नेभिगेशन
व्यक्ति/व्यक्तित्व

युवा उद्यमी मेघराजको व्यवसायिक फड्को

अस्ट्रेलियालाई भविष्यको सुनौलो गन्तव्यको रुपमा अंगीकार गर्दै नेपालीहरु अस्ट्रेलियामा भित्रिने क्रम बढ्दो छ । आजभोलि प्रवासलाई कर्मभूमि बनाउन पुगेका धेरै नेपालीहरु विस्तारैै आफ्नै व्यापार व्यवसायमा रम्न थालेका छन् । शैक्षिक परामर्शदेखि रेष्टुरेन्ट, होटल, क्लिनिङ कम्पनी, ग्रोसरी, मोग्रेज ब्रोकर, शिक्षण संस्था हुँदैं रियल स्टेट व्यवसायतिर नेपालीहरु जाने क्रम बढेको छ । आँट गरे के हुँदैन भन्ने पछिल्लो उदाहरण बनेका छन् आजभन्दा भण्डैं ९ वर्ष पहिले अस्ट्रेलिया छिरेका मेघराज पौडेल । शुरुमा अन्य रियल स्टेटबाट कामको अनुभव संगालेर झण्डै एक वर्ष अगाडिमात्रै मल्टी डाइनामिक रियल स्टेटबाट काम थालेका पौडेल युवा उद्यमीमा गनिन्छन् । उनी उक्त कम्पनीका प्रमुख पनि हुन् । यति छोटो समयमा नै करिब ३ सय घरपरिवारलाई घरजग्गा किनबेचमा सहयोगी भूमिका खेलिसकेका छन् । आफ्नो व्यवसायसँगै नेपाली समुदायमा हुने गतिविधिहरुमा समेत पौडेलले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएका छन् । आफ्नो जन्मथलोमा सामुदायिक अस्पताल निर्माण, स्कूल तथा एनआरएन अस्ट्रेलियाको झापामा बन्दै गरेको बृद्धआश्रममा गरेको योगदान साच्चै नै प्रसंशायोग्य छ । पौडेलले अस्ट्रेलियामा आफुले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई नेपाली समुदायलाई निरन्तर रुपमा पस्किदै आएका छन् । समयले भ्याएसम्म नेपाली समुदायमा बढी घुलमिल हुन रुचाउने पौडेल तनहुँ समाज अस्ट्रेलियाका उपाध्यक्ष समेत हुन् । तनहुँको ढोरफिर्दी गाविसमा (हाल सेती गण्डकी नगरपालिका) मध्यम वर्गीय किसान परिवारमा जन्मेका पौडेलले प्रारम्भिक शिक्षा गाउँकै छब्दी माविबाट सके । ६ जना दाजुभाई दिदीबहिनीमध्ये घरपरिवारमा उनी छोराहरुमध्ये जेठो थिए । पौडेल परिवार कृषि र खेतीपाती आश्रित थियो । बुवा प्रेम नारायण पौडेल गाउँमा स्थानिय राजनितिमा भिजेका व्यक्ति थिए । शिक्षित परिवारमा जन्मेका पौडेलले बाल्यकालदेखि नै शिक्षाको अवसर पाए । कक्षामा उनी मेधावी छात्रका रुपमा चिनिन्थे । गणित उनको सबैभन्दा मन पर्ने विषय थियो । पारिवारिक पृष्ठभूमि किसान भएर पनि होला स्कुल विदाका दिनमा आमाबुवालाई घरायसी काममा सघाउनु उनको दिनचर्या नै थियो । पौडेलले गाउँकै छब्दी माविबाट प्रवेशिका परिक्षा उत्र्तिण गरे । वाल्यकालमा पाइलट बन्ने ठूलो धोको थियो । तर जीवनमा सोचेजस्तो हुदैन भनेझैं उनी प्रवेशिकापछि उच्च शिक्षाका लागि पोखराको पि एन क्याम्पसमा आइएस्सीमा भर्ना भए । घरपरिवारमा जेठोबाठो भएका नाताले पढाईका अलवा घरपरिवारमा सहयोग गर्नु उनको पारिवारिक दायित्व थियो । आइएस्सीको दोस्रो वर्षको परिक्षा दिएर उनी आफुले अध्ययन गरेको छब्दी मावि ढोरछब्दीमा गणित विषय पढाउन पुगे । आर्थिक अभावकै कारण पौडेलेको पाइलट बन्ने सपना तुहियो । उनी गाउँकै विद्यालयमा पढाउदै आफ्नो पढाईलाई निरन्तरता दिदै गए । आइएस्सी उत्र्तिणपछि पिएन क्याम्पसमा बिएड संकायमा गणित विषय लिएर अध्ययन गर्न थाले । १७ वर्षको उमेरदेखि स्कुल पढाएर घरपरिवार तथा आफ्नो अध्ययन खर्च धानेका पौडेलले करिब पाँच वर्ष छब्दी र जरेबर स्कुलमा अध्यापन गरे । पौडेल सानैदेखि समाजसेवातिर अग्रसर हुन रुचाउँथे । शिक्षक भएर गाउँमै काम गर्दा केही युवाहरुलाई संगठीत पारेर क्याङदी जनजागरण युवा क्लब गठन गरे अनि आफू संस्थापक अध्यक्ष बने । प्राकृतिक संरक्षण, स्वास्थ्य क्षेत्रमा काम गरेर क्लबले सबैको मन जित्यो । सानैदेखि केही नविन काम गर्ने उनको वानी थियो । आफ्नो अध्ययनलाई निरन्तरता दिन काठमाडौं हिडे । किर्तिपूर क्याम्पसमा एमएडमा गणित विषय लिएर अध्ययन थाले । सानैदेखि व्यवहारिक पौडेलले पढाई खर्च जुटाउन बसुन्धरामा क्रियटिभ ल्याङग्वेज इन्ष्ट्रिच्युट खोले । साथीसँग पार्टरसीपमा मिलेर आफ्नै व्यवसाय थाले । साथी अमेरिका पुगेपछि इन्ष्टिच्युट बेचे । तर पौडेलको मनमा आफैले सानोतिनो व्यापार व्यवसाय गर्ने हुटहुटी भने रोकिएन । पछि ठमेलमा डाइनामिक एजुकेसनल एकेडमी खोल्न पुगे । उनको यो योजनाले भने विस्तारै गति लिदै गयो । सो एकेडमीमा उनले करियर डेभलपमेन्टदेखि नसिङका तयारी कक्षा, कोरियन भाषा, जापानीज भाषा, ब्रिज कोर्ष, स्टाफ नर्स जस्ता विषयहरुमा केन्द्रित थियो । व्यवसायले सोचे जस्तै सफलता हासिल गर्दै गएपछि पौडेलले सन्तोषको सास फेरे । २३ जना स्टाफ कार्यरत रहेको आफ्नो व्यवसायलाई अझ विस्तार गर्ने सोचे । उनी व्यवसायको सिलशिलामा नेपालका धेरै ठाउँहरु घुमे । धेरै काठमाडौंका कलेजहरुमा मोटिभेसनल कक्षाहरु समेत दिदै हिडे । व्यवसायले फड्को मार्दै थियो । तर उनको मनमा भने अझै बढी केही गर्ने हुटहुटीले सतायो । उनका केही आफन्तजनले पौडेलको व्यवसायिक कला र लगनशिल देखेर विदेश जान हौसाए पनि । नेपालमा कमाई राम्रै थियो तर बेलावेलाको नेपाल बन्द अनि राजनीतिक अस्थिरताले कतै व्यवसायलाई नै धक्का पुग्ने त होइन भन्ने शंकाले पौडेलको मनमा डेरा जमाउन पुग्यो । अनि विस्तारै पौडेलले नेपालको व्यवसायलाई थाति राख्दै अस्ट्रेलिया आउने निधो गरे । अस्ट्रेलियाको यात्रा सन् २००९ मा पौडेल आफ्नी जीवनसंगीनीका साथ अस्ट्रेलिया आइपुगे । जीवनसंगीनी एमपिए अध्ययनका लागि सिड्नी आइपुगिन् भने उनी डिपेन्डेण्ट भिषामा । पौडेलको जीवनले नयाँ मोड लिन पुग्यो । नेपालमा आफ्नै व्यवसायका मालिक बनेका पौडेल कामको खोजीमा लागे । अस्ट्रेलियामा दुखःसुखलाई नजिकबाट नियाले । कामलाई उनले कहिल्यै सानो ठूलो भनेनन् । क्लिनिङदेखि किचेनह्याण्ड हुँदै नर्सिङको काम समेत गरे । सन् २०१३ तिर उनले अस्ट्रेलियाको स्थायी बसोवासको अनुमति पाए । नेपालदेखि नै बिजनेस म्यानको रुपमा अनुभव संगालेका पौडेललाई अर्काको कम्पनीमा जागिर खान पटक्कै मन थिएन । तर हातमुख जोर्न र अनुभवकै लागि भए पनि केही वर्ष जागिरे भएर नै काम गरे । सन् २०१३ मा रियल स्टेट खोल्ने अभिलाषा पलायो । परामर्श लिन टेफ पुगे । आफुले भित्रैदेखि मन पराएको क्षेत्रमा हात हाल्न तम्सीएका पौडेलले रियल स्टेट सम्बन्धी अध्ययनका लागि टेफमा भर्ना भए । अध्ययन सकेपछि उनी मिडास प्रोपटी सोलुसन्समा काम सिक्नकै लागि आफैले खर्च तिर्ने सर्तमा छिरे । त्यतिवेला मिडासका राम मोहन केसीले पौडेललाई ठूलो गुन लगाए । काम सिक्न माहिर पौडेलले विस्तारै काम सिक्दै र अनुभव बटुल्दै गए । पछि सन् २०१५ मा रे ह्वाइट रियल स्टेटमा काम गर्न पुगे । त्यसो त उनले सन् २०१३ मा नै मल्टी डाइनामिक दर्ता गरिसकेका थिए । आफ्नो कम्पनीले फ्रन्टमा काम गर्न नपाएपछि उनले अरु कम्पनीकै अण्डरमा बसेर काम गरे । रे ह्वाइट रियल स्टेटमा काम गर्दा पौडेलले प्रोजेक्ट सेल, प्रपर्टी डेभलोपरको अध्ययन अनुसान्धान गरे । कामकै सिलशिलामा विभिन्न सेमिनारमा सहभागी भए अनि प्रोजेक्ट सेलको रिसर्च पनि गरे । कामको अनुभवले विस्तारै खारिएका पौडेललाई अझ बढी आत्मविश्वास थपियो । सन् २०१३ मा सात जना साथीहरु मिलेर दर्ता भएको मल्टी डाइनामिक कम्पनीलाई पौडेलले सन् २०१६ मा आफ्नो मातहतमा ल्याए । रे ह्वाइटको मातहतमा आफ्नो कम्पनीबाट विस्तारै काम गर्न सुरु गरे । रे ह्वाइटबाट आफ्नो कम्पनीका नाममा फ्रेच्याइज लिने प्रक्रियामा थिए उनी । तर रे ह्वाइटका साथीहरुसँग कुरा नमिलेपछि सन् २०१७ मा उक्त कम्पनी छोडेर आफ्नै कम्पनी मल्टी डाइनामिक रियल स्टेट संचालनमा ल्याए । पौडेलेको अभियानलाई विष्णु प्रभात र विजय पौडेलले होस्टेमा हौंसे थपे । आज करिब एक वर्षको अवधिमा नै उक्त कम्पनीले ग्राहकहरुको मन जितेर आफ्नो साख कमाइसकेको छ । सिड्नीमा मुख्य कार्यलय रहेको उक्त रियल स्टेटको मेलबर्नमा समेत शाखा संचालनमा आइसकेको छ । भविष्यमा मल्टी डाइनामिकले अस्ट्रेलियाका सबै स्टेटहरुमा शाखा विस्तार गरी अझ बढी परिस्कृत रुपमा सेवाग्राहीहरुलाई आफ्नो सेवाहरु विस्तार गर्ने लक्ष्य पौडेलले बोकेका छन् । समाजसेवा र जीवन जीवनलाई एउटा सर्षघशिल यात्रा ठान्छन् उनी । दुःखमा नआत्तिने र सुखमा नमात्तिने सफलताको मुल मुल मन्त्र हो उनको । तनहुँ समाज अस्ट्रेलियाका उपाध्यक्ष रहेका पौडेल एनआरएन अस्ट्रेलियाको विजनेस काउन्सिलको उपाध्यक्षमा समेत मनोनयन भएका छन् । एनआरएन अस्ट्रेलियाको कार्यसमिति भित्र वा बाहिरै बसेर नेपाली समुदायमा आफ्नो सीप र अनुभव निरन्तर पस्किरहेका छन् । विस २०६२ सालमा किशोरी शर्मासँग पौडेल विवाह बन्धनमा बाँधिए । उनले भारतको मथुरावृन्द्राबनबाट नेपाली मुलकी किशोरीसँग विवाह गरे । आफ्नो सफलताको श्रेय जीवनसंगीनीलाई दिन भुल्दैनन् उनी । भन्छन्– मलाई हौसला र प्रेरणा दिने मेरी जीवनसंगीनी नै हुन् । साथै बुवाआमा, आफन्तजन र शुभचिन्तकहरुको प्रेरणा र हौसलाले जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । जीवनसंगीनी किशोरी नसिङ क्षेत्रमा कार्यरत छिन् । फूसर्तको समयमा विश्वविख्यातहरुको जीवनी र सर्घषशील सफलताका कथाहरु पढ्न रुचाउने पौडेलका दुई छोराहरु आयूष र अनिश छन् । सकारात्मक सोचका साथ अगाडी बढेमा सफलता चुम्न सकिने उनी बताउँछन् । पौडेल भविष्यमा डेभलोपरको रुपमा अगाडि बढ्न चाहान्छन् । प्रवासलाई कर्मभूमि बनाएपनि आफ्नो जन्मभूमिका लागि केही गर्ने सोच बनाएका छन् पौडेलले । यहाँ सिकेका सीप ज्ञान र अनुभवलाई नेपालमा समेत साटासाट गर्ने योजनामा छन् । विकसित देशमा नयाँ वस्ती विकास निर्माणमा चाहिने आवश्यक पूर्वाधारका वारेमा नेपालले सिक्नुपर्ने घेरै कुराहरु रहेको उनी बताउँछन् । त्यसैले भविष्यमा विकासका योजनाहरु लिएर नेपाल जाने सोच बनाएका छन् । देश विकास लागि पहिला प्रणालीमा परिवर्तन हुनुपर्ने बताउँछन् पौडेल । सधैं विदेशीहरुको मात्र मुख ताक्नु भन्दा पहिला विधि र कानुनी राज्यको अनुभूति आम नागरिकलाई दिलाउन सकेमा देश विकास सहज तरिकाले अगाडि बढ्ने पौडेलको बुझाई छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्