नेभिगेशन
नेपाल समाचार

“नेपाल अस्ट्रेलिया बिजनेस फोरम २०१८”

दुईपक्षीय सम्बन्ध विस्तारमा नयां आयाम

डा. भरतराज पौडेल

नेपालमा वैदेशिक लगानी भित्र्याउन पछिल्लो चरणमा गरिएको भनिएका नीतिगत प्रयास कत्तिको फलदायी होलान् त्यसको नतिजा पर्खन अझै केही वर्ष लाग्नेछ । तर यसैवेला विदेशस्थित नेपाली कूटनीतिक नियोग र अवैतनिक कार्यालयहरू सक्रिय हुन थालेको खबरले भने प्रवासी नेपाली र नेपालीहरूको बसोबास रहेको देशका लगानीकर्ताहरूलाई केही न केही सूचनासँगै नेपालमा लगानीको बातावरण भएनभएको एकिन गर्न सजिलो भने अवश्य हुने देखिन्छ । यो पटक नेपाली दुतावास क्यानबेरा र भिक्टोरियास्थित नेपाली महावाणिज्यदुतको कार्यालयले गएको जुन ३० तारिखका दिन नेपाल लगानी बोर्ड सँगको सहकार्यमा “नेपाल अस्ट्रेलिया बिजनेस फोरम” नाम दिएर अस्ट्रेलियाको मेलवर्नस्थित मन्त्र होटलमा एक बृहत सम्मेलन आयोजना गरे । अस्ट्रेलियाका विभिन्न पार्टीका नेता, सांसद तथा नेपाली एवम् अस्ट्रेलियाली लगानीकर्ता, सामुदायिक नेता, बुद्धिजीवि र यहाँ कार्यरत नेपाली र अस्ट्रेलियाली नेपाली मिडियाका प्रतिनिधीहरूलाई समेत बोलाइएको यो बिजनेस फोरमलाई सम्बोधन गर्दै नेपाली राजदुत लक्की शेर्पाले आगामी दिनमा अस्ट्रेलियाको लगानी नेपालमा बढाउन फोरम फलदायी हुने विश्वास ब्यक्त गरिन् । अस्ट्रेलियासँग कायम रहेको हाम्रो बढ्दो ब्यापार घाटा कम गर्न अब सबै क्षेत्र सक्रिय हुने वेला आएको बताउँदै राजदुत शेर्पाले अब अर्को चरणमा यो फोरमलाई सबै राज्यमा विस्तार गरेर नेपालको बर्तमान सरकारले तय गरेको समृद्धिको यात्रामा योगदान दिन सबै एकजुट भएर लागि पर्नुपर्ने बताइन् । यसपटक नेपालमा लगानीको वातावरण अनुकुल रहेको सन्देश दिन फोरममा आइपुगेका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले देशमा स्थिर सरकार, कानुनी प्रावधानहरूको यथोचित ब्यवस्था गरिएका कारण बैदेशिक लगानीको लागि नेपाल सुरक्षित रहेको जिकिर गरे । अस्ट्रेलियाबाट गैर आवासीय नेपाली र अस्ट्रेलियाली लगानीकर्ताहरूलाई विश्वास दिलाउने काम आफूहरूको भएको अधिकारीले बताए । राजनैतिक स्थिरतासँगै लगानीबारे नेपालको परिवर्तित अवस्थाका बारेमा जानकारी दिन मेलबर्नमा नेपाल–अस्ट्रेलिया बिजनेस फोरम आयोजना भएको आयोजकले उल्लेख गरे पनि केही प्रबासी नेपाली ब्यवसायी र समुदायका नेताहरूले आफूहरूलाई खासै वास्ता नगरिएको गुनासो भने गरेका थिए ।

बिजनेस फोरमले समेटेका विषय र सार

योपटक उद्देश्य राम्रो लिएर आयोजना गरिएको भए पनि जानकारी दिनपर्ने विषयमा राम्रो छनौट गर्न नसकिँदा धैर्य गरेर नेपालका बारे जानकारी लिन चाहने अस्ट्रेलियनमध्ये केहीलाई पट्यार लागेको स्पस्ट देखिन्थ्यो । तर पनि फोरममा नेपाल लगानी बोर्डका तर्फबाट रतिस बस्न्यातद्वारा प्रस्तुत “नेपालमा लगानीको बातावरण र अबसरहरू” अनि युवा उद्यमी मंगेशलाल प्रधानद्वारा “नेपाल रुपान्तरणका परिकल्पना” बारे गरिएको प्रस्तुतीले भने सहभागीहरूको ध्यान तान्न सफल भएको थियो । हुन पनि नेपालले आगामी २०३० सम्ममा आफूलाई विश्वमा मध्यम स्तरको आम्दानी हुने देशको रूपमा दर्ता हुने लक्ष्य लिएको छ र त्यसैको लागि विज्ञ तथा नीति निर्माताहरू नेपालमा वर्षेनी कम्तिमा १७ खर्ब रुपैयाँ बराबरको लगानी जरुरत पर्छ भन्ने गर्छन् । अनि हामी दुई अंकको आर्थिक बृदिको कुरा गरिरहेछौँ जसका लागि रेमिटेन्सको मात्र भर होइन सबै सेक्टरको उत्तिकै क्रियाशिलता जरुरी छ । अहिले पनि हामी ५–६ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि गर्ने अवस्थामा रहेका छौं । यसपटक मेलबर्नमा आयोजित फोरमले विदेशस्थित अन्य कुटनीतिक नियोग र अवैतनिक कार्यालय तथा गैरावासीय नेपालीहरूमा नेपाल विश्वका लागि लगानीमैत्री देश हो भनेर सन्देश दिने खालका कार्यक्रमहरू आयोजना गर्न दबाव परेको छ । मानव विकास सुचाङ्कमा १ सय ४४ औं र क्षेत्रफलका हिसाबले ९३ औं ठूलो देश हो नेपाल दक्षिण एशियाको एउटा सानो देश नेपालबाट जुन अनुपातमा अस्ट्रेलिया लगायतका देशसँग ब्यापारिक कारोबार वा दोहोरो सम्मानजनक अनुपातमा आयात निर्यातको सन्तुलन कायम गर्नेतर्फ प्रयास हुन पथ्र्याे, त्यो हुन नसक्नुमा अहिलेसम्म त हामी विगतको राजनीति, द्वन्द्व वा संक्रमणकाललाई दोष दिएर उम्कन सकौँला तर अब परिस्थिति फेरिएको छ । यसपटक मेलबर्नमा यही बिषयलाई सबै प्रस्तोताले बारम्बार दोहो¥याए । लामो समयपछि नेपालमा बहुमतको बलियो सरकार बनेको छ र यतिवेला विकास र विश्व मानचित्रमा नेपालको स्थानमाथि पु¥याउन कति योगदान पु¥याउन सकिन्छ त भन्नेबारे सबै तर्फबाट बहस पैरबी गर्नुपर्ने बेला आएको छ । क्षेत्रफलमा आधुनिक विश्वको छैठौं ठूलो, अर्थतन्त्रमा १९ औं र मानव सुचाङ्कका हिसाबले दोस्रो ठूलो देश अस्ट्रेलियासँग नेपालले साइनो गाँसेको बर्ष १९६० लाई हेर्दा पनि एक जुग भइसक्यो । त्यति मात्र होइन छिमेकी देश भारतसँगको कहालीलाग्दो ब्यापारघाटा कम गर्न होस् वा हामीले अन्य देशहरूसँग ब्यापार साझेदारी र सम्झौता गर्न नसक्नुलाई ठूलै कमजोरी मान्नुपर्छ । दुईपक्षीय लगानी प्रबद्र्धन र सुरक्षा सम्बन्धी सम्झौता (BIPPA) गरिएका देशहरूमा जर्मनी, फ्रान्स, बेलायत, मरिसस, फिनल्यान्ड र भारत रहेका छन् भने भारतसँग २०११ मा गरिएको बिप्पाको अनुमोदनको अपडेट छैन । यसपटक नेपाल बिजनेस फोरममा नेपाल लगानी बोर्डका एक प्रतिनिधि रतिश बस्न्यातले दोहोरो कर प्रणाली (DTAA) नराख्ने सम्बन्धी सम्झौता भएका देशहरूको बारेमा अलि बढी चर्चा गरे । यी देशहरूमा चीन, भारत, कतार, मरिसस, अस्ट्रेलिया, नर्वे, थाइल्यान्ड, श्रीलंका, पाकिस्तान र दक्षिण कोरिया रहेका छन् भने दोहोरो कर प्रणाली लागू नगर्ने सहमति भएका झन्डै ८ हजार नेपाली आइटमको चिनियाँ बजारमा ड्युटी फ्री एक्सेस र अमेरिकी बजारमा ६६ प्रकारका नेपाली गार्मेट उत्पादनको पहुँच पुग्ने ब्यवस्था भएको थियो । तर भारतसँग DTAA भए पनि कतिपय सामानको बजार पहुँच अझै पनि बन्न सकेको छैन । यस हिसाबले हेर्ने हो भने नेपाली उत्पादन सेवाको ब्यापार बढाउन नेपाली आर्थिक कुटनीतिको सही उपयोग गर्नुपर्ने बेला भएको छ र अस्ट्रेलियामा यसपालि आयोजित बिजनेस फोरम यही अभियानतर्फ एउटा सानो प्रयास हुन सक्ने देखिन्छ । वि.सं २०१६ फागुन ३ गते बिपी कोइरालाको सरकार रहेका बेला कुटनीतिक सम्बन्ध स्थापित देश अस्ट्रेलियामा नेपाली दूतावास खुलेको पनि १२ वर्ष भइसक्यो । यसको मतलब गएको दशक सक्रिय ठानिएको हाम्रो कुटनीतिको वजन र दबावमार्फत् आपसी सम्मान र हितका आधारमा दुबै देशलाई हित हुने ब्यापार, शिक्षा, स्वास्थ्य, प्रविधि, अनुसन्धान र विकासका अनेक आयाममा थप योगदान गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक अनि बहुआयामिक उत्थानका लागि गुणात्मक नतिजा आउन शुरू हुनुपर्ने वेला भएको धेरैलाई महसुस हुनुपर्छ । अर्कोतर्फ नेपाल र अस्ट्रेलिया बीचको व्यापारको भोलुम हे¥यो भने उदेकलाग्दो छ । वस्तु तथा सेवामध्ये पोहोरसम्म वार्षिक ५० मिलियनका विभिन्न उत्पादन अस्ट्रेलियाबाट नेपाल गएको थियो । जबकि नेपालबाट जम्मा ८ मिलियन बराबरको वस्तु व्यापार अस्ट्रेलियातर्फ भएको देखिन्छ । तर सेवातर्फ भने झण्डै एक अर्वको व्यापार त अस्ट्रेलियाले नेपालमा मात्र गरेको छ भने अस्ट्रेलियातर्फको नेपालको सेवा क्षेत्रको कारोबार जम्मा सय मिलियन बराबर देखिन्छ । सेवातर्फ त अस्ट्रेलियाबाट बढी निर्यात हुने मुलुकमध्ये नेपाल १६ औं मा पर्छ भने आयात हुनेमा ५४ औं स्थानमा पर्छ । यो कहालीलाग्दो व्यापार घाटालाई अनेकौं सम्भावना हुँदाहुँदै पनि हामी किन कम गर्न सकिरहेका छैनौं ? यही प्रश्नको जवाफ खोज्न हामीले काम गर्ने वेला यही हो । हालै अस्ट्रेलियामा पढ्न आउने नेपाली विद्यार्थीको संख्या बढेपछि सन् २०१५/१६ मा मात्रै अस्ट्रेलियाले विदेशी विद्यार्थीबाट जम्मा गरेको करिब २० अर्ब डलरमध्ये नेपालको हिस्सा ३.५ प्रतिशत हुन पुग्यो र त्यो कारोबार मात्रै पौने १ अर्ब डलर बराबर हुन्थ्यो । अहिले वार्षिक २४ अर्ब डलर अन्तर्राठिष्ट्रय विद्यार्थीको पढाइ र वसोवासबाट प्राप्त हुँदा नेपालीको हिस्सा ६ प्रतिशतले भाग गरेर आउने रकम झण्डै १ खर्ब १५ अर्ब रुपयाँ नेपालबाट विद्यार्थीका नाममा अस्ट्रेलिया भित्रिन्छ । यति ठूलो लागानी गरिएको बहुसांस्कृतिक देश अस्ट्रेलियामा पाइने अवसरको लागि नेपालबाट भइरहेको योगदानलाई मध्यनजर गर्ने हो भने हामीले पनि बार्र्गेिनङ पावर बढाउने वेला भएको छ । हुन त विश्वका १ सय ९० देशका विद्यार्थी पढ्न आउने देशमध्ये केही मुलुक चाहिँ अस्ट्रेलियाको प्राथमिकतामा व्यापारिक वा आपसी सन्धि सम्झौता हेरेर महत्वमा पर्ने गर्छन् । यहाँका वैज्ञानिक एवम् एकेडेमिक निकायमा काम गर्नेहरू पनि थुप्रै भइसके । नर्स, इन्जिनियर र हस्पिटालिटी क्षेत्रमा काम गर्ने पनि निक्कै धेरै भइसके । माइग्रेसन तथा शैक्षिक परामर्शदाता, प्राइभेट कलेज, ग्रोसरिज, रेस्टुरेन्ट, फ्रेन्चाइज र अन्य बहुआयामिक स्टोर सञ्चालन गर्ने पनि उत्तिकै भएको देश अस्ट्रेलियामा खुशीको जिन्दगी बिताउने नेपाली थुप्रै भएकाले पनि यो देश अवसर र चुनौतीका बीच थुप्रै नेपालीको कर्मभूमि बन्न पुगेको छ । नेपाली विद्यार्थीको च्यानलबाट वर्षको सबा खर्ब रुपैयाँ भित्र्याउने अस्ट्रेलिया र अनेकौं अवसर प्राप्त गर्न सक्ने सम्भावना बोकेको देश नेपालले अब सरकारी स्तरमा गएको वर्ष यहाँको विदेश तथा व्यापार विभाग र नेपालको परराष्ट्र मन्त्रालयबीच भएको ‘दुई देशीय संयन्त्र र समझदारीपत्र’को मर्म बमोजिम आपसी हितका विषयलाई पहिचान गरी दुवै देशको कल्याणमा काम गर्ने वेला भएको छ ।

लगानीको बातावरण कस्तो छ त ?

यसपटक नेपाल लगानी बोर्डले मेलबर्नमा दिएको जानकारी अनुसार नेपाल संसारको लागि लगानी मैत्री बनिसकेको दावी छ । अस्ट्रेलियाली र नेपाली व्यवसायीहरूको सहभागितामा सम्पन्न फोरमले मुलुकको परिवर्तित राजनीतिक अवस्था, लगानीको लागि कानुनी प्रक्रिया बारेमा सही सूचना प्रवाहित गर्ने प्रयास भने गरेको छ । राजनीतिक स्थिरता, बिकेन्द्रिकरण, कानुनी अनि नीतिगत सुधारसँगै नयाँ श्रम ऐन, दोहोरो अंकको बृद्धिदर हासिल गर्ने र कम्तिमा कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत लगानी बढाएर मध्यम स्तरको आम्दानी हुने देश बनाउने प्रयासलाई योपटक जोडदारका साथ उठाइयो । अर्को कारण छिमेकी देशहरूको तुलनामा कर्पोरेट आम्दानी कर भारत सरह २५ प्रतिशतकै हाराहारीमा छ । किनकि अमेरिका र चीन अनि युरोपको ब्यापारिक द्वन्द्वले गर्दा यतिखेर अस्ट्रेलिया अमेरिका जतासुकै कर कटौतीको फेसन नै चलेको छ भन्दा हुन्छ । हामी पनि थोरै कर लिने देशमा पर्न सकेको खण्डमा लाभान्वित हुन सकिने अवस्था देखिन्छ । कम्पनी ऐन २०१७ ले दिएको सुविधा अनुसार नेपालमा कम्पनी खोल्न सरल र पारदर्शी प्रक्रिया छ र एक से एक शेयर होल्डर राख्न पाइने र ब्राण्ड र उत्पादन नामको सुरक्षाको ग्यारेन्टी त छ नै संचालनको लागि इण्डस्ट्रियल इन्टरप्राइज ऐन २०१६ ले वान स्टप सर्भिस सेन्टरको प्रावधान राखेकाले वैदेशिक लागानीमा स्थापित कम्पनी एवम् उद्योगलाई त्यति झन्झट पार्ने छैन भन्ने दावी सरकारको छ । विदेशी कामदारलाई कमाएको पैसा फिर्ता लान ७५ प्रतिशत सम्मको सुविधासँगै नो वोर्क नो पे सहितको प्राबधान श्रम ऐनले ब्यवस्था गरेको छ । त्यस्तै ट्रेडमार्क, पेटेण्ट र बौद्धिक वा अन्य सम्पत्ति अधिकारको अन्र्तराष्ट्रिय मान्यता विश्व सम्पत्ति अधिकार संस्था WIPO को अनुसार हुने भएकाले नेपाल लगानीका लागि सरल हुँदै गएको सरकारी भनाइ यसपटक मेलबर्नको बिजनेस फोरममा प्रस्ट पारियो । बैदेशिक लगानी र प्रविधिको ट्रान्सफर कसरी गर्ने भन्ने बारे FITTA ऐन १९९२ ले तोकेको लिस्ट अनुसार पूर्णतया बाहिरी लगानी प्रोत्साहन गरिएको हुनाले लगानी बोर्ड ऐनले उल्लेख गरे अनुसार ५०० मेगावाट र त्योभन्दा माथि लगायत त्यस्तै अन्य ठूला परियोजना निर्माण गर्न योपटक सजिलो देश बनेको दाबी सरकारी अधिकारीको रहेकोले नेपाल लगानीमैत्री देश बन्न पुगेको भनाइ छ । यति प्रावधान हुँदाहुँदै पनि अस्ट्रेलियाको लगानी नेपालमा प्रमुख १० राष्ट्रभित्र पर्न सकेको छैन । तर हालैको रेकर्ड र दर्ता गरिएका उध्योगहरूको सँख्या हेर्दा अस्ट्रेलिया १० प्रमुख राष्ट्रभित्र देखिन्छ । यो लेखोटमा मूलतः अस्ट्रेलियालाई केन्द्रमा राखिएकाले हामी नेपालबाट अस्ट्रेलिया निर्यात गरिने सामानहरूमध्ये हाल ब्यापार भइरहेको चिया, कफी, पेट्रोलियम, क्यान फुड, सेवाका सामान, डायरी प्रोडक्ट, पेय पदार्थ, रिफाइन तेल आदि इत्यादिको सीमित तर एकतर्फी दोहोरो ब्यापारमा थप आइटम समेटेर दोहोरो र सन्तुलित ब्यापारको लागि वस्तु सेवा तथा उत्पादनको दायरा बढाउनुपर्ने आवश्यकता देखिन्छ । त्यसमाथि हाल ५० हजारको हाराहारीमा अस्ट्रेलियनहरूले नेपाल भ्रमण गरे भने यसको गुणात्मक अभिबृद्दितर्फ ध्यान दिने वेला आएको छ, जसले गर्दा दोहोरो लगानी समेत प्रवद्र्र्धन हुन सकोस् । ठूला उद्योग वा कम्पनीलाई (१० अर्बभन्दा माथि) लगानी बोर्ड र त्योभन्दा साना लागि उद्योग बिभागले नियमन गर्नेगरी सरलीकृत गरिएकोले भबिष्यमा हुने ब्यापार ब्यवसायको लागि नेपाल सजिलो बन्ने दावी छ । देशमा ठूला परियोजनाहरू जस्तो कि जलबिद्युत, टनेल, शिक्षा, स्वास्थ्य र स्पोर्ट सिटी, राजमार्ग, मेट्रो, खनिज, पर्यटन, आर्थिक क्षेत्र निर्माण, नबिकरणीय उर्जा आदि इत्यादिमा हुने वैदेशिक लगानी हेर्न लगानी बोर्डले विभिन्न तयारी गरेको बताइनु सकारात्मक संकेत हो । अनुसन्धान, एग्रो सेक्टर जलविद्युतमा लगानी गर्न बोर्डले यसपालि प्रोत्साहन पनि गरेको छ । अस्ट्रेलियाका धनाढ्य नेपाली शेष घलेले अफूले नेपालमा शुरु गरेको होटल परियोजनाको निर्माण चरणमा देखिएको ढिलासुस्तीका कारणहरू खोतल्दै जाँदा काम कहिले सम्पन्न हुन्छ भन्ने गाह्रो परिरहेको बताउँदा भने नेपालको प्रशासनिक ढिलासुस्ती, प्रविधिको कमी कमजोरी, काम गर्ने जनशक्तिको अभाव आदि इत्यादिलाई मूल कारण मान्न कसैलाई गाह्रो भएन । चीन र भारतलाई जोड्ने देश नेपाललाई प्राप्त हुनसक्ने अवसरको लागि सबै हिसाबले तयारी गर्नुपर्ने मेलबर्न बिजनेस फोरमका सहभागीलेले बताए ।

मेलबर्न फोरममा युवा उद्धमी

योपटक नेपालबाट आएका उद्धमी मंगेशलाल श्रेष्ठले नेपालमा लगानीका लागि डिजिटल इकोनोमिमा जान हतार भएको भन्दै यसका लागि मानव स्रोत, प्राकृतिक स्रोत र नेपाली संस्कृति र पहिचानको ब्राण्ड निर्माण गर्न जोड दिएर एक जोडदार प्रस्तुतीमार्फत् सबैको ध्यान तान्न सफल भएका थिए । संसारमा हुँदै गरेको भनिएको चौंथो औद्योगिक क्रान्तिको धारमा बग्न सक्नु हाम्रो विकासको लागि अनिवार्य झैँ भएको छ । यसैगरी नेपालमा विभिन्न लगानीमा संलग्न नेपाली मूलका अस्ट्रेलियन युवा पि जे श्रेष्ठले युवाहरूमार्फत् नेपालमा गर्न सकिने लगानीको लागि प्रशस्तै आधार र वातावरण तयार भएको भन्ने भनाइ राख्दै छोटो भनाइ राख्दै स्थानीय अस्ट्रेलियनहरूको ध्यान तान्न सफल भएका थिए । अन्य प्रस्तुतीहरूले नेपाल अस्ट्रेलिया लगानीका अवसरका चुनौतीको ब्यापक चर्चा गरेका थिए ।

सहभागीहरूको प्रतिक्रिया

योपटक नेपाल सरकारले सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा कडाइ गरे पनि लगानीको लागि नेपालको पछिल्लो अवस्था जानकारी दिन उपयुक्त समय भएको भन्दै लगनी बोर्ड र नीजि क्षेत्रका केही उद्यमी अस्ट्रेलिया आएका थिए । लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीले कार्यक्रम सफल भएको बताए । आयोजक तथा कार्यक्रममा उपस्थितहरूले नेपाली तथा अस्ट्रेलियाली लगानीकर्ताहरूलाई उत्साहित गर्ने काम यो पटक केही हदसम्म सफल भएको दावी छ  । नेपालमा अहिले व्यावसायिक लगानीका सम्भावना र सरकारले गर्नसक्ने सहयोगका बारेमा मूलतः बिजनेस फोरम केन्द्रित थियो । नेपाली अधिकारीहरूले वैदेशिक लगानीलाई नेपालमा प्रोत्साहित गर्न विभिन्न कानुन परिमार्जन गरिएको पनि बताए । भिक्टोरियाका अर्थ तथा बहुसांस्कृतिक मन्त्री रबिन स्कटले अस्ट्रेलिया नेपालसँगको व्यावसायिक साझेदारीलाई अझ अघि बढाउन तयार रहेको र नेपालीको हिस्सा यो समाजमा बढ्दै गएकोमा खुशी ब्यक्त गरे । उनले नेपाली विद्यार्थीहरूको संख्या भिक्टोरियामा मात्र शत प्रतिशतले वृद्धि हुनु उल्लेखनीय भएकोले अहिले भइरहेको व्यावसायिक सम्बन्ध विस्तारका कामले मूर्त रुप लिनेमा आफू विश्वस्त रहेको स्कटले बताए । अस्ट्रेलियाको विदेश विभागकी नेपाल हेर्ने निर्देशक फियोना म्याकग्युले नेपाल र अस्ट्रेलियाबीचमा बढ्दो व्यावसायिक सम्बन्ध विकसित गर्दै लगेकाले अब विश्वासिलो व्यावसायिक वातावरण तयार गर्ने बेला भएको बताइन् । कार्यक्रममा नेपाली राजदूत लक्की शेर्पा, भिक्टोरिया अवैतनिक वाणिज्यदूत चन्द्र योञ्जन, न्यु साउथ वेल्सका महाबाणिज्यदुत दिपक खडका, साउथ अस्ट्रेलियाका, क्वीन्सल्याण्ड र पश्चिम अस्ट्रेलियाका लागि नेपाली वाणिज्यदुतहरू क्रमशः दिपक धमला, जो टोमा लगायत एनआरएनए अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष शेष घले, ओसेनिया संयोजक धर्म अधिकारी लगायतको सहभागिता थियो । अस्ट्रेलिया सरकारका अर्थशास्त्री डा. कृष्ण हमाल, एनआरएनए अगुवा महिला नेतृ रन्जु वाग्ले लगायतले आफ्नो प्रस्तुती समेटेका थिए । नेपाली दुतावासकी उपनियोग प्रमुख दुरपदा सापकोटाले पनि यो कार्यक्रक्रमले लगानीबारे जानकारी लिन दुवै देशका लगानीकर्तालाई सजिलो भएको बताइन् ।

नेपाल बिजनेस एण्ड टुरिजम प्रमोसन नाइट २०१८

(नेपाली कन्सुलर कार्यालयको प्रेस विज्ञप्तिबाट) नेपाल र अस्ट्रेलियाको राष्ट्रिय गान र पानसमा बत्ती बालेर गरिएको ‘नेपाल विजनेस एण्ड टुरिजम प्रमोसन नाइट २०१८’ को प्रमुख अतिथि भिक्टोरियास्थित व्यवस्थापिका परिषद्का अध्यक्ष ब्रुस एटकिन्सन रहेका थिए । त्यसैगरी कार्यक्रममा स्याडो व्यवसायिक मन्त्री क्रेग ओन्डारचि एमपी, फेडरल एमपी मेम्बरस् अफ विल्स् पिटर खलील लगायत अन्य अस्टे«लियन सरकारी अधिकारीहरू, अन्य राजनैतिक नेतागण, विविन्न देशका महावाणिज्यदूत, काउन्सिलका पदाधिकारीहरू, ट्राभल एजेन्ट र टूर अपरेटरहरु, भिक्टोरियाको नेपाली समुदायका अगवाहरु, नेपाल र अन्य देश तथा विभिन्न राज्यहरुबाट आएका पाहुनाहरुको साथै स्थानीय सञ्चारमाध्यमहरुको समेत बाक्लो सहभागिता रहेको थियो । नेपाल र अस्ट्रेलियाको सम्बन्ध धेरै वर्षदेखि सुदृढ रहेको बताउँदै अध्यक्ष एटकिन्सनले महावाणिज्यदूत कार्यालयले आयोजना गर्ने हरेक वर्षको नेपाल पर्यटन प्रबर्धन साँझमा आफू उपस्थित हुन पाउँदा एकदमै रमाइलो लाग्ने र यस कार्यक्रमले नेपालको पर्यटकीय गन्तव्यको विषयमा अष्ट्रेलियावासीलाई जानकारी गराउन मद्दत पु¥याउने बताएका थिए । त्यसैगरी स्याडोे व्यवसायिक मन्त्री क्रेग ओन्डारचि एमपी, फेडरल एमपी मेम्बरस् अफ वील्स् पिटर खलीलले कार्यक्रममा सहभागी हुन पाउँदा एकदमै खुसी लागेको र आउँदो दिनहरुमा पनि नेपालको व्यवसायिक र पर्यटन प्रबर्धनको निम्ति यसरी नै एकजुट भएर काम गर्न शुभकामना दिएका थिए । कार्यक्रमको स्वागत गीतमा नेपालको हिमाल, पहाड र तराई झल्किने सांस्कृतिक प्रस्तुति पस्केको थियो । कार्यक्रममा प्रवेशद्वारलाई बुद्धको मूर्तिदेखि मिथिला चित्रकला तथा चित्रकार ग्यालरीको नेपाल झल्काउने विभिन्न चित्रहरुको पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा अन्य उपस्थितमा विविन्न एयरलाइन्स, मेलवर्नको प्रख्यात ट्राभल्स् एण्ड टुर्स, नेपाल घुमेर आएका पर्यटकहरु, नेपालको सहयोगको लागि खोलिएको विभिन्न आइएनजीओका प्रतिनिधिहरु र नेपालमा लगानी भित्र्याउने विभिन्न अस्ट्रेलियनहरुको बीच राफल चिठ्ठाको आयोजना गरिएको थियो । कार्यक्रमको सुरुमा नै उनीहरु सबैको विजनेस कार्ड संकलन गरिएको थियो र त्यही विजनेस कार्ड छनोटको आधारमा उनीहरुले पुरस्कार स्वरुप विभिन्न पुरस्कारहरु जितेका थिए । समावेश गरिएको पुरस्कारहरु सबै नेपाली झल्काउने सामान र अफरहरु रहेको थियो । कार्यक्रममा ३५ वटा उपहारको प्याकेज रहेकोमा केही ठूला पुरस्कारहरु पनि रहेका थिए । नेपाल पर्यटन बेिर्डले दुईजना अस्ट्रेलियनको लागि ६ नाइट ७ दिनको लागि नेपालमा निःशुल्क बस्ने व्यवस्था, घुम्ने र खाने व्यवस्था गरेको थियो र त्यस्तै अको पुरस्कार नेपाल जाने र मेल्बर्न फर्कने हवाइ टिकटको व्यवस्था गरेको थियो जुन पुरस्कार बुद्ध ट्राभल्सले दिएको थियो । मेलबर्नका विभिन्न नेपाली रेष्टुराँ, मोटल र होटल व्यवसायी, ट्राभल्स टूर्स तथा अन्य कन्सल्टेसीहरुले विभिन्न प्याकेज सहित नेपाली खानाको डिनर अफरमा राखिएको थियो । कार्यक्रममा सहभागीहरुले नेपालको आत्मीय सत्कारबाट असट्रेलियनहरु प्रभावित रहेको र अझ बढी पर्यटकलाई नेपालमा पठाउन सके यसले नेपालको अर्थतन्त्रमा समेत सहयोग गर्न सक्ने चर्चा गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्