नेभिगेशन
व्यक्ति/व्यक्तित्व

व्यवसायसँगै नेपाल चिनाउँदै कुमार गिरी

कृष्ण तिवारी जीवनमा लेखेको पाइन्छ, देखेको पाइदैन् भन्ने उक्ति अस्ट्रेलियालाई विगत लामो समयदेखि कर्मभूमि बनाउँदै आएका कुमार गिरीको जीवनमा ठ्याक्कै मेल खान्छ । जीवनका उकाली र ओरालीहरुमा पैंठेजोरी खेल्दै अस्ट्रेलियालाई कर्मभूमि बनाउन आजभन्दा झण्डैं २२ वर्ष अघि सिड्नी आइपुगेका गिरी देखेको अस्ट्रेलियालाई माया मार्दै नेपाल फर्के तर जीवनमा गिरीलाई अस्ट्रेलियाले पछ्याउदंै आयो । करिब चार वर्ष नेपाल बसाईपछि उनी पुनः अस्ट्रेलिया आइपुगे । नेपाली समुदायमा चिनिएका पात्र हुन् उनी । समयले भ्याएसम्म सामुदायका कार्यक्रममा सक्रिय सहभागिता जनाउने गिरी लामो समयदेखि आफ्नै व्यापार व्यवसायमा संलग्न छन् । अर्थात “करी मोनिटर” नेपाली तथा इण्डियन रेस्टुरेन्टका संचालक हुन् । नेपाली स्वादका खाना विदेशीलाई चखाउँदै नेपाल चिनाउने अभियानमा समेत लागि परेका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा मध्यम परिवारमा जन्मेका गिरी परिवारमा जेठो सन्तान थिए । उनले प्रारम्भिक शिक्षा र प्रवेशिका गाउँकै ज्ञान ज्योति माविबाट सके । पारिवारिक पृष्ठभूमि शिक्षित तथा व्यापारिक भएकाले पनि होला अध्ययनका लागि उनले राम्रो वातावरण पाए । गिरीका बुवा बिष्णु गाउँमै कहलिएका धान व्यापारी थिए । गाउँले परिवेशमा जन्मे हुेर्केका गिरी पढाईमा अब्बल नै थिए । पढाईका अलवा विदाका दिनमा घरपरिवारमा खेतीपाती सहयोग गर्नु तथा गाईबस्तु चराउन लैजानु उनको दैनिकी जस्तै थियो । वाल्यकालको चाहना सरकारी जागिर खाने थियो । आफ्ना नातेदारहरु सरकारी जागिरमा भएकाले सरकारी जागिर खान पाए कस्तो हुन्थ्यो भन्ने उत्सुकताले निकै सताउने गर्दथ्यो । विसं २०४५ सालमा प्रवेशिका उत्तिर्णपछि गिरी उच्च शिक्षाका लागि काठमाडौं आए । पिपुल्स क्याम्पसमा आईएमा भर्ना भए । काठमाडौं आएपछि उनले कम्प्युटर ट्रेनिङ लिन भ्याए । सरकारी जागिरको नसा उनको मानसपटलमा बसिसकेको थियो । उनी क्याम्पस पढ्दैं लोकसेवाको तयारी तिर लागे । नभन्दै गिरीले प्रज्ञा प्रतिष्ठानमा प्राविधिक कम्प्युटर तर्फ खरिदारमा नाम निकाले । ५ सय भन्दा बढीको आवेदनमा पाँच जनाको कोटामा आफ्नो नाम गोरखापत्रमा देख्दा गिरीलाई खुसीको सिमा नै रहेन् । जागिर खादै गिरीले पिपुल्सबाटै बिए सम्मको अध्ययन सके । प्रज्ञा प्रतिष्ठानमा गिरीको काम प्राविधिक तर्फ थियो । अनि प्रतिष्ठानका कलाकारहरुलाई विदेश जाँदा चाहिने डकुमेन्टहरु गिरीकै टेबलमा आउँथ्यो । र उनले नै सबै डकुमेन्टहरु टाइप गर्नु पर्दथ्यो । अस्ट्रेलियाको यात्रा कलाकारहरु कोही अमेरिका, बेलायत, अस्ट्रेलिया गएको देखेर गिरीको मनमा विदेशको चक्कर घुमिसकेको थियो । अब गिरी पनि एकपटक विदेश जाने सोच बनाए । काठमाडौंमा एकजना साथीको कार्पेट व्यवसाय थियो । साथीकै कार्पेट व्यवसायबाट मिलाएर बिजनेस भिषामा १५ दिनका लागि सन् १९९५ मा गिरी अस्ट्रेलियाको व्रिसवेन आइपुगे । त्यतिवेला नेपालीहरु निकै कम थिए । ब्रिसवेनमा भन्दा सिड्नीमा नेपालीहरु भेट हुन्छ भन्ने थाहा पाएर गिरी केही दिनपछि सिड्नी आइपुगे । अब उनका सर्घषका दिनहरु सुरु हुन थाले । न खानाको ठेगान न बस्नको । एक जना नेपाली भेटेर बोल्न पाएपनि सबै दुःख विर्से जस्तै हुन्थ्यो त्यतिवेला, गिरीले स्मरण गरे । सेन्ट्रल ट्रेन स्टेसनमा एक नेपाली पृथ्वी उपे्रतीलाई भेटे । उप्रेतीलाई आफ्नो सबै बेलिविस्तार सुनाए । गिरीको कुरा सुनेपछि उप्रेतीले आफुले जानेको सुझाव–सल्लाह दिए अनि सहयोग पनि गरे । गिरीलाई नेपालको सरकारी जागिर भन्दा यहाँको हरियो डलरले मन लोभ्यायो । उता महिनामा जम्मा ८ सय चालिस रुपैयाँ तलब थाप्ने गरेका गिरीलाई अस्ट्रेलियाको कमाई निकै मन पर्यो । दुःखसुख यतै बसेर अस्ट्रेलियालाई नै कर्मभूमि बनाउन तिर सोचे । अनि प्रोटेक्सन भिषामा अस्ट्रेलिया बस्न सुरु गरे । करिब ७ वर्ष गिरी अस्ट्रेलियामा बसे । उनको अस्ट्रेलिया बसाईको चाहना पुरा हुन पाएन किनकी भिषा असफल भयो । गिरी जीवनमा सधै कर्मलाई बढी विश्वास गर्दथ्ये । कर्म गर्दै जाने हो, तर हरेस खाने होइन भन्ने उनको सोचाई थियो । यस अबधिमा गिरीले रेष्टुरेन्टतिर काम गरेर अनुभव संगाली सकेका थिए । अब नेपाल नै फर्कन पर्ने निश्चित भएपछि गिरी आफ्नो चाँजोपाजो मिलाउन थाले । उनी सीधैं बैंक गएर बैंकले दिएको ३७ हजारको क्रेडिट कार्ड रद्ध गर्न लगाए । कोही साथीहरुले नेपाल फर्कने भएपछि किन बैकलाई त्यो पैसा फिर्ता दिन्छस् भन्न समेत भ्याए । तर गिरीमा अरुको ठगेर कमाएकोे पैसाले जीवनमा खुसी दिदैन भन्ने आत्माज्ञान थियो । र सन् २००२ मा गिरी नेपाल फर्के । 14947629_10209121287883587_5293732304047719759_n हो, जीवनमा लेखेको पाइन्छ, देखेको पाइदैन भनेझैं गिरीलाई अस्ट्रेलियाले छोडेन् । अस्ट्रेलियामा काम गर्दा उनको लगनशीलताकै कारण एक रेष्टुरेन्टले स्कील भिषामा कुकको रुपमा पुनः कंगारुको देशमा गिरीलाई बोलायो । गिरी आफ्नी जीवनसंगीनीका साथ दोस्रो पटक सन् २००६ मा अस्टे«लिया आइपुगे । दुई वर्ष गिरीले सोही रेष्टुरेन्टमा काम गरे । यता स्थायी बसोवासको चाँजोपाँजो मिलाएपछि सन् २००८ बाट उनले आफ्नै व्यवसाय शुरु गरे । आफुसँग भएको सीप, अनुभवलाई नियाल्दै गिरीले सिड्नीको उत्तरी क्षेत्र गोर्डनमा “करी मोनिटर” नामको इण्डियन तथा नेपाली परिकारहरु पाइने रेष्टुरेन्ट संचालनमा ल्याए । समाजसेवा र पारिवारीक जीवन नवलपरासी बुलिङटार निवासी हिरासँग सन् २००३ मा विवाह बन्धनमा बाँधिएका कुमार गिरीको यो मागी विवाह थियो । नातेदारहरुको चिनजानले यी जोडीको पहिलो भेटमा नै कुमारले हिरालाई मन पराए । कुमार भन्छन्– “जहाँ लेखेको थियो विवाह त्यही हुने रहेछ । हाम्रो पनि विचार र मन दुवै मिल्यो अनि विवाह भयो ।” गिरीको परिभाषामा जीवन भनेको एउटा सर्घष हो । लक्ष्यमा पुग्न अर्थात रिटायर्ड जीवनलाई सहज बनाउन गरिने सर्घष । सर्घषशिल भएर लगानशिलका साथ सकारात्मक सोचले अगाडि बढेमा एक न एक दिन लक्ष्य प्राप्ति गर्न सकिने बताउँछन् गिरी । जीवनमा धनी भन्दा पनि खुसी रहन सक्नु जीवनको सार्थकता हो । गिरी भन्छन्– जीवनमा एउटा सानो उपलब्धिमा पनि खुसी बन्न सक्नुपर्छ । एकैचोटी ठूलो सपना देख्नुभन्दा सानो सपनाबाटै अगाडि बढ्नु उत्तम हुने उनको भोगाईले सिकाएको छ । नेपाली समुदायमा रहेका नेपालीहरु एकआपसमा सहयोगी हुनुपर्ने गिरी बताउँछन् । प्रवासमा हाम्रो पहिलो पहिचान भनेकै नेपालीपन हो अनि नेपाली बीचको एकता । त्यसैले एक नेपालीले अर्को नेपालीलाई दुःखसुखमा सहयोग गर्नु कर्तव्य पनि हो । खुट्टा तान्ने प्रवृतिलाई त्याग्न सक्नुपर्छ । आजभोली गिरी आफ्नै व्यवसायमा रमाइरहेका छन् । विदेशीहरुको बढी चहलपहल हुने उक्त क्षेत्रमा उनका ग्राहक पनि ९५ प्रतिशत त विदेशी नै हुन् । यहाँका अजीहरुलाई नेपाली स्वादका परिकारहरु चखाउँदै आएका छन्, उनले । नेपाल पुगेका अस्ट्रेलियनहरु नेपालीको रेष्टुरेन्टमा खान भनेपछि हुरुक्कै हुन्छन् । गिरीले व्यवसायसँगै नेपाल चिनाउने अभियानमा समेत लागेका छन् । आफ्नो रेष्टुरेन्टमा आउने विदेशीहरुलाई लक्षित गरी ट्राभल गाइडहरु समेत राखिदिएका छन् । उक्त गोर्डन क्षेत्रमा गिरीको रेष्टुरेन्टले सन् २०१० मा बिजनेस अचिभमेन्ट अवार्ड समेत पाएको थियो । सम्भवतः नेपालीको रेष्टुरेन्ट व्यवसायले पाएको त्यो अवार्ड पहिलो नै थियो । उनी भन्छन्– धेरै विदेशीहरु चाँसो दिएर नेपालका वारेमा सोधखोज गर्छन् । फुर्सत भयो कि, गिरी नेपालका पर्यटकिय क्षेत्रका वारेका विदेशीलाई बताउन पछि पर्दैनन् । अस्ट्रेलियालाई कर्मभूमि बनाए पनि गिरीको मन भने नेपालतिर बरालिन्छ । चाहे भूकम्पका वेला होस् वा अरु कुनै वेला गिरीले आफ्ना सहयोगी हातहरु सधैं फंैलाइरहेका छन् । भूकम्पको वेला गिरी परिवारले नुवाकोटको भद्रुटार गाविसमा झण्डैं १० हजार डलर सहयोग गरेको थियो । त्यस्तै चितवनको सडक वालवालिका पूर्नस्थापना केन्द्र “हाम्रो घर” लाई व्यक्तिगत तबरबाटै एउटा ब्लक निर्माण गरिदिएका छन् । गिरीले वेलावेलामा नेपालको पवित्र समाज संस्थालाई पनि सहयोग गर्दै आएका छन् । उनी भन्छन्– मानिसले धेरै कमाएर पछि दिन्छु भन्ने होइन्, थोरै कमाईबाटै पनि सहयोग गर्न सकिन्छ । सहयोगको भवना मन भित्रैदेखि आउनु ठूलो कुरा हो । समाजसेवा उनको रुचिको विषय पनि हो । कसैलाई आफुले गुन लगाउन पाउँदा खुसीले प्रफुल्लित बन्छन, उनी । सकिन्छ, कसैलाई सहयोग गर सक्दैनौ कसैको कुभलो नगर भन्ने गिरीको जीवनको सुत्र पनि हो । संस्था भित्र बसेर होस् वा संस्था बाहिरैबाट गिरी नेपाली समुदायमा आफ्नो योगदान दिदै आएका छन् । समाजसेवा गर्न कुनै पदमा नै बस्नुपर्छ भन्ने मान्यता राख्दैनन् उनी । गिरी एनएडिएफ संस्थाको संस्थापक सदस्य हुन् । नर्थसोर नेप्लीज कम्युनिटीका सल्लाहकार रहेका गिरी कला संस्कृति साहित्य प्रतिष्ठानका महासचिव भएर आफ्नो योगदान पस्किसकेका छन् । त्यस्तै आनेसास अस्ट्रेलिया च्याप्टरको गिरी उपाध्यक्ष हुन् । kumar giri1 फुर्सतमा किताब पढ्न र कविता लेख्न मन पराउँछन् गिरी । प्रज्ञा प्रतिष्ठानमा जागिरे हुँदादेखि नै कलाकार तथा साहित्यकारहरुको उठबसले एकाएक गिरीमा साहित्यप्रतिको मोह पलायो । त्यो मोहलाई गिरीले आजसम्म निरन्तरता दिदै आएका छन् । आफ्नो सफलताको श्रेय जीवनसंगीनी हिरा, आफन्तजन तथा शुभचिन्तकहरुलाई दिन चाहन्छन् गिरी । जीवनमा निकै हण्डर खाए पनि नआत्तिएका र नमात्तिएका गिरीको शालिन स्वभावले सबैको मन जितेका छन् । गिरी परिवारमा दुई छोरीहरु चिनारी र चाहना तथा एक छोरा सफल छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्