नेभिगेशन
व्यक्ति/व्यक्तित्व

समुदायमा सर्मपित शाक्य

कृष्ण तिवारी आफ्नो नेपाली कला–संस्कृति भनेपछि उनी हुरुक्कै हुन्छन् । त्यही भएर पनि होला समय र स्वाथ्यले साथ दिएसम्म नेपाली समुदायका कार्यक्रमहरु सकभर छुटाउन चाहादैनन् । उमेरका हिसाबले तीन बीस कटेपनि उनको बसाई र भोगाई नेपाल भन्दा बढी अस्ट्रेलियामा नै वितेको छ । अर्थात विगत ३० वर्षदेखि अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका छन् । यी पात्र हुन् नेपाली समुदायका अगुवा पदम शाक्य । सामान्य पहिरन, मिजासिलो बोली अनि हँसिलो अनुहार । प्रायःजसो कार्यक्रममा देखिने पात्र हुन् उनी । अस्ट्रेलियामा नेपाली हस्तकलाका समान भित्रयाउने पहिलो नेपालीमा समेत चिनिन्छन् उनी । सन् १९९० मा “हिमालयन हेरिटेज” कम्पनीबाट शाक्यले नेपाल र नेपालीलाई चिनाउने ह्यान्डीक्र्याफ्टका समाग्रीहरु नेपालबाट अस्ट्रेलिया भित्रयाउने काम समेत गरे । एनआरएन अस्ट्रेलियाको संस्थापक सदस्य, गोर्खा नेप्लीज कम्युनिटी र गुठी अस्ट्रेलियाको सल्लाहकार तथा नेप्लीज अस्ट्रेलियन एसोसियसनमा विभिन्न पदमा बस्दै प्रवासमा नेपाली–नेपाली बीच एकता, सद्भाव अनि भाईचारा ल्याउन शाक्यले खेलेको प्रयास साच्चै नै प्रशंसायोग्य छ । शाक्यको जन्म मध्यम वर्गीय परिवारमा आजभन्दा झण्डै ६० वर्ष अगाडि काठमाडौको ओमबहाल झोँसे टोलमा भएको हो । शाक्यहरु पेशाकै कारण परापुर्व कालदेखि नै खान्दानी परिवारमा गनिन्थे । पदमका बुवा काठमाडौंमा ज्वेलरी पसल संचालन गर्दथे । सात दाजुभाई र तीन दिदीबहिनीमध्ये माहिलो सन्तान पदमले वाल्यकालमा अध्ययनको लागि राम्रो वातावरण पाए । कक्षा ४ सम्म काठमाडौंमा नै प्रारम्भिक अध्ययन गरेका पदम कक्षा ५ देखि ८ सम्म भने दार्जिलिङमा पढ्न पुगे । पछि उनी काठमाडौं फर्किए अनि नेपाल युवक मावि काठमाडौंबाट एसएलसी परीक्षा दिए । विसं २०३० सालतिर प्रवेशिका परीक्षा पास गरेका शाक्यले पब्लिक युथ क्याम्पसबाट आई कम सके । सोही कलेजमा बि कम अध्ययन थाले । पढाईको उनको स्तर अब्बल नै थियो । १५ वर्षको उमेरदेखि नै शाक्यले कर्ण शाक्यको “काठमाडौं गेस्ट हाउस”मा रिसेप्सनमा काम गरे । बिहान दिउँसोे काम अनि रात्रीकालिन पढाई शाक्यको दैनिकी थियो । अध्ययनलाई निरन्तर अगाडि बढाइरहेका शाक्यले २०३६ सालको काण्डका कारण पढाई अवरुद्ध हुन पुग्यो । त्यतिवेला हड्तालका कारण स्कुल तथा क्याम्पसमा पढाई नै बिथोलिन पुग्यो अनि शाक्यले बिचैमा पढाई छोडे । 10380528_781043698596790_8411965633443952680_o शुरुमा काठमाडौं गेस्ट हाउसमा रिसेप्सनमा छिरेका शाक्य फ्रन्ट अफिस म्यानेजर, असिस्टेन्ट म्यानेजर हुँदै जनरल म्यानेजर सम्म रहेर करिब १० वर्ष काम गरे । विशेष अमेरिका, अस्ट्रेलिया, क्यानडा लागायत पश्चिमा मुलुकहरुका पर्यटकहरुलाई लक्षित गरि संचालन गरिएको सो गेष्ट हाउसमा शाक्यले आफ्नो कार्य अवधिभर झण्डैं ४ लाख विदेशी पर्यटकहरुलाई सेवा दिन भ्याए । विदेशी पर्यटकहरुको आवगमन हुने गेस्ट हाउसमा उनले धेरै विदेशीलाई साथी बनाए । परिवार नै नेपाली हस्तकलाको व्यापार व्यवसायमा लागेका कारण सानै उमेरमा नै शाक्यले ह्यान्डीक्र्याफ्टको काम पनि सिके । उनका ठूलो बुवा समेत सरकारी मताहतमा रहेको नेपाली हस्त कला उद्योगमा काम गर्दथे । त्यतिवेला राजाको जन्मोत्सवमा दिइने विविध पदक र तक्माहरु ठूलो बुवा कार्यरत नेपाली हस्तकला उद्योगले नै बनाउने गर्दथे । यही सेरेफेरोमा शाक्य सानै उमेरमा नै राजा महेन्द्रलाई भेट्न राजदरवारसम्म पुग्ने अवसर पनि पाएका थिए । होटल व्यवसायमा काम गर्दागर्दै आत्मीय साथी बनाएका विदेशीहरुले आफ्नो देशमा घुम्न जान घेरैले अनुरोध पनि गरे । त्यतिवेला नै अस्ट्रेलियाकी पर्यटक किस्ट्रिनको शाक्यसँग परिचय हुन पुग्यो । नेपालमा विदेशी पर्यटकको राम्रो बजार लिदै थियो त्यतिवेला । अस्ट्रेलियाको यात्रा शाक्यलाई एक पटक विदेश घुम्ने रहर पलायो अनि ६ महिनाको टुरिस्ट भिषामा सन् १९८६ को अन्ततिर अस्ट्रेलिया आइपुगे । नेपालदेखि नै चिनजानमा रहेकी किस्ट्रीनसँग शाक्यको सिड्नीमा भेट भयो । दुवैले एक अर्कालाई नेपालदेखि नै मन पराएका थिए । किस्ट्रिन वेला वेलामा नेपाल गएर विभिन्न सामाजिक कार्यमा समेत सक्रिय हुन्थिन् । विदेशी दुतावासका राजदूतका छोराछोरीहरु पढ्ने लिंकन स्कुलमा केही वर्ष अध्यापन समेत गराइन् । घुम्न भनेर अस्ट्रेलिया आएका शाक्यले आएको ५ महिनामा नै यहाँको पिआर पाए । नेपालमा होटल व्यवसायमा लामो अनुभव संगालेका शाक्यलाई त्यही अनुभवले अस्ट्रेलियाको पिआर दिलायो । अस्ट्रेलिया आएपछि शाक्यले केही समय होटल सेक्टरमा नै काम गरे । सन् १९९० मा उनले आफ्नै ह्यान्डीक्र्याफ्टको व्यवसाय सुरु गरे । प्रवासमा नेपाल र नेपालीलाई नेपाली कला, संस्कृति झल्कने विभिन्न मूर्तिहरु, नेपाली हस्तकलाका सामग्री, थान्का लगायत विदेशीहरुले नेपालको ठमेलमा पाउने सम्पूर्ण नेपाली समानहरु अस्ट्रेलिया भित्रयाउने पहिलो नेपालीमा गनिन्छन् शाक्य । “हिमालयन हेरिटेज” नामबाट आफ्नो व्यवसाय सुरु गरेका शाक्यले ह्यान्डीक्रयाफ्टको होलसेल विक्रि वितरण गर्दथे । इस्टर शोमा नेपाली पहिचान झल्कने ह्यान्डीक्रयाफ्टका समाग्री बोकेर शाक्य आफै पुग्थे । उनको व्यवसायले अस्ट्रेलियामा राम्रो बजार लिदै गयो । व्यवसायबाट मनग्य आम्दानी पनि गरे । तर २०४६ सालको आन्दोलनका वेला समयमा नै नेपालबाट हस्तकलाका समान अस्ट्रेलिया आई नपुग्दा भने उनले केही नोक्सानी बेहोरे । विभिन्न हड्तालको बहनामा शाक्यले आफ्ना ग्राहकलाई अर्डर गरिएका समानहरु समयमा नै उपलब्ध गराउन सकेनन् । व्यापार व्यवसाय घाटामा गएपछि उनले अन्ततः क्यूरियो व्यवसाय नै बन्द गर्न पुगे सन् २००० तिर । व्यवसाय छोडेपछि शाक्यले सिड्नी एयरपोर्टमा एक प्राइभेट कम्पनीमा ट्रान्सपोर्ट म्यानेजर भएर काम थाले । करिब १२ वर्ष सम्म उनले त्यहाँ काम गरे । सन् २०१२ बाट भने शाक्यले खासै काम गरेका छैनन् । उनी भन्छन्– अहिले नेपाली समुदायमा नै मेरो समय वित्ने गरेको छ । नेपाली समुदायमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाई नेपाली कला, सस्कृतिलाई जर्गेना गर्नु हामी सबैको कर्तव्य रहको बताउँछन् शाक्य । वैवाहिक जीवन र समाजसेवा सन् १९८९ मा अस्ट्रेलियन नागरिक किस्ट्रीनसँग विवाह बँन्धनमा बाधिएका शाक्यको यो प्रेम विवाह थियो । नेपालदेखि नै चिनजानमा रहेकी किस्ट्रीनसँग शाक्यको मायाप्रेम बस्न पुग्यो । त्यही मायामोहले शाक्यलाई अस्ट्रेलिया बोलायो । समुन्द्री जहाज नै हायर गरेर क्रुज पार्टीमा नै विवाह गरे । क्रुज पार्टीमा भव्य विवाह गर्ने शाक्य नै सायद पहिलो नेपाली थिए । अस्ट्रेलियामा रहेका नेपाली कोही पनि नछुटुन् भनेर सबैलाई बोलाए । त्यतिवेला सबैलाई बोलाउँदा करिब २० जना नेपालीहरु शाक्यको विवाहमा सहभागी भएका थिए । एनआरएन अस्ट्रेलिया स्थापनाका लागि शाक्यले खेलेको भूमिका सह्नीय छ । उनी एनआरएन अस्ट्रेलियाको संस्थापक सदस्य पनि हुन् । गुठी अस्ट्रेलियाको सल्लाहकार रहेका शाक्य एनआरएन भित्र हावी भएको राजनीति देख्दा एनआरएन गतिवधिबाट मौन बस्न रुचाउँछन् । आजभोली एनआरएनएका गतिविधिबाट उनी पन्छिने गरेका छन् । शाक्य भन्छन्– प्रवासमा हामी पहिला सबै नेपाली हौं । यहाँ कुनै पार्टी वा जात जाति भन्ने हुदैन् । हामी नेपाली एकजुट भएमात्र केही गर्न सक्छौं । सन् १९९६ मा स्थापना भएको गुठी अस्ट्रेलिया पनि एक गैर राजनीतिक संस्था भएको शाक्य बताउँछन् । यो नेवारको मात्रै होइन् सबै नेपालीहरुको साझा संस्था हो । आउँदो नयाँ पुस्तालाई नेपाली कला, संस्कृतिका वारेमा गुठी अस्ट्रेलियाले खेलेको भूमिकाप्रति गर्व गर्छन् शाक्य । त्यस्तै गोर्खा नेप्लीज समाजमा समेत आबद्ध छन् शाक्य । त्यसो त अस्ट्रेलियामा सबैभन्दा अगाडि खोलिएको संस्था नेप्लीज अस्ट्रेलियन एसोसियसनको उपाध्यक्ष रहेका काम गरिसकेका शाक्यको जीवनसंगीनी किस्ट्रीन पनि यस संस्थासँग आबद्ध भएर काम गरिसकेकी छिन् । 885924_840003369367489_2050527329397436771_o एक नेपालीलाई परेको वेला सहयोग गर्न पाउँदा शाक्यको मन खुसीले गद्गद् हुन्छ । भूकम्पका वेला नेपाललाई आर्थिक लगायत विभिन्न जिन्सी सामाग्रीहरु सहयोग गर्न सफल भएको थियो, गुठी अस्ट्रेलिया । शाक्य आबद्ध रहेको एनएएले पनि नेपालका वालवालिकाहरुलाई शिक्षाको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । प्रत्येक २–२ वर्षमा आफ्नी जीवनसंगीनीसँगै नेपाल जाने शाक्यले व्यक्तिगत तबरबाट पनि नेपालका सहयोग गर्दै पनि आएका छन् । जीवन भनेको एक यात्रा रहेको बताउँछन् शाक्य । भन्छन्– यात्राका क्रममा कहिले दुख त कहिले सुखको अनुभूति संगाल्दै चुनौतिलाई सामना गर्दै अगाडि बढ्नुपर्छ । जीवन यात्रा भएर नै होला, शाक्यलाई यात्रा भनेपछि औधि नै मन पर्छ । नयाँ–नयाँ ठाउँ भ्रमण गर्ने उनको सोख पनि हो । शाक्यकी जीवनसंगीनी किस्टीन शैक्षिक क्षेत्रमा काम गर्दै आएकी छिन् । करिब ४० वटा स्कुलहरु आबद्ध रहेको क्याथोलिक शिक्षामा म्यानेजर तहमा कार्यरत छिन् । कर्मभूमि अस्ट्रेलियालाई बनाएपनि आफ्नो जन्मभूमिलाई कहिल्यै विर्सन नहुने बताउँछन् शाक्य । हामी नेपाली जो जहाँ रहेपनि आफ्नो जन्मभूमिको लागि केही योगदान गर्न सक्नुपर्छ । भविष्यमा शाक्यले आफ्नी जीवनसंगीनीसँगै मिलेर नेपालका दुर्गम ठाउँको शिक्षाको विकासमा केही गर्ने अठोट बोकेका छन् । किस्ट्रीनलाई नेपालको प्राकृतिक सुन्दरताले साच्चै नै लोभ्याएको छ । नेपाल भ्रमणमा जाँदा यी जोडी कहिले धान्द्रुक त कहिले हिमालका गाउँमा घुम्दै गरेको समेत भेटिन्छन् । शाक्य परिवारमा दुई छोरीहरु अनिता र मोनिका छिन् । अनिता न्यू साउथ वेल्स विश्वविद्यालयमा एमकम गर्दैछिन् भने कान्छी छोरी मोनिका कक्षा १२ सकेर बसेकी छिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्