नेभिगेशन
नेपाल समाचार

अष्ट्रेलिया निवासी व्यवसायी बद्री अर्याल नेपाली पर्यटनदूत नियुक्त

सिड्नी । अष्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाउदै आएका नेपाली व्यवसायी बद्री अर्याल नेपाली पर्यटनदूत नियुक्त भएका छन् । नेपाल पर्यटन बोर्डले अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि अर्याललाई अवैतनिक पर्यटनदूतको रुपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको हो । नेपालको पर्यटन विकासलाई बढोत्तरी गर्ने हेतुले नेपाल सरकार पर्यटन बोर्डले विदेशका विभिन्न शहरहरुका लागि पर्यटनदूत नियुक्त गर्दै आएको छ । न्यु साउथ वेल्सको अवैतनिक पर्यटनदूत नियुक्तपछि अर्यालले खुसी व्यक्त गर्दै अस्ट्रेलियला स्थित नेपाली दूतावास, महावाणिज्यदूत न्यु साउथ वेल्स, टुर अपरेटर, मिडिया, कुटनीतिज्ञसँग समन्वय गरि नेपालमा पर्यटन सम्बन्धी गतिविधि प्रबद्र्धनका लागि क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरे । साथै, नेपाल पर्यटन बोर्डको प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रममा सहभागी हुने, अष्ट्रेलियामा पर्यटनसँग सम्बन्धित निकायसँग समन्वय गरी नेपालमा पर्यटकको संख्या बृद्धिका लागि योगदान दिने पनि उनले बताए । “हामी सबै प्रवासी नेपालीहरु नेपालका पर्यटनदूत भएको बताउँदै अर्यालले नेपालको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने नेपाल न्यूज अस्ट्रेलियालाई बताए । अर्यालले नेपाल सरकार, नेपाल पर्यटन वोर्डको यस निर्णयबाट आफूमा अझ बढी थप जिम्मेवारी बोध भएको बताउदैं सहकार्यको लागि सबैसँग हातेमालो गरी नेपाललाई पर्यटक केन्द्रको रुपमा विकास गर्न आफु सदैव तत्पर रहने प्रतिवद्धता समेत व्यक्त गरे । करिब २० वर्ष अगाडि चितवनबाट अध्ययनको सिलसिलामा अस्ट्रेलिया आएका अर्याल झण्डै १० वर्षदेखि सिड्नीमा संजीव शर्मासँगै एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज शैक्षिक परामर्श केन्द्र संचालन गर्दै आएका छन् । यसले “एक्सपर्ट फाउन्डेसन” मार्फत नेपालको शिक्षा स्वास्थ्य क्षेत्रमा समेत सहयोग गर्दै आएको छ । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया नेपालीहरुको रोजाईको देश बन्दै आएको छ । सन् १९६० मा नेपाल र अष्ट्रेलियाबीचको दौंत्य सम्बन्ध स्थापित भएको थियो । नेपालमा वर्षेनी ठूलो संख्यामा अष्ट्रेलियन पर्यटकहरु नेपालमा घुम्न जाने गर्दछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्