नेभिगेशन
सम्पादकीय

नेपालीसंग जोडिएको सरोकारको विषय

अस्ट्रेलियाका केही स्थानीय पत्रपत्रिकाहरुमा रकडेलस्थित बाइसेन्टेनियल पार्कमा नेपालीहरुले हालै गरेको होली कार्यक्रममा पार्कमा फोहोर फालेर छोडेको विषयले निकै चर्चा पायो । बेसाइडका मेयर बिल साराभिनोभ्स्कीले पार्कलाई डम्पिङ साइट बनाउन खोजेको भन्दै क्रोधित बनेर स्थानीय मिडियामा फोहोर गर्ने कार्यक्रम आयोजकको तीब्र आलोचना गर्दै सुंगुरसम्मको संज्ञा दिए । सो सम्बन्धीको समाचारले केही नेपाली संचार माध्यमहरुमा पनि व्यापक स्थान पायो । स्थानीय पत्रिकाहरुमा आएको समाचारलाई हुबहू रुपमा नेपालीमा उल्था गरी अस्ट्रेलियाका केही नेपाली मिडियामा छाए । कार्यक्रम आयोजकका भनाइ नै नराखी स्थानीय पत्रिकामा आएको समाचारलाई मात्रै आधार बनाइयो । अनि नेपालीहरुले एकले अर्कालाई आरोप प्रत्यारोपमा लगाउन व्यस्त भए । केही दिनको फरकमा उक्त स्थानमा दुईवटा नेपाली कार्यक्रमहरु आयोजना भएका थिए । पछिल्लो कार्यक्रममा जनसहभागिता उल्लेख्य रहेको आयोजकले स्वीकार गरिसकेको छ । तर यहाँ कुन आयोजकले कुन कार्यक्रम ग¥यो भन्ने कुरा गौण हो । कुरा नेपालीहरुसँग जोडिएको छ । स्थानीय पत्रिकामा नेपालीले गरेको आयोजनामा फोहोर गरेको बताएको छ । तसर्थ यो सरोकारको विषय भनेको अस्ट्रेलियावासी सबै नेपालीहरुको हो । प्रवासमा नेपाली भनेर हामी सबै प्रवासी नेपालीलाई जनाउँछ । न की कार्यक्रम गर्ने आयोजकलाई मात्र । आयोजकले मध्यरातसम्म पार्क सफा गरेर नभ्याएपछि भोलिपल्ट विहान ८ बजे पनि सफाइका लागि गएको बताएको छ । उक्त फोटो विहानै सफा गर्न जानुभन्दा अगाडि लिएको बताएका छन् । तर जे भए पनि पार्क प्रयोग गरेपछि सफा गर्नुपर्ने दायित्व कार्यक्रम आयोजककै हो । यस्ता पछिल्ला घट्नाले अस्ट्रेलियामा नेपालीहरुले बनाउदै गएको साख क्रमश घट्दैं जानेछ । अब आउदा दिनहरुमा कार्यक्रम आयोजकहरु यस्ता विषयमा विशेष चनाखो हुनुपर्ने देखिएको छ । एक नेपालीले अर्को नेपालीलाई आरोप भन्दा पनि हामी सबै नेपाली एकजुट भएर बढ्नु पर्दछ । यस्ता विषयमा एनआरएनए अस्ट्रेलिया पनि अभिभावकको भूमिकामा देखिनुपर्ने तड्कारो आवश्यकता देखिन्छ । नेपाल र नेपालीसँग जोडिएको विषय भएका कारण आयोजकहरुले पनि अबका दिनमा यस्तो गल्ती गर्ने छैनौ भनेर संकल्प लिनुपर्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय