नेभिगेशन
व्यक्ति/व्यक्तित्व

समुदायमा समर्पित कटुवाल

कृष्ण तिवारी सामान्य पहिरन, मध्यम कद, अनि हँसिलो अनुहार । नेपाली समुदायका कार्यक्रमहरुमा समयले भ्याएसम्म देखिने अुनहार हुन् उनी । पेशाले उनी सफल व्यवसायी एवं एकाउन्टेन्ट हुन् – गोवा कटुवाल । विगत लामो समयदेखि एस एण्ड एस एकाउन्टिङ एण्ड विजनेस सर्भिसेजका डाइरेक्टर रहेर आफ्ना सेवाग्राहीलाई विश्वसनीय सेवा पस्कदै आएका छन् । नेपाली समुदायलाई झण्डैं २० वर्षदेखि नजिकबाट नियालेर दुखःसुखमा साथ दिदै आफ्नो ज्ञान, सीप र अनुभव बाड्दै आएका कटुवाल एउटा उदाहरणीय व्यक्तित्व समेत हुन् । उमेरका हिसाबले आधा सेन्चुरी पार गरेपनि उनको जीवनशैली, कार्यशैली र समाजप्रतिको लगाव देख्दा लाग्छ, उनी युवापुस्ताका लागि प्रेरणाका श्रोत पनि हुन् । इलामको मंगलबारेमा सामान्य परिवारमा जन्मिएर प्रारम्भिक शिक्षा गाउँकै महेन्द्रदय प्राविबाट सके अनि हाइस्कूलसम्मको अध्ययन भानुभक्त माविबाट । घरपरिवारमा तीन दाजुभाई र चार दिदीबहिनी मध्ये जेठो सन्तान थिए उनी । ग्राम विकासमा कार्यरत कटुवालका बुवा त्यतिवेलाका चल्तापुर्जा समाजसेवी थिए । झण्डै पाँच कार्यकाल त उनले प्रधानपञ्चको रुपमा काम गरे । शिक्षित परिवारमा जन्मेहुेर्केका कटुवालले अध्ययनका लागि अनुकुल वातावरण पाए । किसान परिवारका कटुवालले स्कुले जीवनमा अध्ययनको अलवा विदाका दिनमा खेतीपातीमा बुवाआमालाई सघाउनु तथा गाईबस्तु चराउनु दैनिकी नै थियो । २०३९ सालमा प्रवेशिका परिक्षा पास गरेका कटुवाल मेधावी विद्यार्थीमा गनिन्थे । वाल्यकालमा उनको चाहना चार्टड एकाउन्टेन्ट नै बन्ने थियो । उनी आफ्नै योजना अनुसार उच्च शिक्षाका लागि दमक क्याम्पसमा आई कम भर्ना भए । यता पढ्दा पढदैं उनले सरकारी जागिरतिर पनि आवेदन दिए । अध्ययनमा मिहिनेती कटुवालले नभन्दै २०४१ सालमा जिल्ला प्रशासन कार्यालय झापामा खरिदार पदमा नाम निकाले । जागिर र अध्ययनलाई जीवनमा अगाडि गुडाउँदै लगे । पछि नायव सुब्वा लेखापालमा नाम निकालेर रुपन्देही जिल्ला पुगे । २०४३ सालमा कामकै सिलसिलामा रोल्पा पनि पुगे । उनको अध्ययनलाई जागिरले रोक्न सकेन । अनि लुम्बिनी वाणिज्य क्याम्पसबाट बि कम पास गरे । जागिरे जीवनमा कामको सरुवासँगै उनको पढाई कहिले पुर्व त कहिले पश्चिम हुने गर्दथ्यो । पाल्पामा एमबिए प्रथम वर्ष भर्ना भएका कटुवालले मिनभवनबाट सन् १९९० मा प्रथम श्रेणीमा उत्र्तिण गरे । परिश्रमी कटुवालले आफ्नो जीवनको लक्ष्यलाई पछ्याउन कहिल्यै छोडेनन् । विसं २०४५ सालमा लेखा अधिकृतमा नाम निकालेर लाहान प्राविधिक शिक्षालयमा पुगे । पञ्चायति व्यवस्था विरुद्ध ०४६ सालको जन आन्दोलनमा कटुवालले सक्रिय भूमिका निभाए । आन्दोलनलाई सघाएको सुईको पाएपछि सरकारले कटुवाल लगायत केही साथीहरुलाई रातारात लाहानबाट बालाजु प्राविधिक प्रशिक्षण केन्द्र काठमाडौंमा सरुवा गरायो । अस्ट्रेलियाको यात्रा सन् १९९६ मा कटुवाल पहिलो पटक एडिबीको छात्रावृतिमा होटल म्यानेजमेन्ट कोर्षका लागि रिजेन्सी होटल स्कुल एडिलेड आइपुगे । यसभन्दा अगाडि सन् १९९४ तिर उनी आइएलओको ३ महिने ट्रेनिङको लागि कोरिया पुगिसकेका थिए । एडिलेडमा करिब एक वर्षको अध्ययन पश्चात नेपाल फर्किए । सिटीइभिटीमा शिक्षालय प्रमुख भएर कामको लागि लेते प्राविधिक शिक्षालय मुस्ताङमा पुगे । धौलागिरी टेक्नीकल स्कुल र लेते मुस्ताङ स्थापनाका लागि कटुवालले खेलेको भूमिका साच्चै नै प्रसंसनीय छ । उनकै नेतृत्वमा नेपालमा सिटिइभिटी अन्र्तगत पहिलो पटक कमर्सियल कुकरी तथा होटल म्यानेजमेन्ट कोर्षको सुरुवात गराउन सफल भए । सन् १९९८ मा भिजिट नेपालको अवसर पारेर ट्रेकिङ होटेल एसोसियसन अफ मुस्ताङको सहकार्यमा पहिलो पटक फुड फेस्टिभल तथा जोमसोममा वेस्ट कुक कम्पीटिसनको आयोजना पनि गरे । काममा सधैं मिहिनेती र इमान्दार कटुवालले स्थानिय स्तरमा राम्रो छाप छोड्न सफल भए । दुर्गम स्थानमा उदाहरणीय काम गरेकै कारण तत्कालिन राजा स्व.विरेन्द्रको ५० औं जन्मोत्सवको अवसरमा पदकबाट विभूषित भए । 13244277_10153541762321975_1770700167840881557_o उनको कार्यशैली र व्यवहारकै कारण आजसम्म पनि मुस्ताङवासीको आँखाका उनी सधैं झल्किरहन सफल भएका छन् । उनकै पहलमा सिटिइभिटी अन्र्तगत नेपालमा पहिलो पटक पाईन फरेष्ट लज समेत खुल्यो । कटुवाललाई नेपाल छोड्ने कुनै चाहना नै थिएन । उनी आफ्नै कार्यमा रमाइरहेका थिए । तर मनमा कता–कता अझ बढी ज्ञान हासिल गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । जब नेपालमा जनयुद्ध शुरु भयो, काम गर्ने वातावरणमा केहि असहजता पैदा गराइदियो । अनि उनी फेरि उच्च शिक्षाकै लागि सन् १९९९ मा होटल म्यानेजमेन्टमा एडभान्स डिप्लोमा अध्ययन लागि एडिलेट आए । पढाईमा मेधावी रहेका कटुवालले त्यतिवेला सो कलेजबाट मोस्ट आउटस्ट्यान्ङिग इन्टरन्यासनल स्टुडेन्ट अवार्ड समेत हात पारे । अध्ययन पश्चात उनी सन् २००० मा सिड्नी बसाई सरे । विद्यार्थी जीवनमा कटुवालले किचेनह्यान्ड देखि सेफसम्मको अनुभव बटुले । वाल्यकालदेखि नै एकाउन्टेन्ट पेशामा रुचि राखेका कटुवाललाई सोही क्षेत्रतिर विशषेज्ञता हासिल गर्न लोभ्यायो । नेपालमा समेत एमबिए सकेका कटुवालले अब अस्ट्रेलियामा नै एकाउन्टिङ विषय अध्ययन थाले । अनि म्याक्वायरी विश्वविद्यालयबाट एमपिए सके । अनि सिपिए पनि पुरा गरे । उनलाई कामबाटै स्थायी वसोवासको प्रक्रिया मिलाइदिने अफरहरु नआएका होइनन्। तर अध्ययन नै उनको प्रमुख लक्ष्य बन्यो । परिश्रमको फल मिठो हुन्छ, भने झैं अन्नतः कटुवाल आफ्नो लक्ष्यमा पुगेरै छाडे । अरु कम्पनीमा फुल टाईम काम गरेपनि कटुवालले सन् २००० मा नै एस एण्ड एस एकाउन्टिङ व्यवसाय दर्ता गराएका थिए । त्यसो त उनले सन् २००४ मा ट्याक्स एजेन्टको अनुमति पाइसकेका थिए । विभिन्न कम्पनीहरुमा एकान्टेन्ट हुदैं सिनियर एकाउन्टेन्टको रुपमा काम गरेर अनुभवले खारिएका कटुवालले अब आफ्नै व्यवसाय पूर्ण रुपमा संचालन गर्ने सोचका साथ जागिर छाडेर सन् २००९ बाट आफ्नैं कम्पनीमा काम शुरु गरे । शुरुमा टाउनहलस्ति वल्र्ड टावरमा आफ्ना सेवाहरु सुरु गरेका कटुवालले आज आफ्नै स्वामित्वमा रहेको 1/301A Castlereagh Street Haymarket बाट सेवाहरु दिदै आएका छन् । एकाउन्टिङ तथा कर सम्बन्धि परामर्श, ट्याक्स सेवा र बिजनेस कन्सल्टेन्सी सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएका छन् । आफ्ना सेवाग्राहीहरुको मन जितेकै कारण आज उनको व्यवसाय सिड्नीमा मात्र नभएर अस्ट्रेलियाका तास्मानिया वाहेक अन्य राज्यहरुमा समेत शाखा विस्तार गरिसकेका छन् । सेवाग्राहीहरुको सन्तुन्टी नै आफ्नो सन्तुष्टी रहेको बताउँछन् उनी । आफ्नै व्यवसाय थालेदेखि जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन् उनलाई । समाजसेवा र जीवन समाजसेवा कटुवालको मोह पनि हो । बुवाकै प्रेरणाबाट सानैदेखि समाजिक कार्यमा सहभागि हुन रुचाउथे उनी । एडिलेडमा रहँदा नै फ्रेन्ड्स अफ नेपाल संस्थामा रहेर काम गरे । सिड्नी आएपछि नेप्लीज अस्ट्रेलियन एसोसियसनको सदस्यता बने । अस्ट्रेलियामा एनआरएन गठनको लागि भएका अभ्यास र पहलीकदमका साक्षी हुन् कटुवाल । उनी संस्थापक सदस्य पनि हुन् । सन् २००५ मा एनआरएन अस्ट्रेलिया स्थापनापछि न्यासनल कोर्डिनेटरको रुपमा रहेर काम गरे । त्यतिवेला विधान बनाउनेदेखि लिएर विभिन्न कार्ययोजना तर्जुमा गर्न कटुवालले पु¥याएको योगदानलाई विर्सन सकिदैनन् । अस्ट्रेलियामा पहिलो पटक सन् २००६ मा आयोजना गरिएको नेपाल फेष्टिभलमा उनी संयोजक भएर आफ्नो क्षमता प्रस्तुत गरे । त्यस्तै सन् २००८ को नेपाल फेष्टिभलमा समेत संयोजक रहे । सन् २००७ देखि २००९ सम्म एनआरएन अस्ट्रेलियाको अध्यक्ष, सन् २००९ देखि २०११ सम्म एनआरएनए आइसीसी रिर्जनल कोर्डिनेटर रहेर आफ्ना सीप र अनुभवलाई बाँड्न सफल भए । सफल र सक्षम नेतृत्वकै कारण कटुवालले सन् २००९ मा एनआरएन अस्ट्रेलिया अवार्ड पाए । कटुवाल अस्ट्रेलियाको मेनस्ट्रीम राजनीतितिर पनि निकै चाँसो राख्ने गर्छन् । सन् २००७ बाट उनी यहाँको लेबर पार्टी निकट रहेर नेपाली समुदायलाई अस्ट्रेलियाली समुदायबीच अझ बढी मित्रता र आपसी सम्बन्ध स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएका छन् । “ग्य्रान्भिल डे ब्रान्च” का उनी भाइस प्रेसिडेन्ड समेत हुन् । अस्ट्रेलियाको समुदायमा खेलेको भूमिकाको कदर गर्दै एनएसडब्लुको Premier’s Indian Sub Continent Community Award 2011 मा नोमिनेटेड समेत भएका थिए । त्यस्तै उनी ग्य्रान्भिल नेप्लीज कम्यूनिटीका संस्थापक हुन् । निकै चाँसोका साथ लिइएको नेप्लीज कम्युनिटी सेन्टरका कटुवाल हाल उपाध्यक्ष छन् । विभिन्न पदमा बसेर वा वाहिर रहेर पनि कटुवालले नेपाली समुदायप्रति ठूलो गुन लगाएका छन् । नेपालमा गएको विनासकारी भूकम्पका वेला अर्थसंकलनका लागि अस्ट्रेलियाबाट कोर्डिनेसन जिम्मेवारी कटुवालले नै गरेका थिए । जसमा करिब १ दशमलब ४ मिलियन डलर रकम उठेको थियो । विश्वभर अन्य मुलुकमा रहेका एनआरएन भन्दा अस्ट्रेलियाको एनआरएनले उठाएको रकम निकै माथि थियो । जीवन भनेको कटुवालका शब्दमा एउटा यात्रा हो । यात्रामा कहिले उकाली त कहिले ओरालीको सामना गर्दै आफ्नो लक्ष्यलाई पछ्याएर अगाडि बढ्न सक्नुपर्छ । लक्ष्यलाई पछ्याउन कर्म गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिन्छन् उनी । भन्छन्– “जीवनमा धैर्यता गर्न पनि सिक्नुपर्छ । एकैपटक सबै आफुले खोजेजस्तो भएन भनेर कहिल्यै निरास हुनु हुदैन् ।” सधै सकारात्मक भएर अगाडि बढेमा लक्ष्यमा पुग्न सकिने अनुभव सुनाउँछन् कटुवाल । goba-dai विसं २०४९ सालमा विष्णुकलासँग मागी विवाह गरेका कटुवाल आफ्नो सफलताको श्रेय जीवनसंगीनीलाई दिन चाहान्छन् । भन्छन्– मलाई प्रेरणा र हौसला दिने मेरी जीवनसंगीनी नै हुन् । श्रीमानका हरेक दुखसुखका क्षणमा साथ दिदै आएकी विष्णुकला नर्सिङ पेशामा आबद्ध छिन् । कटुवाल परिवारमा दुई छोराहरु समिप र सचिन छन् । समिप म्याक्वायरी विश्वविद्यालयबाट एकाउन्टिङमा व्याचलर्स गर्दैछन् भने कान्छा छोरा सचिन पनि म्याक्वायरीबाटैं एकान्टिङ एण्ड कन्भिनियर ल अध्ययन गर्दैछन् । आफ्नै पेशामा लगनशिल भएका लागि परेका छोराहरुप्रति कटुवाल गर्व गर्छन् । समिप बुवाकै कम्पनीका काम गर्दै आएका छन् । कटुवाल भन्छन्– जीवनमा आफुले सोचेजस्तैं भयो भने विस्तारै आफ्ना कार्यभारहरु छोराहरुलाई सुम्पिने विचारमा छु । अस्ट्रेलियालाई कर्मभूमि बनाएपनि जन्मभूमिको माया र सम्झनामा कुनै कमि छैन् उनमा । वेलावेलामा सकेको सहयोग गर्दै पनि आएका छन् । आफ्नो कार्यभार छोराहरुलाई सुम्पेपछि समयले साथ दिएमा आफुले जानेका ज्ञान र सीप नेपालमा बाड्ने रहर छ, उनमा । त्यसैले त उनले अस्ट्रेलियामा स्थायी वासिन्दा भएपनि आजसम्म हरियो पासपोर्टलाई माया मार्न सकेका छैनन् । फुर्सतमा साथीभाईसँग रमाउन चाहने कटुवाल यात्रा गर्न, किताब पढ्न र टेनिस खेल्न औधि मन पराउँछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्