिमी देशको इच्छा त्यस्तै थियो कि, प्रश्न नसोझिएको भने होइन । कम्तिमा पश्चिमा मिडियाको प्रयास त त्यस्तै थियो । जतिवेला रुसले यस विश्वकप आयोजनाको अवसर पाएको थियो, ठीक त्यही वेला आरोप पनि लगाइयो यसका लागि रुसले फिफा र यसका प्रमुख सदस्यहरूलाई घुस खुवाउने काम गरेको छ । रुसले विश्वकप आयोजनाको अवसर ‘डाँका’ डालेर लिएको हो भन्ने समाचार अझै पनि जताततै पढ्न पाइन्छ । शीतयुद्धको वेला जसरी पश्चिमी र सोभियत संघको सम्बन्ध चिसिएका थियो अहिले पनि पश्चिमा र रुस बीचको सम्बन्ध लगभग उस्तै छ । सिरियाको विवाद कहिले टुंगो लाग्ने हो त्यो तय छैन । युक्रेनको समस्या पनि उस्तै छ । सम्बन्ध खराब छ भनेर देखाउनका लागि हजार कारण दिने गरिएको छ । केही समय अघिसम्म पनि केही खासखास देशले रुसमा हुने विश्वकप बहिष्कार गर्छन् भन्ने हल्ला फैलाइयो तर आखिर त्यस्तो केही भएन । खासमा यसपल्टको विश्वकप रुसमा हुनुलाई पुटिनको कुटनीतिक सफलताको चित्रण गर्ने काम भइसकेको छ । पुटिन यस विश्वकपका निहुँमा रुसलाई एक सूत्रमा बाँध्न चाहन्छन्, रुसी जनताको मनमा उत्साह भर्न चाहन्छन् । त्योभन्दा पनि ठूलो आधुनिक रुस कस्तो छ सबैलाई देखाउन चाहन्छन् । यसको लागि पुटिनले मन खोलेर खर्च गरे । आधुनिक रंगशाला बनाए, विमानस्थलहरू आधुनिकीकरण गरियो । रुस खुला, स्वतन्त्र र समृद्ध देश हो भन्ने सन्देश विश्वलाई दिन सफल भए पुटिन । नेल्सन मण्डेलाको जन्मजयन्तीको अवसरमा अमेरिकाका भूतपूर्व राष्ट्रपति बाराक ओबामाले विश्वकप विजेता फ्रान्सेली टोलीको स्मरण गरे । मण्डेलाको १ सयौं जन्मजयन्तीलाई विशेष रुपमा मनाउने क्रममा बोल्दै गर्दा ओबामाले विविधताको महत्व र त्यसलाई अँगाल्दा हात लाग्ने सफलताको बारेमा गहन विचारहरू राखे । ‘विविधताले समाज र व्यक्तिलाई व्यवहारिक रूपमै सीप र उर्जा प्रदान गर्छ । कसैलाई यसमा द्विविधा भए भर्खरैको विश्वकप जितेको फ्रान्सेली टोलीलाई हेर्न सकिन्छ । उनीहरु अफ्रिकी मूलका भए पनि फ्रान्सेली हुन् ।’ थुप्रै अफ्रिकी मूलका खेलाडी रहेको फ्रान्सेली टोली मस्कोको लुझानी रंगशालामा क्रोएसियालाई ४–२ ले हराउँदा फ्रान्सको विश्वकप विजेता टोली दुई तिहाई अफ्रिकी मूलका खेलाडी थिए । क्रोएसियाविरुद्ध दुई गोल गर्ने खेलाडी अफ्रिकी मूलका हुन् । पाउलो पोग्बा आमाबाबु गुएनाका हुन् भने किलियन एम्बाप्पेका आमाबाबु क्यामरुनी र अल्जेरियन् हुन् । फाइनलमा पहिलो रोजाइबाट खेल्नेमध्ये सामुइल उमिटी क्यामरुनमा जन्मिएका हुन् । क्लाइसे मातौडी आमाबाबु एंगोला र कंगोका हुन् । यसैगरी एंगोलो कान्टेका आमाबाबु मालीका हुन् । राफेल भेरानका पिता क्यारेबियन टापु मार्टिनिकका हुन् । कप्तान ह्युगो लोरिस, एन्टोनियो ग्रिजमन र ओलिभर जिरोड भने युरोपियन मूलकै हुन् । यसैगरी भेनेजुएलाका राष्ट्रपति निकोलस माडुराले खेलाडीको मूलको विषयमा कुरा गर्ने क्रममा रुस विश्वकपको असली विजेता फ्रान्स नभई अफ्रिका भएको बताएका थिए । फ्रान्सेली टिम यसो हेर्दा अफ्रिकी टिमजस्तो लाग्छ । वास्तवमा यो विश्वकप अफ्रिकाले नै जितेको हो । त्यहाँका अप्रवासीहरुले जितेका हुन् । अफ्रिकाका छोराहरूले जितेका हुन् । व्यवसायिक फुटबलको आकाशमा अद्भुत लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोका लागि भने २०१८ को विश्वकप सुखद् रहेन । व्यवसायिक फुटबलमा राज गरिरहेका यी नायकहरू २०२२ को विश्वकपमा देखिने छैनन् सायद । विश्व फुटबलको नक्सामा दोश्रो मेसी या रोनाल्डोको खोजी गर्नु निकै हतारो हुनेछ । यो विश्वकपमा पहिलोपटक ख्ब्च् को प्रयोग गरिएको थियो । यो आफैमा नयाँ क्रान्ति पनि हो । वैज्ञानिकहरूले समेत यो विश्वकप पछ्याइरहेका थिए । फुटबलका विभिन्न एरोडाइनामिक्स, मानसिक र शारीरिक पक्षको अध्ययन गर्न हरेक सेकेण्ड वैज्ञानिकहरूले आफ्नो विज्ञपता प्रयोग गरे । समग्रमा विश्वकप २०१८ सफल नै मान्नुपर्छ । रोमाञ्च, राजनीति र इतिहासका त्रिवेणीहरूमा नुहाएर यो विश्वकप समापन भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।