– डिल्लीराज पाण्डेय
उकालो चढ्न कठिन हुन्छ तर ओरालोको गति तीव्र हुन्छ । जुन अनुपातमा उकाली हुन्छ त्यही अनुपातमा ओराली पनि हुन्छ । खेल मैदानमा अझ त्यसमा पनि फुटबलमा त कतिवेला कस्को पल्ला भारी हुन्छ थाहै हुँदैन । यतिवेला उत्तरी लण्डन क्लव आर्सनल र त्यसका व्यवस्थापक आर्सने वेङ्गर थकित देखिएका छन् । आर्सनलका फ्रान्सेली व्यवस्थापक वेङ्गर यतिवेला चर्को दवाबमा छन् । सफलता वा असफलता ? महान् प्रशिक्षक वा असफलताको विशेषज्ञ ? प्रश्न सोझिएको छ ।
लण्डन क्लव आर्सनल जतिवेला राम्रो नतिजा दिइरहेको हुन्छ, त्यतिवेला वेङ्गर हाइहाइ हुन्छन् । जुनवेला नतिजा उल्टो दिशामा हुँइकिन थाल्छ ‘वेङ्गर आउट’ का ब्यानरहरू इमिरेट्स स्टेडियममा देखिन थाल्छन् । त्यो पनि आर्सनलका फ्यानहरूबाट । वास्तवमा आर्सने त्यति राम्रा खेलाडी त थिएनन्, निकै सामान्य थिए । खेल जीवनमैँ अर्थशास्त्रमा मास्टर्स गरे । फुटबल खेल मात्र कहाँ हो र ? यो त मैदानमा पैसाको परेड पनि हो । व्यवसायिक फुटबलको ज्वरोले सिङ्गो युरोपलाई सेक्दैछ । अर्थशास्त्र र व्यवस्थापनमा उम्दा वेङ्गर भलाद्मी छन्, धेरै बोल्दैनन् ।

निःसन्देह फुटबल उपाधिको गणित पनि हो । यो रोमाञ्चक हुने गर्दछ । यसले करोडौं फुटबल मनहरूलाई बाँधेको हुन्छ । यसैले त लण्डनको चिसोमा समेत फुटबलको ज्वरो आइरहेको हुन्छ । वेङ्गर १९९६ मा आर्सनलको व्यवस्थापक भएका हुन् र उनकै व्यवस्थापनमा आर्सनलले १३ उपाधि जितेको छ जस्मा तीन प्रिमियर लिगको उपाधि पर्दछ । २००३–२००४ सिजनमा त वेङ्गर नेतृत्वको आर्सनलले अद्भुत खेल पस्केको थियो जस्लाई इनभिजिबल भनिन्छ । फुटबलका धमनी अर्थात् गोलकिपर, डिफेन्ण्डर, मिडफिल्डर र स्ट्राइकरमा अझ राम्रो हुने ठाउँ नै थिएन । सुधारको कुनै खाँचो थिएन । आर्सनल विरोधीहरुले समेत आर्सनलको खेल हेर्नुपर्दछ भन्दथे ।
इङ्लिश प्रिमियर लिगमा लिभरपुल र म्यान्चेस्टर युनाइटेड परम्परागत प्रतिद्वन्द्वी थिए । वेङ्गरको आर्सनलमा आगमनपश्चात् फर्गुसनको म्यान्चेस्टर युनाइटेडलाई टक्कर आर्सनलले दिएको थियो । त्यतिवेला चेल्सी फिका थियो भने म्यान सिटी त अझ कता हो कता ।
मोरिनियो पनि वेङ्गरजस्तै अति सामान्य खेलाडी थिए, उनको पोजिसन थियो गोलकिपर । मार्सेलो बियल्सा, डिएगो सिमिओनी, जेनेडिन जिदान, कार्लो एन्सेलोटी, रोबोर्टो मान्सिनी र पेप ग्वार्डिओलालाई अपवाद मान्ने हो भने महान् खेलाडीहरूपनि सफल प्रशिक्षक नहुन सक्छन् । मार्को भान बास्टेन, डिएगो माराडोना, रुड गुल्लिट, फ्रांक राइकार्ड, भाभा र लियोनिडास यसका ज्वलन्त उदाहरण हुन् । मोरिनियो र वेङ्गरबीचको समानता भनेकै सामान्य खेलाडी तर सफल प्रशिक्षक ।
मोरिनियोको सफलताको अध्याय पोर्चुगिज क्लव एफ सी पोर्टोबाट शुरु भएको हो । पोर्टोलाई घरेलु लिग र च्याम्पियन्स लिगको उपाधि दिलाउनु मोरिनियोको सफलताको पहिलो अध्याय थियो र त्यही अध्यायका कारण चेल्सीका मालिक रुसी धनाढ्य रोमन इब्रामोभिचको आँखा मोरिनियोमा परेको थियो जस्का कारण मोरिनियोको चेल्सीको बाटो जुरेको थियो ।
बृटिश मिडियाहरूसँग शायद मोरिनियोको लभ अफेयर चलेको थियो । चेल्सीमा दोश्रोपटक जिम्मेवारी सम्हाल्न नपाउँदै बृटिश मिडियाहरू सन्की मोरिनियोलाई स्पेशल–वनको पगरी गुथाइदिइसकेका थिए तर उनी स्पेशल–वनभन्दा ह्याप्पी–वन भन्न आपूmलाई रुचाउँछन् ।
जोसे मरिनियोको चेल्सी आगमनपश्चात् प्रिमियर लिगको रोमाञ्चकतामा अझ वृद्धि भयो र फुटबलको शक्ति सन्तुलनमा बदलाव आयो । मोरिनियो र वेङ्गरको सम्बन्ध त्यति सुमधुर छै्रन । दुवैका फरक–फरक दृष्टिकोणहरू छन् । मोरिनियो जसरी पनि जित्नुपर्छ भन्छन् र जित्छन् पनि । मोरिनियो जब चेल्सीमा आए, चेल्सीले आक्रामक फुटबल खेल्यो र उपाधि जित्यो । जब चेल्सी छाडे र इन्टर मिलान गए इतिहास बनाए । च्याम्पियन्स लिग र सिरी ए जिते । रियल मेड्रिड गए, लालीगा जिते । फेरि चेल्सी आए प्रिमियर लिग जिते । यतिवेला मोरिन्हो ओल्ड ट्राफर्ड हानिएका छन् र पहिलो सिजनमैं रेड डेभिल्सलाई युरोपा कपको उपाधि दिलाएका छन् । मोरिनियो परिवर्तन भएका छन् । आक्रामक फुटबलबाट रक्षात्मक फुटवलतर्फ, अझ क्लव लेभलमा त उनी रक्षात्मक फुटबलका प्रणेता जस्तै भएका छन् । मोरिन्हो छट्टु छन् । त्यसको ठीक विपरित वेङ्गर आक्रामक फुटवलका हिमायती हुन् । जित्नुपर्छ तर कलात्मक खेल्नुपर्छ । यो वेङ्गरको बटमलाइन हो ।
किन हो किन आजकल २००३–२००४ को वेङ्गर पाउन कठिन छ । आजकलको वेङ्गरलाई त डिफेन्स कुन चराको नाम हो, थाहै हुँदैन । ठिक त्यस्तै २००५–२००६ को मोरिनियो पाउन कठिन छ । आजकलको मोरिनियोलाई त आक्रामक फुटबल कुन चराको नाम हो थाहै हुँदैन ।
आर्थिक रुपमा आर्सनल निकै मजबुत छ । यसको श्रय वेङ्गरलाई जान्छ । आर्सनलमा कुनै आर्थिक शंकट छैन । एकै सिजनमा ४० देखि ४२ करोड पाउण्ड कमाउने गर्दछ । हाइभरी छोडेर इमिरेट्स खेल्न थालेपछि विश्वमैं सबभन्दा बढी कमाउने क्लवमा पर्दछ । समर्थकहरूको संख्याको हिसाबले आर्सनल पाँचौं नम्बरमा पर्छ ।
यो सिजन आर्सनल टप ४ मा पर्ने सम्भावना करिबकरिब समाप्त भएको छ । लगातार चार खेलको पराजयको तीव्र पीडामा इटालीको सानसिएरोमा हानिएको आर्सनल एसी मिलानसँगको भेटमा भने चोट खाएको चेतनाबाट ब्युँझिएको योद्धाजस्तै देखिन पुग्यो । मिलानलाई उसकै घरमा २–० ले चुट्नु वेङ्गर र आर्सनलको शंकटमा ढाडस् हो भन्दा फरक पर्दैन । युरोपा लिग जितेमा अर्को सिजन च्याम्पियन्स लिग खेल्ने बाटो खुल्नेछ भने हारेमा भने शायद वेङ्गरको अलि नमिठो विदाइ हुनेछ ।
अहिले वृटिश मिडियाहरू पढ्दा लाग्छ वेङ्गर ढिलो वा चाँडो विदा हुनेछन् । एउटै क्लवमा २१ वर्षसम्म टिकिरहनु र क्लवलाई आर्थिक रूपमा मजबुत बनाउनु कुनै चटकेको खेल थिएन । भलै, उपाधिको सन्दर्भमा कमजोर देखिएका किन नहुन् । क्रियाशिलता, निष्ठा र फुटवलप्रियता वेङ्गरको चम्किलो पक्ष हो । महान् प्रशिक्षक वा मोरिनियोले भनेजस्तै असफलताको विशेषज्ञ यो छुट्याउने काम समयलाई दिंदा उचित होला । थुक आकाशमा पुग्न सक्दैन बरु उल्टै थुक्नेको थुक उस्कै मुखमा लत्पतिन्छ ।