चीन विश्वका पाँच महाशक्ति राष्ट्रहरूमध्ये एक हो । आर्थिक रूपमा यो विश्वको दोश्रो शक्ति हो । सामाजिक, आर्थिक एवम् सांस्कृतिक लगायतका बहुआयामिक क्षेत्रमा यसको प्रभाव र हस्तक्षेप बेजोड छ । विश्व शक्ति सन्तुलनमा यतिवेला चीन निर्णायक मोडमा छ । बाबाजुद यसको चीन विश्वको सबैभन्दा लोकप्रिय अन्तर्राष्ट्रिय खेल फुटबलमा भने किन धूमिल छ ? चिन्ता र चासो फुटबल पण्डितहरूलाई हुनु स्वभाविक छ । यो छोटो आलेखमा चीनको आन्तरिक फुटबल जीवनको बारेमा सविस्तार छलफल गर्न सम्भव छैन किन्तु फुटबलमा चीनको तीव्र रुचिले विश्वका महारथी फुटबल क्लवहरूको टाउको दुख्न क्रमशः शुरु भैसकेको आभास पाइन्छ ।
फैलावट र बदलावका हिसाबले व्यवसायिक फुटबलको उलटफेर जारी छ । तुलनात्मक रुपमा युरोप र दक्षिण अमेरिकाभन्दा अफ्रिका र एसिया विश्व फुटबलमा अलि फिका देखिन्छन् भलै पछिल्लो चरणमा व्यवसायिक फुटबलमा चिनियाँ धनाढ्यहरूको अभूतपूर्व लगानी किन नहोस् ?

२००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको वल्र्ड कपमा पहिलोपटक चीन सहभागी भएको थियो । ग्रुप सीमा चीनसँगै ब्राजिल, टर्की र कोस्टारिका थिए । पहिलो खेल कोस्टारिकासँग २–०, दोश्रो खेल ब्राजिलसँग ४–० र अन्तिम खेल टर्कीसँग ३–० ले पराजित हुँदै चीन पहिलो चरणबाटै बाहिरिएको थियो । २००२ पश्चात चिनियाँ फुटबलमा कुनै बदलाव आएन । चोटको चेतनाबाट ब्युँझिनुको साटो विगत १६ वर्षसम्म चिनियाँ फुटबलको गति न हाँसको चाल न बकुल्लाको चालजस्तै रह्यो । संयुक्त राष्ट्र संघका पाँच स्थायी सदस्यमा फुटबलका मामिलामा चीन निकै निरिह छ । सायद यही निरीहतालाई बर्जित गर्न चीन ब्युँझिदैछ र यसको संकेत राष्ट्रपति सि जिन पिनको फुटवलप्रियताले दर्शाउँछ ।
अबको १५ वर्षमा चीन फुटवलको महाकुम्भ विश्वकप फुटवलको आयोजना गर्न चाहन्छ । महत्वाकांक्षी चिनियाँ सरकारको नजर विश्वकपको आयोजनासँगै विश्वच्याम्पिन बन्ने छ । आश्चर्य के भने चीन फिफा वरियतामा ८७ औं नम्बरमा छ । चीनमा २०१७ मा मात्र २० हजार फुटबल स्कुलहरू खोलिएका छन्, एक लाखभन्दा बढी खेलाडी उत्पादन गर्ने र २०२० सम्ममा २० हजार खेलमैदानहरु निर्माण गर्ने लक्ष्य छ ।
राष्ट्रपति सि जिन पिनको फुटवल मोह लोभलाग्दो छ । जब उनी भ्रमण वा अन्तर्राष्ट्रिय सम्मेलनहरुमा जान्छन् तब सम्बन्धित देशको फुटवल क्लवको एकेडेमी र फुटवल खेलाडीहरुको बारेमा गहिरो रुचि राख्छन् । एकपटक म्यानचेस्टर सिटीको स्टेडियममैँ गएर पूर्वप्रधानमन्त्री डेविड क्यामरन र सर्जियो अगुएरोका साथ लिइएको सेल्फी निकै भाइरल बनेको थियो । मेस्सी र रिकेल्मीसँग लिएको सेल्फी होस् वा पुटिन र हल्कसँग लिएको सेल्फी होसे सबै भाइरल बनेका थिए । त्यसैले त विश्वकै शक्तिशाली सि जिन पिनका समकक्षी पुटिनले भनेका छन् – सि जिन पिन चीनका हिरो हुन् । यदि चीनलाई विश्व फुटवलको शक्ति बनाए, यिनी विश्वका हिरो बन्नेछन् ।
विश्वबजारको तीव्रता र त्यसभित्रको प्रतिष्पर्धालाई हेर्ने हो भने निकट भविष्यमैँ चीन विश्वकै पहिलो आर्थिक शक्ति बन्ने प्रबल सम्भावना छ किन्तु फुटबलमा भने यो देश धेरै पछाडि छ । एकपटक मात्र विश्वकप खेलेको चीनमा न त फुटबल संस्कृति नै छ न त स्तरीयता नै । बाबजुद यसको ठूला स्टार खेलाडीहरु र ख्यातिप्राप्त व्यवस्थापकहरुको आकर्षणको केन्द्र किन बन्दैछ चीन ? मार्सेलो लिपी, लुइस फिलिपे स्कोलारी, भिल्ला बोस, म्यानियल पेलिग्रिनी र गोरान एरिक्सन जस्ता चर्चित व्यवस्थापकहरूको उडान किन चीनतर्फ सोझिएको छ ? टेभेज, ओस्कार, हल्क, लाभेजी र मास्कोरानोजस्ता विश्वस्तरीय खेलाडीहरूको आकर्षणको केन्द्र किन बन्दैछ चीन ? उत्तर सहज छ– पैसा केवल पैसा ।
चिनियाँ राष्ट्रपति सि जिन पिङ फुटबलका ठूला सौखिन हुन् । उनी चाहन्छन् चीन फुटबलको महाशक्ति बनोस् । चीन दिनानुदिन आर्थिक रुपमा धेरै धनी भइरहेको छ र धनी बनिरहेका छन् चीनका व्यापारीहरू अनि यिनीहरूको रुचि बनेको छ फुटबल व्यवसाय । आश्चर्य के भने पछिल्लो चरणमा मेस्सी र रोनाल्डोमाथि समेत चिनियाँ क्लवहरूले आँखा गाडेका छन् । यी दुई यस्ता फुटबल खेलाडीहरू हुन् जस्को वरिपरि विगत एक दशकदेखि सिंगो फुटबल जगत् तरंगित बन्दैछ । जब मेस्सी अगाडि हुन्छन् रोनाल्डो पछाडि । जब मेस्सी पछाडि हुन्छन् रोनाल्डो अगाडि र यो प्रवाह रोकिने छाँट देखिँदैन ।
रोनाल्डोका एजेन्ट जर्जी मेन्डसका अनुसार एउटा चिनियाँ क्लवले रोनाल्डोका लागि रियललाई ३० करोड युरो तिर्न तयार छ । मेस्सीलाई किन्न इच्छुक क्लवको त नाम नै बाहिर आएको छ – हेबेई चाइना फच्र्युन जुन क्लवका प्रशिक्षक हुन् म्यानुयल पेलिग्रिनी ।
न मेस्सीले बार्सिलोना छाड्नेछन् न त रोनाल्डोले मेड्रिड । लियोनल र बार्सिलोनाको सम्बन्ध मुटु र धड्कनको जस्तै छ । एकपटक पेप ग्वार्डिओलाले पत्रकार सम्मेलनमा भनेका थिए – ‘मेस्सीविनाको बार्सिलोनाको चर्चा भद्दा मजाक मात्र हो ।’ भनाइ भावनात्मक छ तर गहिराइ प्रशान्त महासागरजस्तो । मेस्सीको आँखाको नानी, रगतको थोपा र मुटुको धड्कनमा केवल क्याटालान क्लब बार्सिलोना छ । मेस्सी रिसाए भन्दैमा बार्सा छोड्छन् भन्ने हल्ला एउटा गसिप मात्र हो, एउटा भद्दा मजाक मात्र हो ।
चीनको फुटबलमा तीव्र लगानीले ढिलो या चाँडो विश्व फुटबलको समिकरणमा अवश्य बदलाव आउनेछ र यसले युरोपियन क्लवका फुटबल महारथीहरूको टाउको दुखाउन शुरु गर्नेछ । उमेर ढल्किसकेका खेलाडीहरू चीन जानु स्वभाविक मान्न सकिएला किन्तु ओस्कार, हल्क, रामिरेज र लाभेजीजस्ता कम उमेरका खेलाडीहरू समेत चीन जानुले केही गम्भिर प्रश्न भने तेस्र्याएको छ । चीनमैँ खेलिरहेका खेलाडीहरू युरोप र दक्षिण अमेरिकी राष्ट्रका टिममा पर्न सक्छन् या सक्दैनन् ? पैसाको लोभमा प्रतिभाहरूको पलायनले विश्व फुटबलमा नकारात्मक असर पर्छ कि पर्दैन यो त बहसको विषय हो । साथसाथै यसले फुटबल पच्छ्याउनेहरूका लागि केही कौतुहलता, सम्भावना र चुनौतिको ढोका अवश्य खोल्नेछ । चीनको घरेलु लिग अत्यन्त फितलो हुनुका कारण नयाँ नयाँ प्रतिभाहरू चीनमा प्रवेश गर्नुले कतै भविष्यका बाजियो, काका, शुभचेन्को, रोनाल्डिनियो र नेमारहरू पैसाको चापमा हराउने त होइनन् ? विश्व फुटबलका पण्डितहरू एकपटक घोत्लिन जरुरी छ ।
चिनियाँ क्लवहरूसँग भएको आर्थिक हैसियतका कारण नामुद खेलाडीहरूको आकर्षणको केन्द्र चीन बन्दैछ । चीनको राष्ट्रिय टिम जापान, दक्षिण कोरिया वा इरानभन्दा धेरै पछाडि छ । एसियामैँ चीनको प्रदर्शन यति कमजोर छ भने चिनियाँ फुटबलले विश्व फुटबलमा प्रभाव पार्न कति पापड बेल्नु पर्ने हो त्यो त सहजै अनुमान लगाउन सकिन्छ । कमजोर घरेलु लिगका वावजुद चिनियाँ धनाढ्यहरू फुटबलमा अभूतपूर्व रूपमा लगानी गर्दैछन् । यो त फुटबल पच्छ्याउनेहरूका लागि आश्चर्य र अनुसन्धानको विषय भएको छ ।
‘हजारौँ माइलको यात्रा एक माइलबाट शुरु हुन्छ’ । यो भनाइ माओत्से तुङको हो जसलाई चिनियाँ सरकार आदर्श र प्रेरणा मान्दछ । केही समयअगाडि चीनको सबैभन्दा लोकप्रिय र आधिकारिक अखबार चाइना डेलीले सम्पादकीय छाप्यो –‘लक्ष्य १५ वर्षको’ । चाइना डेली त्यही बोल्छ जो सरकार चाहन्छ । बुभ्mनेलाई इसारा काफी छ अबको १५ वर्षपछिको चीन फुटबलको नयाँ शक्ति बन्न चाहन्छ ।