नेभिगेशन
झटारो

एनी हाउ विश्वास जगाऊ

पद सम्हालेको पनि बर्षदिन पुग्ने तरखरमा रहेको एनआरएनए अस्ट्रेलियाको नयाँ नेतृत्वले अहिले सम्मको गरेको कार्य हेर्दा खासै उपलब्धिपूर्ण रूपमा लिन सकिने अवस्था देखिदैंन । निर्वाचनका वेला जति उत्साहित देखिन्थियो त्यो उत्साह समयसँगै मर्दै त गएको हैन भन्ने प्रश्न उब्जेको छ । कार्यसमितिकै साथीहरुबाट हातमा हात र साथमा साथ नपाएर हो सबैको साझा संस्था भनिएको एनआरएनएका प्राय कार्यक्रमहरू त्यति प्रभावकारी रूपले अगाडि बढेको देखिंदैन । एउटा सानो संस्थाले गरेको मःमः फेस्टिभलमा सहभागिता र ऐक्यबद्धता जनाउन २१ हजारले आफ्नो नाम दर्ता गर्छन् तर एनआरएनएले परोपकारी कार्यको लागि अगाडि बढाएको अभियानमा कार्यसमितिकै पधाधिकारी र सदस्यहरुको उपस्थिति देखिंदैन । एनआरएनए अभियानमा लागेकाहरुलाई यहाँभन्दा लाजमर्दो अरु के हुन सक्छ ? हालै एनआरएनए अस्ट्रेलियाले आफ्नो गतिविधि सार्वजनिक गर्ने हेतुले प्रकाशनमा ल्याएको न्युज बुलेटिनको आईसिसी अध्यक्षद्वारा सिड्नीमा विमोचन गरियो । संस्थाको हरेक गतिविधिलाई पारदर्शी रूपमा आफ्ना सदस्य र शुभचिन्तकहरु माझ लैजाने जुन प्रयास गरिएको छ त्यो वास्तवमा प्रशंसनीय छ । नयाँ कार्य शुरु गर्न हरहमेसा अगाडि बढ्न रुचाउने हाम्रो सामाजमा यसले कहिलेसम्म निरन्तरता पाउने हो त्यो महत्वपूर्ण हुन आउँछ । यो कार्यक्रममा पनि मान्छेको उपस्थिति सुकेको पाइयो । एनआरएनएका कार्यक्रममा किन उपस्थिति पातलिँदै गएको छ संस्थाको नेतृत्वमा पुगेकाहरुले सोंच्नुपर्ने वेला आइसकेको छ । दुनियाँलाई थाहा छ यो संस्था प्रवासमा रहेका हरेक नेपालीको एउटा भरपर्दो दुःखसुखको साथी हो भनेर तर दिनानुदिन खुम्चिँदै जानुपर्ने अवस्था किन आयो ? हुनत आखिरमा हामि नेपाली नै हौं, नेपालदेखि लागेको बानीलाई सात समुन्द्र पर आए भन्दैमा चटक्कै छाड्नुपर्छ भन्ने कुनै शास्त्रमा छैन । संस्थाबाट सहयोग पाउन संस्थाको सदस्यता लिनै नपर्ने सदासयता राख्ने संस्थाको कार्यक्रम दयालाग्दो नभएर कस्तो हुन्छ ? यदि संस्थालाई बचाउने हो र संस्थाको गतिविधिलाई प्रभावकारी बनाउने हो भने सदस्यता वितरण कार्यलाई विस्तार गर्नुप¥यो । नियम यस्तो बनाउनु प¥यो कि संस्थाको सदस्यता लिएकाहरुलाई यसबाट उपलब्ध हुने सहयोगमा केही न केही भिन्नता देखिनुप¥यो । लाटाले पनि बुज्छ कि सदस्यता नलिए पनि दुःख पर्दाखेरि एनआरएनएबाट सहयोग पाउँछ भने त्यसले किन सदस्य बन्न खोज्छ ? यति सामान्य कुरालाई बुझ्नतिर संस्थाको नेतृत्व लाग्नुप¥यो । यस्तो नियम बनाउनुस् कि आपत्विपद्मा परेको वेला सदस्य नभएकाहरुको लागि भन्दा संस्थामा आबद्ध भएकाहरुलाई संस्थाले केही न केही बढी सहयोग गर्ने परिपाटीको सुरुवात गर्नुपर्ने देखिन्छ । यसबाट सदस्य बन्नेहरुको पनि संख्या बढ्न जानेछ जसबाट संस्थाको कोषमा पनि केही अर्थ संकलन हुन सक्दछ । कोष रित्तो बनाएर तपाईंले कसैलाई सहयोग गर्न सक्नुहुन्न, यो यथार्थाता सबैले बुझेको हुनुपर्दछ । अब सदस्य संख्या कसरी बढाउने भनेर कुरा उठ्न सक्दछ । वास्तवमा एनआरएनए अस्ट्रेलियाको बारेमा नसुन्ने र नबुज्ने यहा कमै होलान्, नबुझेकाहरुलाई एनआरएनएको अभियानको बारेमा बुझाउनेतर्फ सिंगो समाज लाग्नुपर्दछ । यो संस्थाप्रतिको आस्था र विश्वास जगाउन सकियो भने मात्र संस्थाप्रति जिम्मेबार हुनेको संख्या बढ्दै जान्छ । संस्थामा जति जिम्मेवार ब्यक्तिको प्रवेश हुन्छ त्यति नै संस्थाका हरेक गतिविधि पनि प्रभावकारी हुन्छ । त्यसैले हामीले अहिले त्यति ठूलो काम गर्नु पर्दैन सिर्फ यो संस्थाप्रति अस्ट्रेलियामा बस्ने आम नेपालीको आस्था जगाउनेतर्फ लागौं, सबै आफ्नो आफ्नो ठाउँबाट जुटौं, हाम्रो समाजमा यो संस्थालाई अझ उज्यालो बनाउँदै लैजाऔं ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्